सप्तरीः खसी चोर पक्राउ, शंकास्पद कारसहित पाख्रिन नियन्त्रणमा
राजविराज– सप्तरी प्रहरीले चोरीका दुई फरक घटनामा एक/एक जनालाई पक्राउ गरेको छ।
एउटा घटनामा पूर्व–पश्चिम राजमार्गमा रोकिराखिएको शंकास्पद कार चलाइरहेका युवकलाई कागजात र सवारी चालक अनुमति पत्र देखाउन नसकेपछि नियन्त्रणमा लिइएको छ भने अर्को घटनामा घरबाट चोरी गरिएको खसी बोकेर भाग्दै गरेका युवकलाई खसीसहित पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असार ७ गते दिउँसो करिब २ बजे प्रहरी टोली गस्तीका क्रममा हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कंकालिनी होटल एण्ड लज नजिक पूर्व–पश्चिम राजमार्गमा बा १८ च ९४३० नम्बरको कार रोकिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले कार चालकसँग गाडीको कागजात तथा सवारी चालक अनुमति पत्र माग्दा उनले कुनै पनि आवश्यक कागजात देखाउन नसकेको जनाएको छ। त्यसपछि उक्त सवारीसाधन चोरीको हुन सक्ने आशंकामा चालकलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्ने व्यक्ति मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती बस्ने २४ वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाख्रिन रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।
यसैबीच, शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय रमेश सरदार चोरीको खसीसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार असार ७ गते बिहान करिब साढे २ बजे शम्भुनाथ नगरपालिका–१२ स्थित हुलाकी राजमार्ग क्षेत्रमा गस्ती गरिरहेको टोलीले उनलाई पक्राउ गरेको हो।
सरदार मृत खसी बोकेर लैजाँदै गरेको अवस्थामा शंकास्पद रूपमा फेला पारेका थिए। जाँचका क्रममा उक्त खसी स्थानीय राजकुमारी साहको घरबाट चोरी गरिएको खुल्न आएको प्रहरीको भनाइ छ।
त्यसपछि रमेश सरदारलाई मृत खसीसहित नियन्त्रणमा लिइएको थियो। पीडित राजकुमारी साहको जाहेरीका आधारमा उनीविरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार दुवै घटनामा पक्राउ परेकामाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

