चितवनबाट १६ वर्षीय बालक अपहरण गरी काठमाडौँमा पुर्‍याएर २२ लाख फिरौती माग्ने ५ भारतीय पक्राउ

काठमाडौँ– चितवनबाट एक १६ वर्षीय बालकलाई अपहरण गरी काठमाडौँ ल्याएर २२ लाख रुपैयाँ फिरौती असुल्ने योजनामा रहेको भारतीय नागरिकहरूको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

नारायणगढबाट जबरजस्ती गाडीमा राखेर काठमाडौँ ल्याइएका बालकलाई गोङ्गबुस्थित होटलबाट सकुशल उद्धार गर्दै प्रहरीले अपहरणमा संलग्न पाँच भारतीय नागरिकलाई पक्राउ गरेको हो। अपहरणपछि बालकका परिवारसँग लाखौं रुपैयाँ माग्दै दबाब सिर्जना गरिएको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सोमबार साँझ करिब साढे ६ बजे चितवनको नारायणगढ क्षेत्रबाट १६ वर्षीय रिसब गुप्तालाई ५–६ जनाको समूहले अपहरण गरेको थियो। अपहरणकारीहरूले उनलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको सवारी साधनमा राखेर काठमाडौं ल्याएका थिए।

प्रहरीका अनुसार अपहरणपछि बालकलाई काठमाडौँको गोङ्गबु, नयाँ बसपार्कस्थित होटल फेमिलीमा राखिएको थियो। त्यहीँ बसेर अपहरणकारीहरूले बालकका बुबासँग २२ लाख रुपैयाँ फिरौती मागिरहेका थिए। परिवारमाथि आर्थिक दबाब सिर्जना गर्दै रकम उपलब्ध गराउन पटक–पटक सम्पर्क भइरहेको सूचनाका आधारमा प्रहरीले अपरेशन अघि बढाएको थियो।

अपहरित बालकसहित अपहरणकारीहरू होटलमा रहेको विशेष सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली तत्काल परिचालन गरिएको थियो। कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले होटलमा छापा मारेर बालकलाई सकुशल उद्धार गरेको हो।

एसपी शरत थापा क्षेत्रीका अनुसार घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, बेतिया निवासी १८ वर्षीय सुजित कुमार, १८ वर्षीय गोलु कुमार, अर्का १८ वर्षीय गोलु कुमार, १८ वर्षीय बिक्कि कुमार तथा १८ वर्षीय मोहम्मद साहिद रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।

नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै संगठित रूपमा आपराधिक गतिविधि सञ्चालन गर्ने प्रयास भएको हुनसक्ने कोणबाट समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट