सीमा सुरक्षामा खटिएका जवानमाथि नाबालिग किशोरी भगाएको आरोप, पक्राउ परे मनोजकुमार
इटहरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन्। सीमा सुरक्षाको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि नाबालिग किशोरीलाई ललाइफकाई साथमा लगेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो।
भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) बसन्तपुरमा कार्यरत जवान मनोजकुमार गणेश पक्राउ परेका हुन्।
पीडित परिवारका अनुसार आरोपित जवानले लामो समयदेखि किशोरीसँग सम्पर्क बढाउँदै आएका थिए। त्यसपछि उनले विभिन्न प्रलोभन र आश्वासन दिएर किशोरीलाई आफ्नो साथमा लगेको आरोप परिवारले लगाएको छ। कानुनी कारणले किशोरीको वास्तविक परिचय गोप्य राखिएको छ।
घटनाको जानकारी बाहिरिएलगत्तै परिवारजन र स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले प्रहरी चौकी शिशुवा घेराउ गर्दै किशोरीलाई तत्काल सार्वजनिक गर्न, सुरक्षित उद्धार गर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका थिए।
स्थानीय स्रोतका अनुसार घटनापछि केही समय गाउँको अवस्था तनावपूर्ण बनेको थियो। परिवारले किशोरीको अवस्थाबारे स्पष्ट जानकारी नपाएको भन्दै प्रहरी प्रशासनमाथि दबाब बढाएको थियो। परिवारको दाबी अनुसार आरोपित जवानले किशोरीलाई इटहरी क्षेत्रमा राखेका छन्। तर उनले किशोरी कहाँ र कुन अवस्थामा छिन् भन्ने यकिन विवरण दिन नसकेपछि परिवारको चिन्ता बढेको छ। यही कारण घटनालाई स्थानीयवासीले गम्भीर रूपमा लिएका छन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार किशोरीको खोजी तथा उद्धारका लागि विशेष टोली परिचालन गरिएको छ। किशोरी फेला परेपछि उनको बयान, घटनाको परिस्थिति तथा उपलब्ध प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यसअघि पनि सुनसरीकै हरिनगर गाउँपालिका–७ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका एक जवानमाथि स्थानीय युवतीसँग दुव्र्यवहार गरेको आरोप सार्वजनिक भएको थियो। त्यस घटनाले पनि सुरक्षाकर्मीहरूको आचरण र जवाफदेहिताबारे प्रश्न उठाएको थियो।
स्थानीयवासीले सीमा सुरक्षाको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीहरूबाट बेला–बेला यस्ता विवादास्पद घटनाहरू सार्वजनिक हुनु चिन्ताजनक भएको बताएका छन्। उनीहरूका अनुसार सुरक्षाकर्मीमाथि यस्ता आरोप दोहोरिन थालेपछि सम्बन्धित संस्थाप्रतिको जनविश्वासमा समेत असर पर्ने खतरा बढेको छ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, किशोरीको सुरक्षित उद्धार सुनिश्चित गर्न तथा दोषी ठहरिए कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले भने हाल अनुसन्धान जारी रहेकाले कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ।

