इश्वरी भुजेल हत्याकाण्डमा मनै हल्लाउने छोराको बयानः कुमारलाई प्रेमिकाले भनेकी थिईन– ‘पहिले श्रीमतीलाई मार…’
काठमाडौँ— जेठ २२ गतेको साँझ काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका जेनिश थापा बारम्बार एउटै नम्बरमा फोन गरिरहेका थिए। फोनको स्क्रिनमा आमाको नाम देखिन्थ्यो, तर उता कसैले उठाउँदैनथ्यो। केही घण्टाअघि मात्रै आमाले ‘म आइपुग्छु’ भनेकी थिइन्। अदालतको तारेख सकेर नारायणहिटीस्थित सैनिक ब्याण्ड गुल्म स्थित काममा गएकी उनी घर फर्किन ढिलो हुनु अस्वाभाविक थिएन। तर त्यो साँझ अस्वाभाविक बनेर आयो।
लामो प्रयासपछि अन्ततः आमाको फोन उठ्यो, तर उताको आवाज आमाको थिएन। एक अपरिचित पुरुषले फोन उठाएर भने, ‘यो फोन जसको हो, ती महिला यहाँ रगताम्य अवस्थामा सडकमा लडिरहेकी छिन्।’ जेनिशका अत्तालिए। उनी घटनास्थलतर्फ दौडिए। पैयुटारको सडकमा उनकी आमा ईश्वरी भुजेल रगतले लतपतिएकी थिइन्। शरीरमा चक्कुका गहिरा चोट थिए। अस्पताल पु¥याउने प्रयास भयो। तर बचाउन सकिएन।
त्यो रात जेनिशले केवल आमा गुमाएनन्। केही घण्टापछि उनले अर्को यथार्थसँग पनि सामना गर्नुप¥यो— अनुसन्धानको घेरा उनकै बाबु कुमार थापा मगरतर्फ सोझिएको थियो। पछि प्रहरीले टिकटकमा नेपाली ब्रोका नामले परिचित कुमारलाई पक्राउ ग¥यो। सीसीटीभी फुटेज हे¥यो। बयानहरू संकलन ग¥यो। र निष्कर्ष निकाल्यो— ईश्वरीको हत्या आरोप लागेका व्यक्ति उनका आफ्नै पति कुमार थिए।
तर यो कथा एकै दनमा घटेको अप्रत्यासित घट्ना थिएन। यो वर्षौँदेखि बिस्तारै पाकिरहेको हिंसा, अविश्वास, प्रेम सम्बन्ध, कानुनी संघर्ष र असफल हस्तक्षेपहरूको कथा हो। जसको अन्त्य सडकमा रगताम्य अवस्थामा लडिरहेकी एक महिलासँग भयो।
जेनिशको बयानले एउटा कुरा स्पष्ट हुन्छ— परिवारभित्रको संकट हत्या भएको दिन सुरु भएको थिएन। उनका अनुसार घरमा वर्षौँदेखि तनाव थियो। बाबु–आमाबीच झगडा भइरहन्थ्यो। कहिले सामान्य, कहिले उग्र। कहिले मेलमिलाप, फेरि केही समयपछि नयाँ विवाद।
तर परिस्थितिले निर्णायक मोड तब लियो, जब परिवारले कुमार र जुम्लाकी प्रतीक्षा आचार्यबीचको प्रेम सम्बन्धबारे थाहा पायो। मोबाइलमा भेटिएका तस्बिर, भिडियो र सन्देशहरूले त्यो सम्बन्ध लुकाउन सक्ने अवस्थामा थिएन। परिवारले बुझायो। सम्झायो। आफन्तले हस्तक्षेप गरे। तर कुमार र प्रतीक्षाको सम्बन्ध टुटेन।
बरु त्यसपछि ईश्वरीको जीवन प्रहरी कार्यालय, अदालत र पारिवारिक विवादको चक्रभित्र फस्दै गयो। जेनिशले प्रहरीलाई दिएको बयानमा एउटा यस्तो कुरा बताएका छन्, जसले अनुसन्धानकर्ताको ध्यान तानेको थियो। उनका अनुसार करिब सात–आठ महिनाअघि उनले बाबु कुमार र प्रतीक्षाबीच भएको संवाद सुनेका थिए। त्यो संवादमा प्रतीक्षाले प्रयोग गरेको एउटा वाक्य थियो— ‘पहिले आफ्नो श्रीमतीलाई मार, अनि मात्रै म तिम्रो घरमा आउँछु।’
त्यतिबेला त्यो कुरा सुन्दा जेनिशले त्यसलाई कति गम्भीर रूपमा लिए, त्यो छुट्टै विषय हो। तर महिनौँपछि जब उनकी आमा सडकमा मृत भेटिइन्, त्यो वाक्य अनुसन्धान फाइलको एउटा महत्वपूर्ण अंश बन्यो। प्रहरी अनुसन्धानले देखाएको अर्को पाटो अझै भयावह छ। ईश्वरीले सम्बन्ध जोगाउन धेरै प्रयास गरेकी थिइन्। उनले प्रहरीमा उजुरी दिइन्। पटक–पटक छलफल भयो। मिलापत्रका कागज बने। तर व्यवहारमा समस्या उस्तै रह्यो।
परिवारले पनि हार मानेको थिएन। आफन्त, छिमेकी र नातेदारले पटक–पटक हस्तक्षेप गरेका थिए। एक चरणमा विवाद यति बढ्यो कि एउटै घरभित्र दुई अलग संसार बनाइयो। कुमार भुइँतलामा बस्ने, ईश्वरी र दुई छोरा माथिल्लो तलामा। तर एउटै घरको फरक तलाले मनभित्रको दूरी कम गर्न सकेन। प्रहरी अनुसन्धानका क्रममा जेनिशले बाबुबाट बारम्बार आमालाई धम्की आउने गरेको बताएका छन्।
अदालतमा रहेका मुद्दा फिर्ता लिन दबाब दिने, झगडा गर्ने र त्रास सिर्जना गर्ने क्रम नरोकिएको उनको भनाइ छ। ईश्वरीले वैवाहिक बलात्कारको आरोपमा पनि उजुरी दिएकी थिइन्। त्यसपछि कुमार पक्राउ परेका थिए। पछि धरौटीमा छुटे। तर परिवारका सदस्यहरूका अनुसार त्यसपछि अवस्था झन् असहज भयो।
जेनिशको बयानमा एउटा अर्को घटना पनि उल्लेख छ। उनका अनुसार एकपटक कुमारले घरबाहिर ग्यास सिलिन्डर पड्काएर क्षति पु¥याउने र परिवारै सिद्याउने प्रयास पनि गरेका थिए। छिमेकीहरूले हस्तक्षेप नगरेको भए त्यो घटना थप गम्भीर बन्न सक्थ्यो।
यति धेरै विवाद, उजुरी र हस्तक्षेप हुँदाहुँदै पनि परिवार अन्ततः हिंसाको अन्तिम बिन्दुबाट बच्न सकेन। २२ गते बिहान ईश्वरी फेरि अदालत पुगेकी थिइन्, जेनिशले नै आमालाई अदालत पुर्याएका थिए। सम्बन्धविच्छेद र अन्य मुद्दाको तारेख बुझ्न। अदालतले अर्को तारेख असार ३ गते तोक्यो। अदालत परिसरमै उनीहरूले कुमारलाई देखेका थिए।
त्यो भेट सामान्य थियो कि तनावपूर्ण, त्यो कसैले विस्तारमा भनेको छैन। तर केही घण्टापछि घटनाले भयानक मोड लियो। साँझ घरमा फेरि तनावको संकेत देखियो। इश्वरी र जेनिश दुवै घरमा नभएको बेला कुमारले कान्छा छोरालाई लैजान खोजेको कुरा परिवारले थाहा पायो। जेनिशले विरोध गरे। आमालाई जानकारी गराए। त्यसपछि ईश्वरीले आफू चाँडै घर फर्किने बताइन्। तर उनी कहिल्यै घर फर्किनन्।
घटनापछि जेनिशले बाबुलाई फोन गरेर आमाको हत्या तपाईंले गर्नुभएको हो ? भनेर सोधेको बयान दिएका छन्। त्यसपछि बुबाको मोबाइल बन्द भएको उनले बताएका छन्। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन ग¥यो। प्राविधिक प्रमाण जोड्यो। बयानहरूको विश्लेषण ग¥यो।
अनुसन्धानपछि प्रहरीले कुमारलाई मुख्य अभियुक्त बनायो। प्रेमिका प्रतीक्षा आचार्यलाई पनि सह–अभियुक्तका रूपमा मुद्दामा समावेश गरियो। कुमारका भाइ विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई समेत प्रतिवादी बनाइयो। बिहीबार जिल्ला अदालत काठमाडौँले थुनछेक बहसपछि कुमार र प्रतीक्षालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। दुवै अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।
विक्रम र पुजन भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अदालतमा मुद्दाको अन्तिम फैसला हुन अझै समय लाग्नेछ। आरोपहरू न्यायिक परीक्षणको प्रक्रियामा छन्। दोषी वा निर्दोष भन्ने अन्तिम निष्कर्ष अदालतले नै निकाल्नेछ। तर यो घटनाले एउटा गम्भीर प्रश्न छोडेको छ— कुनै परिवार हिंसाको यति नजिक पुगिसकेको संकेत बारम्बार देखिँदा पनि किन त्यसलाई रोक्न सकिएन?
उजुरी थियो। प्रहरीलाई जानकारी थियो। अदालतमा मुद्दा थियो। परिवारको चिन्ता थियो। छिमेकीको हस्तक्षेप थियो। तर ती सबै संकेत अन्ततः एउटी महिलाको ज्यान जोगाउन पर्याप्त भएनन्। आज जेनिशसँग आमाको नम्बर अझै मोबाइलमा सुरक्षित होला। अदालतका तारेखका कागज पनि कतै फाइलमा होलान्। परिवारसँग बिताएका तस्बिरहरू पनि जस्ताको त्यस्तै होलान। तर ती सबै स्मृतिमाथि एउटा दृश्यले कब्जा जमाएको छ— पैयुटारको सडकमा रगताम्य अवस्थामा लडिरहेकी आमा।
र सायद जीवनभर उनको मनमा घन्किरहने अर्को एउटा वाक्य पनि— ‘पहिले श्रीमतीलाई मार, अनि सँगै बसौँला।’

