‘म सुन्दर भएकै कारण आलोचित भएँ’ भन्ने सृष्टि अब आफ्नै भिडियोका कारण घेराबन्दीमा
राजविराज– केही दिनअघि ‘मलाई सुन्दर देखिएकै कारण आलोचना गरियो’ भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराई अहिले फेरि अर्को विवादमा तानिएकी छिन्।
यसपटक विवाद उनको सन्दरता र अभिव्यक्तिले होइन, गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी शरीर बाहिर निकालेर बनाइएको भिडियोका कारण चर्किएको हो। सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयमा सांसदकै व्यवहारमाथि प्रश्न उठ्न थालेपछि अर्को बहस पनि सुरु भएको छ— एक हातले मोटरसाइकल चलाउँदै भिडियो बनाएका हर्क साम्पाङमाथि कारबाही गर्ने ट्राफिक प्रहरीले सृष्टि भट्टराईको हकमा पनि समान मापदण्ड लागू गर्छ कि गर्दैन?
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सांसद भट्टराई गुडिरहेको कारको अगाडिको सिटमा बसेर झ्यालबाट आधाभन्दा बढी शरीर बाहिर निकाल्दै रमाइलो गरिरहेको देखिन्छ। भिडियोमा उनी बालबालिकाले खेल्ने बबल फुलाउँदै यात्रा गरिरहेकी छिन् भने पृष्ठभूमिमा अंग्रेजी गीत बजिरहेको सुनिन्छ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। धेरै प्रयोगकर्ताले सांसदजस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिबाट सडक सुरक्षाविपरीत देखिने व्यवहार हुनु गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। राजमार्ग वा तीव्र गतिमा गुडिरहेका सवारी साधनमा झ्यालबाट शरीर बाहिर निकाल्नु जोखिमपूर्ण मानिन्छ।
यस्तो अवस्थामा विपरीत दिशाबाट आउने सवारी, सडक संरचना वा आकस्मिक दुर्घटनाले गम्भीर परिणाम निम्त्याउन सक्ने सडक सुरक्षाविज्ञहरू बताउँछन्। विवाद बढेपछि सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छिन्। उनले भाइरल भिडियो आफ्नो सांसद वा सार्वजनिक पदमा आउनुभन्दा धेरै अघिको निजी जीवनसँग सम्बन्धित रहेको स्पष्ट पारेकी छिन्।
उनले उक्त समयमा आफू सवारी चालक नभई यात्रुको भूमिकामा रहेको र साथीभाइसँगको एउटा सामान्य निजी क्षणलाई रमाइलोका रूपमा कैद गरिएको बताएकी छन्। भट्टराईले सार्वजनिक पदमा पुगेपछि पनि व्यक्तिको निजी जीवन समाप्त नहुने तर्क गर्दै नागरिकहरूले सार्वजनिक व्यक्तित्वको मूल्याङ्कन गर्दा समग्र योगदान र कार्यसम्पादनलाई आधार बनाउनुपर्ने धारणा व्यक्त गरेकी छिन्।
यद्यपि उनले भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त हुन नसक्ने स्वीकार गरेकी छन्। उमेर, उत्साह र परिस्थितिका कारण त्यस्तो व्यवहार भएको हुनसक्ने उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि नदोहो¥याउने प्रतिबद्धता पनि जनाएकी छन्।
यो विवाद चर्किनुको अर्को कारण केही दिनअघिको उनको सामाजिक सञ्जाल पोस्ट पनि बनेको छ। उनले आफूलाई ‘सुन्दर देखिएकै कारण आलोचना गरिएको’ भन्दै आलोचकहरूमाथि प्रश्न उठाएकी थिइन्।
उनले लेखेकी थिइन्, ‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ। पाखण्डीपनको पराकाष्ठा।’ त्यसयता उनको अभिव्यक्ति र सार्वजनिक छविबारे सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। अहिले पुरानो भिडियो बाहिरिएपछि त्यो बहसले नयाँ मोड लिएको छ।
यसबीच धेरैले प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि भएको ट्राफिक कारबाहीसँग यो घटनालाई जोडेर हेर्न थालेका छन्। केही समयअघि साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि जनगुनासोका आधारमा ट्राफिक प्रहरीले उनीमाथि कारबाही गरेको थियो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) (ग) अन्तर्गत उनलाई लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा जरिबाना गरिएको थियो। कोशी प्रदेश ट्राफिक प्रहरीका अनुसार पहिलो पटकको कसुर भएकाले साम्पाङलाई पाँच सय रुपैयाँ जरिबाना गरिएको थियो।
ट्राफिक प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साम्पाङमाथि कारबाही गरिएको जानकारीसमेत सार्वजनिक गरेको थियो। यही पृष्ठभूमिमा अहिले सामाजिक सञ्जालमा अर्को प्रश्न उठिरहेको छ— यदि सार्वजनिक रूपमा देखिएको ट्राफिक नियम उल्लङ्घनका आधारमा हर्क साम्पाङमाथि कारबाही हुन सक्छ भने सांसद सृष्टि भट्टराईको हकमा पनि त्यही मापदण्ड लागू हुन्छ कि हुँदैन?
कानुनी रूपमा यो विषयको मूल्याङ्कन सम्बन्धित निकायले गर्ने भए पनि सार्वजनिक बहस भने समान कानुन, समान व्यवहार र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जिम्मेवारीबारे केन्द्रित हुन थालेको छ। अहिलेसम्म ट्राफिक प्रहरीले सृष्टि भट्टराईको भिडियोबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर सामाजिक सञ्जालमा उठिरहेको प्रश्न भने स्पष्ट छ— कानुन सबैका लागि बराबर हो कि होइन भन्ने परीक्षण अब सम्बन्धित निकायहरूको निर्णयले गर्नेछ।

