भारतबाट अपहरण गरी विरगञ्जमा बन्धक बनाईएकी १५ वर्षीया किशोरीको तीन महिनापछि उद्वार

वीरगन्ज — भारतको बिहार राज्यबाट करिब तीन महिनाअघि हराएकी १५ वर्षीया किशोरीलाई पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट उद्धार गरिएको छ। अपहरणपछि नेपाल ल्याएर विभिन्न स्थानमा राखिएको आशंकाका बीच सोमबार बिहान संयुक्त प्रयासमा उनको उद्धार गरिएको हो।

मानव बेचबिखन तथा बाल संरक्षणका क्षेत्रमा कार्यरत आफन्त नेपाल वीरगन्ज शाखा, पर्सा प्रहरीको महिला तथा बालबालिका सेवा शाखा र स्थानीयवासीको समन्वयमा किशोरीलाई एक घरबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

आफन्त नेपाल वीरगन्ज शाखाकी प्रमुख मनु रानाका अनुसार किशोरी गत अप्रिल २ मा भारतको बिहारस्थित मोतिहारी क्षेत्रबाट हराएकी थिइन्। त्यसपछि उनी नेपालमा रहेको सूचना परिवारले प्राप्त गरेपछि भारतस्थित एक सामाजिक संस्थामार्फत उद्धारका लागि पहल गरिएको थियो।

प्राप्त सूचनाका आधारमा पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रका शंकास्पद घरहरूमा खोजतलास गरिएको थियो। सोही क्रममा किशोरीलाई फेला पारिएको र सुरक्षित रूपमा उद्धार गरिएको रानाले जानकारी दिइन्।

प्रारम्भिक बयानका क्रममा किशोरीले आफूलाई मोतिहारीकै २३ वर्षीय चन्दनकुमार नामका युवकले विद्यालयबाट घर फर्किने क्रममा नियन्त्रणमा लिएको दाबी गरेकी छिन्। त्यसपछि उनलाई भारत र नेपालका विभिन्न स्थानमा राखिएको तथा अन्ततः वीरगन्ज ल्याइएको खुलेको छ।

अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार किशोरीलाई केही समय जनकपुर क्षेत्रमा राखिएपछि वीरगन्जमा ल्याएर एउटा कोठामा सीमित अवस्थामा बस्न बाध्य बनाइएको थियो। बन्धनमा रहेकै अवस्थामा उनले गत जुन २६ मा पहिलोपटक आफ्नो परिवारसँग सम्पर्क गरी आफू नेपालमा रहेको जानकारी गराएकी थिइन्।

त्यसपछि उनका अभिभावक नेपाल आएका थिए र विभिन्न निकायसँग समन्वय गरी खोजी प्रक्रिया अघि बढाइएको थियो। प्राप्त सूचनाको आधारमा गरिएको खोजी अभियान सफल भएपछि किशोरीको उद्धार सम्भव भएको हो।

घटनामा संलग्न भएको आरोप लागेका युवक फरार रहेको पर्सा प्रहरीले जनाएको छ। उनको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। उद्धार गरिएकी किशोरीलाई हाल आफन्त नेपालको संरक्षणमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायको समन्वयमा अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट