अन्तरवार्ता दिन स्टुडियो छिरेकी रञ्जु दर्शना घोसेमुण्टो लगाएर फर्किईनः किन भईन निरुत्तर ?
राजविराज– पुराना दल र नेताहरूलाई ‘अयोग्य’, ‘अक्षम’ र ‘देश बिगार्ने समूह’ भन्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एक सांसद संवेदनशील राष्ट्रिय मुद्दामा सोधिएका सामान्य राजनीतिक प्रश्नको समेत जवाफ दिन नसकेर अवाक भएकी छिन्।
सीमा अतिक्रमणदेखि विवादास्पद गृहमन्त्री नियुक्तिसम्मका विषयमा पटक–पटक सोधिएका प्रश्नमा उनको मौनता, असहजता र अस्पष्ट अभिब्यक्ति अहिले चासोको विषय भएको छ। अन्तरवार्ता दिन टेलिभिजन स्टुडियोमा छिरेर कतिपय प्रश्नको उत्तर दिन नसकी घोसेमुण्टो लगाएर निस्किएकी सांसद हुन– रास्वपा सांसद रञ्जु दर्शना न्यौपाने।
उनको मौनता, असहजता र अस्पष्ट अभिव्यक्तिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस सिर्जना गरेको छ। पत्रकार निमेष बञ्जाडेसँगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा न्यौपानेलाई प्रधानमन्त्रीले संसदमा हालै दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिबारे प्रश्न गरिएको थियो।
प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको विषय उठाएपछि त्यसले राष्ट्रिय राजनीतिमा व्यापक बहस जन्माएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा पार्टीका नेता, कार्यकर्ता र सांसदहरू समेत सार्वजनिक रूपमा उत्रिरहेका बेला आफ्नै पार्टीको सांसद भने उक्त विषयमा स्पष्ट धारणा राख्न असमर्थ देखिइन्।
प्रश्न सोधिएलगत्तै लामो समय मौन बसेकी न्यौपानेले अन्ततः मलिन अनुहारसहित छोटो प्रतिक्रिया दिइन्, ‘यसको उत्तर त उहाँहरूबाटै लिनुपर्ला।’ तर पत्रकार बञ्जाडे त्यतिमै रोकिएनन्। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने हो कि होइन भन्ने अर्को प्रश्न राखे। तर त्यसमा पनि न्यौपानेले कुनै स्पष्ट धारणा व्यक्त गरिनन्। न समर्थन, न विरोध। उनी पुनः मौन रहिन्।
अन्तर्वार्तामा देखिएको यही मौनता त्यसबेला झन् चर्चाको विषय बन्यो जब गृहमन्त्री सुधन गुरुङको पुनर्नियुक्तिबारे प्रश्न उठाइयो। गुरुङमाथि यसअघि विभिन्न आरोप लागेका थिए। ती आरोपबारे छानबिन समितिले प्रतिवेदन बुझाएको केही समयमै मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन ग्रहण गरेको र त्यसको एकाध घण्टाभित्रै गुरुङलाई पुनः गृहमन्त्रीको शपथ गराइएको विषयले राष्ट्रिय राजनीतिमा प्रश्न जन्माएको थियो।
यही विषयमा सांसद न्यौपानेको धारणा माग्दा उनले स्पष्ट उत्तर दिन सकिनन्। निकै गम्भीर र असहज मुद्रामा उनले केवल यति मात्र भनिन्, ‘प्रक्रिया तलमाथि भएको जस्तो देखियो।’ तर ‘तलमाथि’ भनेको के हो ? प्रक्रिया कहाँ बिग्रियो ? त्यसमा आफ्नो पार्टीको धारणा के हो ? त्यसले सुशासन र जवाफदेहितामा कस्तो असर पार्छ ? यस्ता कुनै प्रश्नको जवाफ भने उनले दिन सकिनन्।
सार्वजनिक बहसमा राजनीतिक दलका सांसदहरूबाट अपेक्षा गरिने कुरा भनेकै आफ्नो पार्टीको नीति, सरकारको निर्णय र राष्ट्रिय मुद्दामाथि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नु हो। तर राष्ट्रिय महत्वका विषयमा निरन्तर मौन बसेपछि न्यौपानेको राजनीतिक तयारी, विषयगत ज्ञान र प्रतिनिधित्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ।
यसैबीच सामाजिक सञ्जालमा पनि अन्तर्वार्ताको उक्त अंश व्यापक रूपमा शेयर भइरहेको छ। धेरैले संसदमा बोल्ने, सरकारको आलोचना गर्ने र सार्वजनिक मञ्चमा वैकल्पिक राजनीति तथा सुशासनको नारा दिने नेताहरू कठिन प्रश्न सामना गर्दा किन मौन बन्छन् भन्ने प्रश्न उठाएका छन्।
न्यौपाने स्वयंले केही समयअघि संसद बैठकमै आफूहरू नयाँ भएकाले सांसदहरूलाई तालिम आवश्यक रहेको भन्दै बजेटको व्यवस्था गर्नुपर्ने माग गरेकी थिइन्। उक्त अभिव्यक्ति त्यतिबेला पनि चर्चामा आएको थियो।
तर आलोचकहरूले यही प्रसंगलाई अहिलेको घटनासँग जोडेर हेर्न थालेका छन्। किनकि न्यौपाने र उनीसँग जोडिएको राजनीतिक समूह विगत झण्डै एक दशकदेखि विवेकशील पार्टी, विवेकशील साझा र अहिले रास्वपाको नाममा पुराना राजनीतिक दल र नेताहरूको क्षमतामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले बारम्बार देशमा अयोग्य, नजान्ने र असक्षम नेतृत्वको बिगबिगी रहेको आरोप लगाउने गरेका थिए।
यही पृष्ठभूमिमा अहिले प्रश्न उनिहरुतर्फ नै फर्किएको छ—यदि पुराना नेतृत्व अक्षम थिए भने नयाँ नेतृत्वको क्षमता कठिन प्रश्नको सामना गर्ने बेला कहाँ देखिन्छ ? यदि वैकल्पिक राजनीति केवल नारामा सीमित हुन्छ र राष्ट्रिय महत्वका विषयमा स्पष्ट धारणा दिन सकिँदैन भने परिवर्तनको दाबी र वास्तविक तयारीबीचको दूरी कति छ ?
न्यौपानेको अन्तर्वार्ताले यही बहसलाई पुनः सतहमा ल्याएको छ। प्रश्न केवल एक सांसदको मौनताको होइन, आफूलाई पुरानो राजनीतिक संस्कृतिको विकल्प दाबी गर्ने शक्तिको बौद्धिक तयारी, विषयगत पकड र सार्वजनिक जवाफदेहिताको पनि हो।
