रास्वपाको निलो झण्डामुनि गाडिएको रगतको इतिहासः २०१८ सालमा जहाँ टाउका काटिए, आज त्यहीँ महाधिवेशन
चितवनको रगतले लेखिएको इतिहासः महेन्द्रको ‘कू’ विरुद्ध कांग्रेसको सशस्त्र विद्रोह र जगतप्रकाशजंग शाहको विभत्स अन्त्य, २०१८ सालको भरतपुर कब्जादेखि टिकौली जंगलको नरसंहारसम्म
राजविराज– अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आफनो पहिलो महाधिवेशन गरिरेको छ। यही सन्दर्भमा शुभकामना दिने पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका कार्यकर्तालाई ‘३५ वर्षसम्म केही भएन’ भनेर आफनै पूर्खाको अपमान नगर्न सुभाव दिए। २०१८ सालमा राज्यले नै गोली हानेर र घाटी काटेर हत्या गरिएका शहिदहरुको स्मरण गराए।
‘तपाईहरुले विगतलाई इन्कार गर्दैगर्दा, जव यो निलो झण्डामुनी बसेर चितवनमा तपाई विगत खराव भन्नुहुन्छ। कृपया, एकै पटक विगत ३५ वर्षमा केही भएन भनेर नभन्दिनु होला। कृपया पञ्चायतका ३० वर्षका संघर्षका कथाहरुलाई अण्डरमाईण्ड पनि नगर्दिनु होला। तपाई जुन ठाउँमा उभिनु भएको छनी, त्यही मुनि करिव ५० जना मानिसहरुको लाश गाडिएको छ, २०१८ सालमा।’ उनले भने।
पञ्चायत कालको क्रुर हत्या काण्ड स्मरण गराउँदै उनले रास्वपाका कार्यकर्तालाई भने–‘पञ्चायतको सरकारले काटेर गाडेको छ, त्यहीँ मुनी बस (जहाँ तपाई) उभिनु भएको छ। तपाईले भोली कार्यक्रम गर्ने ठाउँ पनि, त्यहाँ भित्र पनि थुप्रै साथीहरु गाडिएका छन्। ति सवैले कांग्रेसको चारतारे झण्डा उठाएका थिए। जय नेपाल भनेका थिए। तर आफनो लागि होईन, आफनो परिवारका लागि होईन। टाउको काटियो, रेटियो। तर, तिनले बोलेको त्यो कुरा तपाईको लागि थियो, मेरो लागि थियो, डेमोक्रेसीको लागि थियो।’
आज रास्वपाको निलो झण्डा बोकेर इतिहाँसलाई दुत्कार्दैगर्दा एक पटक चितवनको भूमीलाई पनि अध्ययन गर्न उनले सुझाए। ‘आज निलो झण्डा फहराउन पाउनु भएको छ, एक पटक झण्डा फहराउँदै गर्दा भुँईमा हेर्नुहोला, चितवनको भुँईमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै सहिदहरुले लगाएको रातो हो। त्यल्लाई तपाईले विर्सन पाउनु हुन्न। हामी कसैले विर्सन पाईन्नौं। न जेनजी आन्दोलनमा सहादत दिएकाहरुलाई विर्सन पाउँछौं, न नेपालका ति आन्दोलनका वलिदानहरुलाई विर्सन पाउँछौं।’ उनले थपे–‘त्यही डेमोक्रेसीलाई मन्त्र बनाएर अब हामीले सुशासन दिने हो। अव हामीले डेलिभरी दिने हो। शिक्षामा राम्रो गर्ने हो, स्वास्थ्यमा राम्रो गर्ने हो, सवैतिर राम्रो गर्ने हो।’
गगन थापाको यो भाषणपछि सवैको चासो अहिले त्यही घट्नातर्फ मोडिएको छ। के थियो त त्यो घट्ना ? चितवन आज राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक आधारभूमिका रूपमा चिनिन्छ। तर यही चितवनको माटोमा एक समय लोकतन्त्रका नाममा बगेको रगत अझै इतिहासका पानाबाट मेटिएको छैन।
भरतपुरका सडक, टिकौलीको जंगल, रापती–नारायणीका किनार र मेघौलीका फाँटहरूमा आज पनि एउटा रक्तरञ्जित इतिहासको प्रतिध्वनि सुनिन्छ— जहाँ निर्वाचित सरकार अपदस्थ भएपछि राजतन्त्रविरुद्ध हतियार उठाएका युवाहरूले जीवन अर्पण गरे, जहाँ पक्राउ परेकाहरूलाई जंगलमा लगेर गोली हानियो, जहाँ एउटै डोरीले बाँधिएका मानिसहरूलाई सामूहिक मृत्युको मुखमा धकेलियो, र जहाँ अन्ततः राजपरिवारसँग नाता जोडिएका एक विद्रोहीलाई समेत क्षमा याचना गर्न अस्वीकार गरेकै कारण विभत्स ढंगले मारियो।
त्यो २०१८ साल माघको चितवन थियो। आजभन्दा झण्डै सात दशकअघि यही भूमिमा लोकतन्त्र र निरंकुशताबीचको संघर्षले हिंसात्मक रूप लिएको थियो। त्यो संघर्षको केन्द्रमा थिए— नेपाली कांग्रेस, निर्वासनमा रहेका लोकतन्त्रवादी नेता, भारतको सीमावर्ती भूगोल, र चितवन कब्जा गरेर राजालाई झुकाउने योजना।
राजा महेन्द्रको ‘कू’ र कांग्रेसको सशस्त्र रणनीति
२०१७ साल पुस १ गते राजा महेन्द्रले नेपालको संसदीय इतिहासमा निर्णायक हस्तक्षेप गरे। निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार बर्खास्त गरियो। संसद् विघटन गरियो। संविधान निलम्बन गरियो। देशभर सैनिक शासनजस्तै अवस्था सिर्जना भयो।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत शीर्ष नेताहरू पक्राउ परे। उनीहरूलाई सुन्दरीजल बन्दीगृहमा राखियो। कांग्रेसका हजारौँ कार्यकर्ता भूमिगत भए। धेरै भारततर्फ निर्वासित भए। निर्वासनमा पुगेका कांग्रेस कार्यकर्ताहरूले सुरुमा राजनीतिक दबाबमार्फत राजालाई निर्णय फिर्ता गराउन खोजे। तर समय बित्दै जाँदा उनीहरू निष्कर्षमा पुगे— अब केवल राजनीतिक अपिलले काम गर्दैन।
२०१७ माघमा भारतको पटना शहरमा कांग्रेसको विशेष अधिवेशन बस्यो। बीपी जेलमा थिए। सुवर्णशमशेर राणालाई कार्यवाहक नेतृत्व दिइयो। अधिवेशनले स्पष्ट निर्णय ग¥यो— यदि राजा महेन्द्रले जनादेश पुनःस्थापना नगरे सशस्त्र संघर्षमा जाने। यही निर्णयले नेपाली कांग्रेसलाई भूमिगत राजनीतिक संगठनबाट सशस्त्र प्रतिरोधको बाटोमा धकेल्यो।
नरकटियागञ्ज क्याम्प र ‘मुक्ति सेना’
भारतको बिहारस्थित नरकटियागञ्ज नेपाली कांग्रेसको सशस्त्र अभियानको केन्द्र बन्यो। नेपालका विभिन्न जिल्लाबाट गुप्त रूपमा कार्यकर्ता भारत पु¥याइन्थे। त्यहाँ उनीहरूलाई ‘मुक्ति सेना’ मा भर्ती गरिन्थ्यो। पूर्वसैनिक, युवा विद्यार्थी, स्थानीय कार्यकर्ता र राजनीतिक समर्थकहरूलाई छुट्टाछुट्टै समूहमा विभाजन गरियो।
कांग्रेसले भर्तीका लागि सांकेतिक भाषा समेत प्रयोग गथ्र्यो। ‘स्पेसल’, ‘फर्माइस’ र ‘बजारिया’ जस्ता कोड शब्द प्रयोग हुन्थे। स्पेसल भनेको भूपू सैनिक, फर्माइस भनेको शिक्षित युवा, र बजारिया भनेको स्थानीय खोजुवा कार्यकर्ता। कांग्रेस कार्यकर्ताहरू भारतभित्र रेलमार्फत निःशुल्क यात्रा गर्थे। उनीहरूका लागि आवास, तालिम र सम्पर्क सञ्जालको व्यवस्था गरिएको थियो। भारत सरकारको प्रत्यक्ष समर्थन थियो कि थिएन भन्ने विषय इतिहासकारहरूबीच विवादित छ, तर कांग्रेस नेतृत्वले भारतको मौन सहमति र सहजताको लाभ भने स्पष्ट रूपमा लिएको देखिन्छ।
त्यही समयमा कोलकातास्थित सुवर्णशमशेरको निवासमा चितवनमाथि आक्रमण गर्ने विस्तृत योजना बनाइयो।
किन रोजियो चितवन?
कांग्रेसले विद्रोहका लागि विभिन्न सम्भावित स्थानबारे अध्ययन गरेको थियो। अन्ततः चितवन चयन गरियो। यसका केही मुख्य कारण थिए— भारतसँगको सहज सम्पर्क, जंगल र नदीले भरिएको भूगोल, नयाँ बसोबासले भरिएको सामाजिक संरचना, सीमावर्ती भागतर्फ छिटो फिर्ता हुन सकिने सम्भावना, स्थानीय रूपमा राजाको कदमप्रति असन्तुष्टि।
चितवन कब्जा गरेर एउटा ‘मुक्त क्षेत्र’ घोषणा गर्ने र त्यसले देशव्यापी विद्रोहलाई प्रेरित गर्ने कांग्रेसको अपेक्षा थियो। २०१८ साल माघ २४ देखि अभियान सुरु भयो। पहिलो चरणमा माडीको बघौडा प्रहरी चौकीमाथि हमला गरियो। चौकी कब्जा गरियो। राइफल र गोली लिइयो।
त्यसपछि विभिन्न समूहहरू छुट्टाछुट्टै दिशाबाट चितवन प्रवेश गरे। उनीहरूमध्ये लालध्वज गुरुङ, महेश्वरलाल श्रेष्ठ, बुद्धसिंह राना, कमलकुमार राई, हरिप्रसाद गुरुङ, जगतप्रकाशजंग शाह लगायत प्रमुख थिए।
सञ्चार र यातायात अवरुद्ध गर्न पुलहरू भत्काइए। मेघौली र भरतपुर विमानस्थलमा जहाज अवतरण रोक्न धावनमार्ग जोतियो। सरकारी सम्पर्क प्रणाली अस्तव्यस्त बनाउने प्रयास गरियो। विद्रोहीहरूलाई लागिरहेको थियो— अब चितवन उनीहरूको नियन्त्रणमा आउँदैछ।
२६ माघ २०१८ को बिहान करिब ३ बजे निर्णायक आक्रमण सुरु भयो। भरतपुरस्थित प्रहरी चौकीमाथि धावा बोलियो। प्रहरीलाई आत्मसमर्पण गर्न भनियो। केही प्रतिरोधपछि चौकी कब्जा गरियो। एकैपटक विभिन्न सरकारी कार्यालयहरू नियन्त्रणमा लिईए। रापतीदुन कार्यालय, गैंडा गस्ती क्याम्प लगायतका संरचनाहरू विद्रोहीहरूको हातमा परे।
