विराटनगरस्थित आयल निगमको पार्किङबाटै २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी
विराटनगर— नेपाल आयल निगमको प्रादेशिक कार्यालय, विराटनगरको सुरक्षित मानिने पार्किङ क्षेत्रबाटै इन्धन बोकेको ट्याङ्कर रातारात चोरी भएको छ। भारतको सिलिगुडीबाट पेट्रोल लोड गरी पार्किङमा राखिएको उक्त ट्याङ्कर पछि सुनसरीको हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको छ।
आइतबार (असार ७) साँझ करिब ८ बजे सिलिगुडीबाट २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेर आएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर विराटनगरस्थित निगमको कोशी प्रादेशिक कार्यालयको पार्किङमा लाइनमा राखिएको थियो।
ट्याङ्कर सोमबार राति (असार ८) पार्किङस्थलबाट हराएको पाइएको हो। निगमका प्रमुख पुस्कर कार्कीका अनुसार चालकहरू तालिममा रहेका बेला ट्याङ्कर हराएको जानकारी बिहान साढे ८ बजेतिर प्राप्त भएको थियो। ‘हामी सबैजना तालिममा थियौँ, बिहान मात्रै गाडी छैन भन्ने थाहा भयो,’ ट्याङ्करधनी नवीन कर्णले भने।
खोजी क्रममा ट्याङ्कर मंगलबार (असार ९) बिहान करिब ११ बजे सुनसरीको बर्जु गाउँपालिका–८ स्थित हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका अनुसार ट्याङ्कर त्यहाँसम्म चलाएर ल्याई छाडिएको अवस्थामा भेटिएको हो। डीएसपी चन्द्र खड्काले घटनाबारे अनुसन्धान जारी रहेको बताए।
प्रारम्भिक अनुमानअनुसार ट्याङ्करबाट करिब १ हजारदेखि १ हजार २०० लिटर पेट्रोलियम पदार्थ हराएको देखिएको छ। तर वास्तविक मात्रा मुचुल्का र प्राविधिक परीक्षणपछि मात्र यकिन हुने बताइएको छ। ट्याङ्करधनी कर्णका अनुसार गाडी भिरालो स्थानमा रहेकाले प्रारम्भिक नापजाँचमा केही फरक पर्न सक्ने भएकाले पूर्ण विवरण डिपोमा ल्याएर परीक्षणपछि मात्रै स्पष्ट हुनेछ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङ दुवै जिल्लाको प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो। ढुवानी कम्पनीका प्रतिनिधि र निगमका अधिकारीको रोहबरमा मुचुल्का तयार गरी ट्याङ्करलाई डिपोमा ल्याउने तयारी गरिएको छ।
प्रहरीका अनुसार चालकहरू तालिममा रहेका बेला सुरक्षा कमजोरीको फाइदा उठाएर ट्याङ्कर चोरी गरिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

