हाईवेमा ट्रक नै नछिर्ने गरी बनायो स्वागतद्वार, फरक आवाज अटाउने संगठन बन्ला त रास्वपा ?
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु हुन केही घण्टा बाँकी रहँदा चितवनको टिकौली जंगल क्षेत्रमा एउटा अनौठो दृश्य देखियो। महाधिवेशनको स्वागतका लागि बनाइएको गेटको उचाइका कारण पाँचवटा भारतीय नम्बर प्लेटका ट्रक अघि बढ्न नसकेपछि प्रहरीले ती सवारीलाई करिब पाँच किलोमिटर पर रत्ननगरको निप्पनी क्षेत्रमा रोकेर राखेको छ।
कुरिनटारस्थित बाह्रसिङ्गे बियर उद्योगका लागि औद्योगिक सामग्री बोकेर आएका ती ट्रक टिकौली प्रवेशद्वार नाघ्न नसकेपछि रोकिएका हुन्। चालकहरूले आफूहरूलाई केही दिन कुर्न भनिएको बताएका छन्। यद्यपि जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख इन्स्पेक्टर अनिल थापाले भने महाधिवेशनको स्वागतद्वार मात्र नभई सडक डिभिजनले राखेका संरचनासमेत पार गर्न नसक्ने अवस्थाका कारण ट्रकलाई फर्काएर रोकिएको बताए।
उनका अनुसार निर्धारित मापदण्डभन्दा अग्ला सामग्री बोकेका सवारीले विशेष अनुमति लिएर प्रवेश गरे पनि बाटो खुलाउन सम्बन्धित पक्षले आवश्यक प्रबन्ध गर्नुपर्ने हुन्छ। महाधिवेशन सुरु हुनुअघि देखिएको यो दृश्यले चितवनमा रास्वपाले निर्माण गरेको राजनीतिक र संगठनात्मक उपस्थितिको संकेतसमेत दिएको छ।
पार्टीको स्थापना पछि पहिलोपटक हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन मात्र होइन, आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनाको खाका पनि तय गर्ने अपेक्षा गरिएको छ। भरतपुरको गेस्टहाउस चौरमा आजदेखि सुरु हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र साहले गर्ने कार्यक्रम छ।
देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको र महाधिवेशनस्थल, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत सबै तयारी सम्पन्न भएको पार्टीले जनाएको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनलाई व्यवस्थित बनाउन १८ वटा उपसमिति गठन गरिएको थियो। ती समितिमार्फत प्रतिनिधि छनोटदेखि प्रतिवेदन तयारीसम्मका काम सम्पन्न भएका छन्। राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन महाधिवेशनमा प्रस्तुत हुनेछन् भने केन्द्रीय समितिले यसअघि नै विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिइसकेको छ।
महाधिवेशनको सबैभन्दा महत्वपूर्ण एजेन्डामध्ये एक पार्टी संरचनाको पुनर्संरचना हो। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरेर १५१ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनमा प्रस्तुत गरिनेछ। संशोधित विधानअनुसार प्रदेश सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ।
यसपटक पदाधिकारी संरचनामा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था पनि गरिएको छ। एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापतिमध्ये कम्तीमा एक महिला, दुई महामन्त्री, पाँच सहमहामन्त्रीमध्ये कम्तीमा एक महिला, एक प्रवक्ता, तीन सहप्रवक्तामध्ये कम्तीमा एक महिला, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्षमध्ये कम्तीमा एक महिला रहने प्रस्ताव गरिएको छ। हालको विधानमा यस्तो अनिवार्य व्यवस्था छैन।
विधान संशोधनपछि १५१ केन्द्रीय सदस्यमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् भने ५१ जना पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मनोनयन समावेशिताको आधारमा गरिने जनाइएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य सुनिश्चित गरिने व्यवस्था पनि प्रस्तावित छ।
पार्टीभित्र भविष्यमा हुन सक्ने व्यापक राजनीतिक समायोजनलाई ध्यानमा राखेर केही प्रमुख पदमा सभापतिले चयन गर्ने मोडेलबारे समेत छलफल भएको छ। एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताको चयन प्रक्रियाबारे समेत विधानले विशेष व्यवस्था गर्न सक्ने संकेत नेताहरूले दिएका छन्।
रास्वपाले यो महाधिवेशनलाई केवल नेतृत्व चयनको कार्यक्रमका रूपमा नभई संगठन विस्तारको नयाँ अभियानका रूपमा प्रस्तुत गरेको छ। पार्टीले हालसम्म पाँच लाख सदस्य पुगेको दाबी गरेको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार देशभर ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक प्रक्रिया टुंग्याइएको छ। छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ भने मधेश प्रदेश र बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
महाधिवेशनमा कुल तीन हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने अधिकार पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। रास्वपाले आफ्नो संगठन विस्तारलाई टोल तहसम्म पु¥याउने रणनीति अघि सारेको छ। तर अन्य दलहरूजस्तै भ्रातृ संगठन नबनाउने नीति भने यथावत् राख्ने संकेत पार्टी नेतृत्वले दिएको छ। पार्टीले निर्वाचनमा प्राप्त मतलाई राजनीतिक ‘आम्दानी’का रूपमा व्याख्या गर्दै त्यसलाई स्थायी संगठनमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताएको छ।
संसदमा उदाएको नयाँ शक्तिबाट राष्ट्रिय राजनीतिको निर्णायक खेलाडी बन्ने महत्वाकांक्षा बोकेको रास्वपाका लागि चितवन महाधिवेशन केवल आन्तरिक उत्सव होइन, आगामी वर्षहरूको राजनीतिक मार्गचित्र कोर्ने थलो बन्ने अपेक्षा गरिएको छ। टिकौलीको स्वागतद्वारमा रोकिएका ट्रकहरूजस्तै अनेक राजनीतिक अवरोध पार गर्दै अघि बढ्ने दाबी गरिरहेको रास्वपाले अब आफ्नो संगठन, नेतृत्व र विचारलाई कति संस्थागत बनाउन सक्छ भन्ने प्रश्नको जवाफ यही महाधिवेशनले दिनेछ।