कांग्रेसका कार्यकर्ताहरूले भरतपुर कब्जा सफल भएको घोषणा गरे। भाषण भए। उत्साह चुलियो। तर यहीँ एउटा घातक कमजोरी भयो। कब्जापछि कुनै संगठित सैन्य संरचना बनाइएन। हतियार व्यवस्थापन गरिएन। सुरक्षा घेरा कायम गरिएन। विद्रोहीहरू विजय उत्सवमै अल्झिए।
उता काठमाडौँले भने यो घटनालाई सामान्य सुरक्षा चुनौतीका रूपमा होइन, राज्यविरुद्धको खुला विद्रोहका रूपमा लिएको थियो। भरतपुर कब्जाको खबर राजधानी पुगेपछि तत्काल सैनिक कारबाहीको आदेश जारी भयो। सिमरामा जहाज अवतरण गरियो। हेटौंडाबाट सेना अघि बढ्यो। विभिन्न गणहरू परिचालन भए। वरिष्ठ सैनिक अधिकारीहरू प्रत्यक्ष कमाण्डमा आए।
भरतपुर कब्जा भएको ४८ घण्टा नबित्दै शाही सेनाले प्रतिआक्रमण सुरु ग¥यो। विद्रोहीहरू छरिए। कतिपय भागे। कतिपय पक्राउ परे। कतिपय जंगलतिर लुके। त्यही क्रममा शारदानगरबाट भरतपुरतर्फ आइरहेको एउटा जीप सेनाको नियन्त्रणमा प¥यो। जीपमा जगतप्रकाशजंग शाह, हरिप्रसाद गुरुङ, बुद्धसिंह राना, शमशेरबहादुर गुरुङ लगायत थिए। उनीहरू पक्राउ परे। त्यसपछि सुरु भयो चितवन काण्डको सबैभन्दा अँध्यारो अध्याय।
टिकौली जंगलको नरसंहार
पक्राउ परेका विद्रोहीहरूलाई एउटै डोरीले बाँधियो। उनीहरूलाई टिकौली जंगलतर्फ लगियो। प्रत्यक्षदर्शी बयान, कांग्रेस कार्यकर्ताका संस्मरण र पछि संकलित विवरणहरू अनुसार धेरैलाई त्यही जंगलमा गोली हानी हत्या गरियो। कतिपयको शव नारायणी नदीमा फालिएको उल्लेख पाइन्छ।
मारिनेहरूमा बुद्धसिंह राना, हरिप्रसाद गुरुङ, शमशेरबहादुर गुरुङ, खेमबहादुर गुरुङ लगायत थिए। कुल ३४ भन्दा बढी कांग्रेस कार्यकर्ता पक्राउपछि वा सैन्य कारबाहीका क्रममा मारिएको विभिन्न स्रोतहरूले उल्लेख गरेका छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा यो घटना सबैभन्दा ठूलो राजनीतिक दमन अभियानमध्ये एक मानिन्छ।
जगतप्रकाशजंग शाहको विभत्स अन्त्य

पक्राउ परेकामध्ये एक थिए— जगतप्रकाशजंग शाह। उनी साधारण कार्यकर्ता थिएनन्। २०१५ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार थिए। राजपरिवारसँग नातागोता जोडिएको परिवारका सदस्य थिए। यही कारण उनी तुरुन्तै मारिएनन्।
दरबारमा सन्देश पठाइयो। उनलाई क्षमा माग्ने अवसर दिइएको बताइन्छ। तर उनले अस्वीकार गरे। त्यसपछि उनको हत्या गरियो। घटनाको विवरणबारे विभिन्न स्रोतहरूमा केही फरक वर्णन पाइए पनि अधिकांश विवरणले उनको मृत्युलाई अत्यन्त क्रूर र अमानवीय रूपमा चित्रण गरेका छन्। उनको रगत लागेको ज्याकेट टिकौली जंगल क्षेत्रमा भेटिएको स्थानीय सम्झनाहरूमा उल्लेख छ।
जगतप्रकाशजंग शाहको मृत्यु नेपाली कांग्रेसको सशस्त्र आन्दोलनको सबैभन्दा प्रतीकात्मक शहादतमध्ये एक बन्यो। इतिहासमा कतिपय राजनीतिक घटनाहरू मानवीय पीडाका कारण अझ गहिरो भएर बाँच्छन्। जगतप्रकाश र रश्मिराज्यलक्ष्मीको कथा त्यस्तै कथा हो।
रश्मि नाट्यसम्राट बालकृष्ण समकी छोरी थिइन्। शिक्षित, सचेत र राजनीतिक रूपमा संवेदनशील महिला। जब जगतप्रकाश विद्रोहमा जान लागेका थिए, रश्मिले आफ्नै हातले कम्मरमा खुकुरी बाँधिदिएको उल्लेख पाइन्छ। त्यसपछि उनीहरू छुट्टिए। जगतप्रकाश चितवन पुगे। रश्मि भारतमै रहिन्।
पछि अखबारमार्फत श्रीमान् मारिएको खबर थाहा पाएपछि उनी मानसिक रूपमा विक्षिप्तजस्तै बनिन्। अन्ततः उनले पनि आत्महत्या गरिन्। लोकतन्त्रको संघर्षले एउटा परिवारलाई पूर्ण रूपमा समाप्त गरिदिएको थियो। विभिन्न स्रोतहरूमा नामावली फरक–फरक भेटिए पनि भरतपुर काण्डसँग जोडिएका प्रमुख शहीदहरूमा जगतप्रकाशजंग शाह, बुद्धसिंह राना, हरिप्रसाद गुरुङ, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, पंचे गुरुङ, हस्तबहादुर गुरुङ, रामबहादुर गुरुङ लगायतका नाम उल्लेख हुन्छन्।
श्रीहर्ष खनाल, मित्रलाल शर्मा लगायत केही व्यक्तिहरूको अवस्था लामो समयसम्म बेपत्ताको सूचीमै सीमित रह्यो। कतिपय पक्राउपछि मारिए। कतिपय भाग्ने क्रममा। कतिपयलाई अर्को जिल्लामा समातेर हत्या गरिएको विवरण भेटिन्छ।
इतिहास, स्मृति र वर्तमान राजनीतिक सन्दर्भ
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा गगन थापाले यही इतिहास स्मरण गरेका थिए। उनको सन्देश केवल कांग्रेसको गौरवगान थिएन। त्यो चितवनको माटोले बोकेको राजनीतिक स्मृतिको स्मरण थियो।
आजको पुस्ताले लोकतन्त्रलाई स्वाभाविक रूपमा लिन्छ। तर त्यो लोकतन्त्रका लागि कसैले जेल भोगे, कसैले निर्वासन भोगे, कसैले जंगलमा ज्यान गुमाए, कसैले परिवार गुमाए। चितवनको इतिहास केवल एउटा असफल विद्रोहको कथा होइन। यो नेपालको लोकतान्त्रिक संघर्ष, राजनीतिक हिंसा, राज्यको दमन, बलिदान र मानवीय मूल्यको संयुक्त दस्तावेज हो।
आज भरतपुरमा नयाँ राजनीतिक झण्डाहरू फहराइरहेका छन्। नयाँ दलहरू उदाएका छन्। नयाँ पुस्ताले नयाँ भाष्य निर्माण गरिरहेको छ। तर टिकौलीको जंगल, रापतीको किनार र भरतपुरको माटोले अझै एउटा पुरानो प्रश्न सोधिरहेकै छ— लोकतन्त्रको मूल्य कति थियो? त्यस प्रश्नको उत्तर खोज्न इतिहासका पाना पल्टाउँदा २०१८ सालको चितवन अझै रगतले लेखिएको अध्यायका रूपमा भेटिन्छ।
यो सामग्री हिमालखबर डटकमसहित विभिन्न मिडियाको सहयोगमा तयार गरिएको हो। फोटोमा– जगतप्रकाशजंग शाह र रश्मिराज्यलक्ष्मी।)

