रोमा हत्या प्रकरणमा भ्रमको जालः प्रेमीमाथि आरोप मात्रै, अनुसन्धानले पुष्टि नगरेपछि अलमनमा प्रहरी

दमक– झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरण पाँच दिन बितिसक्दा पनि रहस्यमै छ। बोराभित्र पोको पारेर रतुवा खोलामा फालिएको अवस्थामा शव फेला परेपछि सुरु भएको अनुसन्धानले हत्या भएको पुष्टि गरे पनि हत्यारा को हो र हत्या कहाँ भयो भन्ने प्रश्नको उत्तर प्रहरीले अझै फेला पार्न सकेको छैन।

गत जेठ १६ गते शनिबार बिहान दमक क्षेत्र हुँदै बग्ने रतुवा खोलाको सेतुमाडीस्थित पुलमुनि सेतो प्लास्टिकको बोराभित्र शव फेला परेको थियो। प्रारम्भमा शवको पहिचान हुन नसके पनि पछि उक्त शव दमक–८ निवासी रमा तिवारीको भएको पुष्टि भएको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार शव फेला परेको स्थान घटनास्थल होइन। हत्या अन्यत्र गरेर शव बोराभित्र प्याक गरी पुलमाथिबाट खोलामा फालिएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।

झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार घटनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको वास्तविक घटनास्थल पत्ता लगाउनु हो। उनका अनुसार शव फेला परेको स्थान ‘सेकेन्डरी लोकेसन’ हो भने हत्या भएको ‘प्राइमरी लोकेसन’ अझै पत्ता लागेको छैन।

प्रहरी स्रोतका अनुसार रमा गत हप्ता बुधबार राति घरबाट बाहिरिएकी थिइन्। परिवारका सदस्यले राति करिब ८ बजेतिर उनी प्रेमीलाई भेट्न भन्दै घरबाट निस्किएको बताएका छन्। रमालाई भेट्न बोलाएको भनिएका एक युवक सोही दिन सुधार केन्द्रबाट छुटेका थिए। प्रहरीले ती युवकमाथि समेत सोधपुछ गरेको छ। तर हालसम्म उनको संलग्नता पुष्टि हुने कुनै ठोस प्रमाण भेटिएको छैन।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार रमाको मोबाइल फोनको अन्तिम लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ। प्राविधिक विश्लेषणबाट राति करिब ११ बजेतिर उनको मोबाइल बन्द भएको देखिएको छ। त्यसपछि उनी कहाँ गइन्, कसलाई भेटिन् र के भयो भन्ने विषय अनुसन्धानकै केन्द्रमा छ।

प्रहरीले मोबाइल सम्पर्क विवरण, डिजिटल प्रमाण, सीसीटिभी फुटेज तथा अन्य प्राविधिक सामग्रीको अध्ययन गरिरहेको जनाएको छ। उपलब्ध फुटेजमा घटना भएको दिन रमा एक्लै हिँडिरहेको देखिए पनि त्यसपछिको गतिविधि स्पष्ट हुन नसकेको स्रोतले जनाएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनाको प्रकृति हेर्दा हत्या एक जनाले मात्र गरेको जस्तो नदेखिएको संकेतहरू प्राप्त भएका छन्। यद्यपि त्यसलाई पुष्टि गर्ने पर्याप्त प्रमाण भने अहिलेसम्म भेटिएको छैन। त्यसैले प्रहरी विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको छ।

घटनापछि सामाजिक सञ्जालमा विभिन्न अनुमान, भिडियो अन्तर्वार्ता तथा अपुष्ट सामग्रीहरू सार्वजनिक हुन थालेपछि प्रहरीले त्यसप्रति असन्तुष्टि जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार औपचारिक विज्ञप्ति जारी गर्दै अनुसन्धान जारी रहेका बेला अपुष्ट सूचना, अनुमान र आधारहीन दाबी सार्वजनिक नगर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार संवेदनशील आपराधिक घटनामा पुष्टि नभएका विवरण बाहिरिँदा अनुसन्धान प्रभावित हुने मात्र होइन, न्यायिक प्रक्रियामा समेत प्रतिकूल असर पर्न सक्छ। त्यसैले आधिकारिक स्रोतबाट पुष्टि नभएसम्म कुनै पनि निष्कर्षमा नपुग्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

हालसम्म प्रहरीले विभिन्न शंकास्पद व्यक्तिसँग सोधपुछ गरिरहेको छ। रमा तिवारीसँग निकट सम्बन्ध भएका व्यक्तिहरूको गतिविधि, सम्पर्क र घटनाको अघिल्लो तथा पछिल्लो अवस्थाबारे पनि अनुसन्धान जारी रहेको बताइएको छ। तर प्रत्यक्ष संलग्नता पुष्टि गर्ने प्रमाण नपुगेकाले प्रहरीले कसैलाई औपचारिक रूपमा अभियुक्त बनाइसकेको छैन।

घटनाले दमकसहित झापा जिल्लाभर त्रास, चासो र आक्रोश सिर्जना गरेको छ। परिवारजनले निष्पक्ष, प्रभावकारी र शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन्। पाँच दिन बितिसक्दा पनि हत्या कहाँ भयो, कसले ग¥यो र शव किन बोराभित्र राखेर खोलामा फालियो भन्ने प्रश्नहरूको उत्तर अझै अज्ञात छ। यही कारण रमा तिवारी हत्या प्रकरण यतिबेला झापाकै सबैभन्दा रहस्यमय र चुनौतीपूर्ण अनुसन्धानका रूपमा उभिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट