श्रीमतीको घाँटी रेटेर हत्या गरेको अभियोगमा ‘नेपाली ब्रो’ र उनकी प्रेमिका कारागार चलानः २० वर्षे दाम्पत्य जीवनको दर्दनाक अवसान

काठमाडौँ — जिल्ला अदालत काठमाडौँको एउटा इजलासले पति–पत्नीबीचको सम्बन्ध जोगिन सक्छ कि भनेर मेलमिलापको ढोका खोलेको थियो। तर त्यो ढोकाबाट संवाद, सहमति वा पुनर्मिलन प्रवेश गर्न पाएन। अदालतको आदेश आएको दुई दिनमै नेपाली सेनाकी जमदार ईश्वरी भुजेलको घाँटीमा चक्कु चल्यो, र एक वैवाहिक सम्बन्धको अन्त्य कानुनी प्रक्रियाबाट होइन, रक्तरञ्जित हत्याबाट भयो।

टिकटक र सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामगरले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गरेपछि काठमाडौँ जिल्ला अदालतले उनलाई र उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो। कुमारका भाइ विक्रम थापामगर र उनका साथी सुजन थापा क्षेत्री भने जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

यो कथा झण्डै दुई दशकअघि सेनामा सुरु भएको प्रेम, त्यसपछि बढ्दै गएको वैवाहिक तनाव, अदालतसम्म पुगेका मुद्दा, प्रहरीमा भएका मिलापत्रका प्रयास, अर्को सम्बन्धको प्रवेश, र अन्ततः एक महिलाको जीवन समाप्त भएको घटनाक्रमको हो।

कुमार थापामगर र ईश्वरी भुजेलको भेट नेपाली सेनाको सेवाकालमै भएको थियो। करिब २० वर्षअघि जागिरका क्रममा भएको चिनजान प्रेममा बदलियो र त्यसको दुई वर्षपछि उनीहरूले प्रेम विवाह गरे। विवाहपछि केही समयसम्म सम्बन्ध सामान्य थियो। तर त्यसपछि जीवनको दिशा बदलियो।

कुमारले सेनाको जागिर छाडेर वैदेशिक रोजगारी रोजे। दुबई गए पनि लामो समय टिकेनन्। एक वर्ष नपुग्दै नेपाल फर्किए। त्यसपछि उनी रेस्लिङ र सामाजिक सञ्जाल गतिविधिमा सक्रिय भए। उता ईश्वरी भने नेपाली सेनामै रहेर सेवा गरिरहिन्। परिवारको आर्थिक आधार मुख्यतः उनकै आम्दानीमा टिक्न थाल्यो। प्रहरी अनुसन्धान र अदालतमा दर्ता कागजातहरूले देखाएअनुसार यही समयदेखि दम्पतीबीचको सम्बन्धमा दरार गहिरिँदै गयो।

ईश्वरीले पति विरुद्ध प्रहरीमा जाहेरी दिईन। जाहेरीमा आफूले वर्षौंसम्म मानसिक, शारीरिक र यौनजन्य हिंसा सहनुपरेको उल्लेख गरेकी थिइन्। उनले पतिले आफूलाई निरन्तर शंका गर्ने, कुटपिट गर्ने, धम्क्याउने र इच्छा विपरीत यौन सम्पर्कका लागि बाध्य पार्ने गरेको आरोप लगाएकी थिइन्।

त्यसै आधारमा उनले २०८२ भदौ १० गते वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर भयो। त्यसपछि सम्बन्धविच्छेदको अर्को मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा दर्ता भयो। उनी अब वैवाहिक सम्बन्धबाट कानुनी रूपमा अलग हुन चाहन्थिन्। तर घटनाले अर्कै मोड लियो।

प्रहरीको अनुसन्धानले कुमारको जीवनमा प्रतीक्षा आचार्यको प्रवेशपछि वैवाहिक विवाद झनै चर्किएको निष्कर्ष निकालेको छ। अभियोगपत्रअनुसार कुमार र प्रतीक्षाबीच प्रेम सम्बन्ध विकास भएको थियो। यही सम्बन्धलाई लिएर घरभित्र विवाद बढ्दै गएको थियो। ईश्वरीले प्रहरीमा उजुरी दिएपछि प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी परिसर काठमाडौंमा पटक–पटक मिलापत्रको प्रयास भएको थियो।

ती प्रयासका क्रममा कुमारले प्रतीक्षासँगको सम्बन्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए। तर अनुसन्धानले त्यो प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको देखाएको छ। प्रहरीका अनुसार प्रतीक्षा आचार्य केवल सम्बन्धको विषयमा सीमित पात्र थिइनन्। अभियोगपत्रमा उनलाई सहप्रतिवादी बनाइएको छ। अनुसन्धानले उनी कुमारको नुवाकोटस्थित घरमा समेत बस्दै आएको देखाएको दाबी गरेको छ।

उता अदालतमा भने दुवै पक्षबीचको विवाद अन्तिम चरणमा पुगेको थियो। २०८३ जेठ २० गते वैवाहिक जबर्जस्ती करणी र सम्बन्धविच्छेद दुवै मुद्दा न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा एकसाथ पेशीमा चढेका थिए। त्यस दिन अदालतले मुद्दालाई मेलमिलाप केन्द्रमा पठाउने आदेश दियो। न्यायिक प्रणालीभित्र यस्तो आदेशको उद्देश्य सम्बन्ध सुधारको सम्भावना परीक्षण गर्नु हो। तर त्यो प्रयास सुरु हुन नपाउँदै घटनाले भयावह मोड लियो।

अभियोगपत्रमा समावेश कुमारको बयानले जेठ २२ गतेको दिनलाई विस्तारमा चित्रण गरेको छ। उनका अनुसार बिहान उनी श्रीमतीसँग सम्बन्ध सुधार्ने उद्देश्यले नारायणहिटीस्थित सैनिक ब्याण्ड गुल्म पुगेका थिए। तर कारमा चक्कु रहेकाले भित्र जान नसकेको उनले बताएका छन्। बयानमा उनले आफू सधैं कारमा चक्कु बोकेर हिँड्ने गरेको दाबी गरेका छन्।

त्यसपछि उनी काठमाडौं जिल्ला अदालत पुगे। अदालतमा मिलापत्रसम्बन्धी प्रक्रिया भए पनि ईश्वरी उपस्थित नभएको उनको भनाइ छ। साँझ घर फर्किएपछि आफूले अपमानित महसुस गरेको र थप तनावमा परेको उनले बयानमा उल्लेख गरेका छन्। त्यसपछि उनी फेरि बाहिरिए। त्यही क्रममा ड्युटी सकेर घर फर्किरहेकी ईश्वरीलाई देखे। प्रहरी अनुसन्धानअनुसार त्यसपछि घटनाले नियोजित रूप लिन थाल्यो।

ईश्वरी स्कुटर रोकेर पैदल हिँडिरहेको बेला कुमारले पछ्याए। तारकेश्वर नगरपालिका–६ पैँयुटार क्षेत्रमा सडक पेटीमा पुगेपछि उनले चक्कु प्रहार गरे। बयानमा उनले सुरुमा ईश्वरीले प्रतिकार गरेको र त्यसपछि घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन्। गम्भीर घाइते ईश्वरीलाई सुरुमा सिटी अस्पताल शेषमती र त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो। तर राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

घटनापछि प्रहरीले कुमारलाई पक्राउ गर्यो। हत्यामा प्रयोग गरिएको चक्कु पनि घटनास्थल नजिकैबाट बरामद गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धानलाई विस्तार गर्दै अन्य व्यक्तिको भूमिकामाथि पनि अनुसन्धान थाल्यो। जाहेरी र अभियोगपत्रमा कुमारका भाइ विक्रम थापामगरले ईश्वरीलाई ‘तह लगाउन’ उक्साएको आरोप छ। उनले आवश्यक खर्च आफूले व्यहोर्ने आश्वासन दिएको दाबी पनि गरिएको छ। सुजन थापा क्षेत्रीमाथि कुमार र प्रतीक्षाको सम्बन्धलाई प्रोत्साहन गरेको तथा भेटघाट गराउने भूमिका खेलेको आरोप लगाइएको छ।

यही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले चार जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको हो। मुख्य अभियुक्त कुमारविरुद्ध जन्मकैदको माग गरिएको छ भने अन्य प्रतिवादीमाथि दुरुत्साहनसम्बन्धी कसुर लगाइएको छ। यो घटनाले नेपालको न्याय प्रणाली, मेलमिलाप प्रक्रिया र घरेलु हिंसासम्बन्धी उजुरीहरूको व्यवस्थापनबारे पनि प्रश्न उठाएको छ।

ईश्वरीले प्रहरीमा पटक–पटक उजुरी दिएकी थिइन्। वैवाहिक बलात्कारको मुद्दा अदालतमा विचाराधीन थियो। सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो। प्रहरी कार्यालयमा मिलापत्रसमेत भएको थियो। तर ती सबै प्रक्रियाबीच अन्ततः उनको हत्या भयो। अदालतले मेलमिलापको सम्भावना देखेको सम्बन्ध दुई दिनपछि मृत्युमा टुंगियो।

सोमबार पशुपतिमा ईश्वरी भुजेलको अन्त्येष्टि गरियो। नेपाली सेनाले उनलाई अन्तिम सम्मानस्वरूप सलामी अर्पण गर्यो। जेठा छोराले दागबत्ती दिए। तर त्यो अन्तिम दृश्यसँगै एउटा गम्भीर प्रश्न भने अझै बाँकी नै रह्यो— जब कुनै महिलाले हिंसा, धम्की, यौन दुव्र्यवहार र असुरक्षाबारे पटक–पटक राज्यका निकायलाई जानकारी दिइसकेकी हुन्छिन्, त्यसपछि पनि उनलाई जोगाउन किन सकिँदैन?

ईश्वरी भुजेलको मृत्यु अब आपराधिक मुद्दा मात्र होइन, घरेलु हिंसा, वैवाहिक सम्बन्धभित्रको शक्ति असन्तुलन, न्यायिक हस्तक्षेपको प्रभावकारिता र पीडित सुरक्षाको वास्तविक अवस्थाबारे गम्भीर बहसको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट