सर्लाहीमा १४ वर्षीय छोराको आँखैअगाडि घाँटी रेटेर बुबाको हत्या, उपचार पनि नपाई ज्यान गयो

सर्लाही– सर्लाहीको बसबरिया गाउँपालिकामा भैँसी गोठमा छोरासँगै सुतिरहेका एक पुरुषको मध्यराति घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

शनिबार राति करिब १२ बजे भएको आक्रमणपछि उनी सँगै रहेका १४ वर्षीय कान्छा छोरालाई छोडेर आफन्तलाई खबर गर्न घरतर्फ पुगे। त्यसपछि गाउँलेको सहयोगमा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ति पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हत्या गरिएको ब्यक्ति बसबरिया गाउँपालिका–१ मानपुरका ५२ वर्षीय होशनारायण राय यादव हुन्। यादव छोरा राजकपुरसँग भैँसी गोठमा सुतिरहेका थिए। सोही समयमा अज्ञात व्यक्तिले गोठमै पुगेर उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आक्रमणबाट गम्भीर घाइते भएका यादव घटनापछि आफन्तलाई जानकारी दिन घरतर्फ पुगेका थिए। परिवारका सदस्यले तत्काल उपचारका लागि अस्पताल लैजान खोजे पनि बाटोमै उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीका अनुसार यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको छ। घटनापछि गाउँमा त्रासको वातावरण सिर्जना भएको छ। मृतकका जेठा छोरा सुवासकुमार यादवले आफ्ना बुवा शान्त, नरम र इमानदार स्वभावका व्यक्ति रहेको तथा कसैसँग कुनै प्रकारको विवाद नभएको बताए।

हत्याको कारण वा संलग्न व्यक्तिबारे परिवारले कुनै अनुमान गर्न नसकेको उनको भनाइ छ। प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। हत्यामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको सर्लाही प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट