भारतको सिलिगुडी नजिक भएको भीषण कार दुर्घटनामा झापाका व्यवसायीले छोरो गुमाए
दमक– भारतको सिलिगुडी नजिक बागडोगरामा शनिबार साँझ भएको भीषण कार दुर्घटनामा गम्भीर घाइते भएका झापाको विर्तामोड ५ का २३ वर्षीय अमित चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
तीव्र गतिमा रहेको नेपाली नम्बर प्लेट (बाग्मती प्रदेश ०१–०३२ च १६८०) को लग्जरी कार अनियन्त्रित भएर दुर्घटना हुँदा कार झन्डै दुई टुक्रा भएको थियो भने चालक चौधरी गम्भीर घाईते भएका थिए। उनी व्यवसायी भरत चौधरीका छोरा हुन।
शनिबार साँझ करिब ५ बजे सीमावर्ती सहर काँकरभिट्टाबाट करिब २३ किलोमिटर टाढा रहेको बागडोगरा क्षेत्रमा कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनापछि कारको अगाडिको भाग पूर्ण रूपमा ध्वस्त भएको थियो भने सवारी साधन झन्डै दुई टुक्रामा विभाजित भएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा देखिएको छ।
स्थानीय बासिन्दा र भारतीय प्रहरीको सहयोगमा गम्भीर घाइते अवस्थामा रहेका चौधरीलाई तत्काल उद्धार गरी बागडोगरास्थित ग्यालेक्सी अस्पताल पु¥याइएको थियो। अस्पतालका अनुसार उनको टाउको, मुटु तथा शरीरका अन्य महत्वपूर्ण अंगमा गहिरो चोट लागेको थियो।
प्राथमिक उपचारका क्रममा चौधरीको मुटुको गतिविधि कमजोर बन्दै गएपछि उनलाई थप उपचारका लागि नियोटिया अस्पताल रेफर गरिएको थियो। चिकित्सकहरूले कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) समेत गरेका थिए। तर सबै प्रयास असफल भएपछि उपचारकै क्रममा उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएलगत्तै उनका बुबासहित परिवारका सदस्यहरू बागडोगरा पुगेका थिए। भारतीय प्रहरीले घटनास्थलको निरीक्षण गरी दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा तीव्र गतिका कारण कार नियन्त्रण बाहिर गएको अनुमान गरिएको भए पनि दुर्घटनाको वास्तविक कारणबारे औपचारिक निष्कर्ष आउन बाँकी छ।


