सप्तरीका ऐनुल मियाँ हत्याकाण्ड फेरि चर्चामाः ११ वर्षसम्म कानूनलाई छल्दै हिँडेका हत्या आरोपी अन्ततः पक्राउ

राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका–९ मा ११ वर्षअघि भएको अपहरणपछि हत्या घटनामा संलग्न रहेको आरोप लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ०७२ भदौ २९ गते आफ्नै घरबाट अपहरण गरिएका स्थानीय ऐनुल मियाँको शव बलान खोलादेखि पूर्वतर्फ रहेको पैनीमा फेला परेको थियो।

घटनापछि आरोपितहरु फरार थिए। अन्ततः ११ वर्षपछि प्रहरीले घटनाका दुई मुख्य आरोपितलाई पक्राउ गर्दै लामो समयदेखि अल्झिएको हत्या प्रकरणलाई पुनः कानुनी प्रक्रियामा ल्याएको छ। प्रहरीका अनुसार सुरुङ्गा नगरपालिका–९ का ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ का ६० वर्षीय नसिर भन्ने बसिर मियाँलाई अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रहरीको अनुसन्धान अनुसार २९ गते साँझ करिब ७ बजे ऐनुल मियाँ आफ्नै घरमा बसिरहेका बेला अपहरणमा परेका थिए। आरोपितहरूले उनलाई घरबाटै नियन्त्रणमा लिएर बन्धक बनाएको र त्यसपछि बलान खोलादेखि पूर्वतर्फ रहेको पैनी क्षेत्रमा पु¥याई पानीमा डुबाएर तथा मुख थुनेर हत्या गरेको आरोप छ।

घटनापछि मृतक ऐनुल मियाँकी बुहारी रोशन खातुनले प्रहरीमा जाहेरी दिएकी थिइन्। तर घटनालगत्तै आरोपितहरू फरार भएपछि अनुसन्धानले अपेक्षित गति लिन सकेको थिएन। प्रहरीले लामो समयदेखि फरार रहेका आरोपितहरूको खोजी जारी राखेको थियो।सोही क्रममा दाउद मियाँलाई जेठ २४ गते सुरुङ्गा नगरपालिका–९ स्थित आफ्नै घरबाट पक्राउ गरिएको थियो।

त्यसपछि दोस्रो आरोपित नसिर भन्ने बसिर मियाँलाई जेठ ३१ गते सप्तरीको बलानबिहुल गाउँपालिका–१ क्षेत्रमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

प्रहरीका अनुसार दुवै जनालाई कानुनबमोजिम पक्राउ गरी थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ। प्रहरीले दाउद मियाँविरुद्ध पहिलो चरणमा पाँच दिन र त्यसपछि पुनः पाँच दिनको म्याद थप लिएको जनाएको छ। यस्तै नसिर भन्ने बसिर मियाँविरुद्ध तीन दिनको म्याद थप स्वीकृत भइसकेको छ।

ऐनुल मियाँको हत्या प्रकरण सप्तरीका पुराना चर्चित आपराधिक घटनामध्ये एक मानिन्छ। घटनापछि पीडित परिवारले न्यायको माग गर्दै आएको थियो। आरोपितहरू पक्राउ परेसँगै ११ वर्षदेखि अधुरो रहेको उक्त प्रकरण अब पुनः न्यायिक परीक्षणको चरणमा प्रवेश गरेको छ। प्रहरीले अनुसन्धान निष्कर्षमा पुगेपछि घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट