अख्तियारदेखि कालापानीसम्मका विवादले घेरिएका बालेनको पार्टीको मञ्चबाट एकैसाथ सफाइ र प्रतिआक्रमण

चितवन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर दबाब दिएको आरोप, लिपुलेक–कालापानीबारे दिएको अभिव्यक्तिमाथि उठेको विवाद, र सरकारको कार्यशैलीमाथि बढ्दो प्रश्नबीच प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले चितवनबाट एकैपटक आफ्नो बचाउ र प्रतिआक्रमण गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनको मञ्चलाई उनले केवल पार्टीको औपचारिक कार्यक्रमका रूपमा प्रयोग गरेनन्, बरु पछिल्ला हप्ताहरूमा आफू र सरकारमाथि उठेका सबैजसो विवादको जवाफ दिने राजनीतिक मञ्चका रूपमा उपयोग गरे।

भरतपुरमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै साहले अख्तियारमाथि दबाब दिएको आरोप अस्वीकार गरे, सीमासम्बन्धी अभिव्यक्तिलाई राष्ट्रवादी अडानका रूपमा व्याख्या गरे, एमालेको आलोचनालाई प्रत्यक्ष जवाफ दिए र रास्वपाको राजनीतिक यात्रालाई ‘एक्सप्रेस वेमा दौडिरहेको गाडी’सँग तुलना गर्दै गन्तव्यमा नपुग्दासम्म ब्रेक नलाग्ने उद्घोष गरे।

अख्तियार विवादमा बचाउ: ‘पाँच घण्टा होइन, पाँच वर्ष पनि राख्छौं’
प्रधानमन्त्री साहको सम्बोधनको केन्द्रमा अख्तियारसँग जोडिएको विवाद थियो। राहदानी छपाइसम्बन्धी अनियमितताको अनुसन्धानका क्रममा अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिएको आरोप सार्वजनिक भएपछि सरकार आलोचनाको घेरामा परेको थियो।

गत साता प्रधानमन्त्रीको सचिवालयले अख्तियारको टिमलाई ९ घण्टा बन्धक बनाएर दबाबमा पारी राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गराएको थियो। त्यसपछि संवैधानिक निकायमाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै राजनीतिक वृत्तमा प्रश्न उठेका थिए। महाधिवेशनको मञ्चबाट साहले भने आफूहरूले कुनै कानुन नमिचेको दाबी गरे।

‘सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ। अख्तियारलाई पाँच घण्टा सरसल्लाह गर्नुपर्छ भने पाँच घण्टा मात्र होइन, पाँच वर्षसम्म पनि सरसल्लाह गर्न सक्छौं,’ उनले भने, ‘हामी नियमभित्र बसेर काम गर्छौं। नियमबाहिर जाँदैनौं।’ उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सरकार ‘अनियन्त्रित’ जस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको दाबी गरे।

सीमा विवादमा प्रष्टीकरणः ‘ब्रिटिसलाई मध्यस्थकर्ता होइन, प्रमाणको स्रोत भनेका हौं’
पछिल्लो समय लिपुलेक, कालापानी र सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर पनि प्रधानमन्त्री साह आलोचित भएका थिए। विशेष गरी ऐतिहासिक प्रमाणका लागि ब्रिटिस अभिलेखको कुरा गरेपछि उनलाई ‘विदेशी मध्यस्थता खोजेको’ आरोप लगाइएको थियो।

महाधिवेशनबाट उनले त्यसको पनि खण्डन गरे। ‘हामीसँग कालापानी र लिपुलेक नेपालको भएको प्रमाण छ। आवश्यक परे त्यो प्रमाण ब्रिटिस शासनकालका अभिलेखबाट पनि ल्याउन सक्छौं भनेका हौं,’ उनले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं। हाम्रो छिमेकीसँग हामी आफैं कुरा गरेर समाधान खोज्छौं।’

उनले आफ्नो राष्ट्रवादमाथि प्रश्न नउठाउन आग्रह गर्दै भने, ‘मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन।’

एमालेलाई प्रत्यक्ष जवाफ : ‘हाम्रो गाडी लोकल होइन, एक्सप्रेस वेमा छ’
महाधिवेशनमा उपस्थित एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई संकेत गर्दै ‘गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ’ भन्ने टिप्पणी गरेका थिए। उनले तीव्र गतिमा दौडिरहेको सरकारलाई संयम अपनाउन सुझाव दिएका थिए।

प्रधानमन्त्री साहले त्यसको जवाफ दिन महाधिवेशनको मञ्च नै प्रयोग गरे। ‘लोकल रोडमा हिँड्दा कहिले बायाँबाट गाडी आउँछ, कहिले दायाँबाट मान्छे आउँछ। तर हाम्रो गाडी लोकल रोडमा होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो,’ उनले भने, ‘गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन।’

यो अभिव्यक्तिलाई धेरैले रास्वपाले आफ्नो राजनीतिक गति कम नगर्ने सन्देशका रूपमा व्याख्या गरेका छन्।

‘हामी स्पटलाइटमा होइन, जनताको विश्वासमा छौं’
प्रधानमन्त्री साहले रास्वपामाथि लाग्ने अर्को आरोप—‘अचानक स्पटलाइटमा आएको पार्टी’—को पनि जवाफ दिए। उनले जनताको समर्थनलाई परिवर्तनशील स्वीकार गरे पनि रास्वपाले त्यसलाई स्थायी राजनीतिक उपलब्धिमा रूपान्तरण गरेको दाबी गरे।

‘जनता र जनताको भोट हावा जस्तै हो। कहिले यता, कहिले उता जान्छ। तर हामीले बाढी ल्याएर खोला फर्काएका छौं,’ उनले भने, ‘हामीलाई जनताले यहाँ ल्याएका हुन्। जनता सधैं स्पटलाइटमा हुन्छन्।’ उनले रास्वपालाई कुनै परम्परागत विचारधाराको घेराभित्र राख्न नमिल्ने दाबी गर्दै आफूहरूलाई ‘विकासवादी र काम गर्ने पार्टी’को रूपमा प्रस्तुत गरे।

सुकुम्बासी र सहकारी समस्या यही कार्यकालमै समाधान गर्ने दाबी
सम्बोधनका क्रममा साहले सरकारले यही कार्यकालभित्र सुकुम्बासी र सहकारी समस्याको समाधान गर्ने दाबी पनि गरे। ‘अर्को चुनावमा हामी यही एजेन्डा बोकेर जान चाहँदैनौं,’ उनले भने, ‘यो कार्यकालभित्रै समाधान निकाल्छौं।’

यो अभिव्यक्ति महाधिवेशनमा उपस्थित कार्यकर्ताबाट सबैभन्दा धेरै ताली पाएको विषयमध्ये एक थियो।

गुट होइन, जनताको माया खोज्न आग्रह
पार्टीभित्र गुट–उपगुट बन्न सक्ने सम्भावनाप्रति संकेत गर्दै प्रधानमन्त्री साहले नेता–कार्यकर्तालाई चेतावनीसमेत दिए। ‘राम्रो नेता बन्न समूहको माया होइन, जनताको माया चाहिन्छ,’ उनले भने, ‘गुट र उपगुट बनाउने संस्कृति पुराना दलहरूमा थियो। त्यो बाटोमा नलाग्नुस्।’

उनले नेता–कार्यकर्तालाई महाधिवेशन सकिएपछि पार्टीभन्दा माथि उठेर देशको बारेमा सोच्न आग्रह गर्दै भने, ‘आज, भोलि र पर्सी पार्टीको बारेमा सोचौं, त्यसपछि पाँच वर्ष देशको बारेमा सोचौं।’

महाधिवेशनको मञ्चबाट विवाद व्यवस्थापन
रास्वपाको प्रथम महाधिवेशन मूलतः संगठन विस्तार, विधान संशोधन र नेतृत्व चयनको कार्यक्रम भए पनि प्रधानमन्त्री बालेन्द्र साहका लागि यो विवाद व्यवस्थापनको मञ्च बनेको देखियो। अख्तियारमाथि दबाब दिएको आरोपदेखि सीमा विवाद, सरकारको गति, राष्ट्रवाद, सुकुम्बासी र सहकारी समस्यासम्मका विषयमा उनले एकै सम्बोधनबाट जवाफ दिने प्रयास गरे।

महाधिवेशन हलभित्र उनको भाषणले कार्यकर्तालाई उत्साहित बनाएको देखिए पनि बाहिर भने उनका अभिव्यक्तिले थप बहस र राजनीतिक विवाद जन्माउने संकेत गरेको छ। रास्वपाले आफूलाई ‘नयाँ राजनीतिक शक्ति’का रूपमा प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री साहको यो सम्बोधनले एउटा सन्देश स्पष्ट दिएको छ—सरकार र पार्टी दुवै रक्षात्मक मुद्रामा होइन, प्रतिरक्षात्मक राजनीतिक शैलीमै अगाडि बढ्न चाहन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट