जापानमा अध्ययनरत २१ वर्षीय सुरेन्द्र वलीको निधन, मृत्युको कारण खुलेन

काठमाडौँ — उच्च शिक्षाको सपना बोकेर जापान पुगेका रोल्पाका एक नेपाली विद्यार्थीको निधन भएको छ। जापानको चिबा क्षेत्रमा अध्ययनरत २१ वर्षीय सुरेन्द्र वलीको शनिबार राति निधन भएको हो।

रोल्पाको गंगादेव गाउँपालिका–६ बल्ले डिमुरगौरा घर भएका वली जापानी भाषा अध्ययनका लागि जापान गएका थिए। उनको मृत्यु भएको तथ्य गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पदाधिकारी, परिवारका सदस्य तथा स्थानीय जनप्रतिनिधिले पुष्टि गरेका छन्।

एनआरएनए जापानसँग आबद्ध एक सदस्यका अनुसार सुरेन्द्रको मृत्यु चिबा क्षेत्रमा भएको हो। मृत्युको यकिन कारण भने हालसम्म सार्वजनिक गरिएको छैन। ‘चिकित्सकहरूले मंगलबारसम्म प्रारम्भिक प्रतिवेदन उपलब्ध गराउने बताएका छन्। त्यसपछि थप प्रक्रिया र आवश्यक निर्णयबारे छलफल हुनेछ,’ ती सदस्यले बताए।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूमध्ये अधिकांशले विश्वविद्यालय वा उच्च अध्ययनमा प्रवेश गर्नुअघि भाषा विद्यालयमा अध्ययन गर्ने प्रचलन छ। सुरेन्द्र पनि थप अध्ययनको तयारीस्वरूप जापानी भाषा विद्यालयमा अध्ययनरत रहेका बेला उनको निधन भएको हो।

गंगादेव गाउँपालिका–६ का वडाध्यक्ष भरत वलीका अनुसार सुरेन्द्रले कक्षा १२ उत्तीर्ण गरेपछि काठमाडौँमा जापानी भाषा अध्ययन गरी जापान प्रस्थान गरेका थिए। ‘परिवारको चाहना शव नेपाल ल्याएर नेपाली परम्पराअनुसार अन्त्येष्टि गर्ने छ,’ वडाध्यक्ष वलीले भने।

परिवारका अनुसार सुरेन्द्र तीन दाजुभाइमध्ये माइला सन्तान हुन्। उनका जेठा दाजु रमेश वली र कान्छा भाइ कर्ण वली हाल वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा छन्।

घटनापछि जापानस्थित नेपाली समुदायमा शोकको वातावरण बनेको छ। सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूले सुरेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिरहेका छन्। मृत्युको कारणबारे चिकित्सकीय प्रतिवेदन प्राप्त भएपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट