मोबाइलको झगडाले निम्त्यायो रक्तपातः आफ्नै परिवारलाई फसाउन घाँटी रेटेर छिमेकीको हत्या

सर्लाही- एउटा मोबाइलको विवाद, केही रुपैयाँको माग, परिवारले सुधार केन्द्र पठाउने तयारी र त्यसबाट जन्मिएको आक्रोशले सर्लाहीको बसबरियामा भयावह दुर्घट्ना निम्त्याएको छ। बसबरिया गाउँपालिका–१ मानपुरमा यीनै सामान्य कारणले छिमेकमा रहेको एउटा परिवारले आफ्नो सदस्य गुमाउनुपरेको छ।

अझ चकित पार्ने कुरा भने, प्रहरी अनुसन्धानअनुसार छिमेकीको हत्या केवल रिसको आवेगमा मात्रै भएन, त्यसपछि अपराधको दोष आफ्नै परिवारका सदस्यमाथि थोपर्ने योजना समेत बनाइएको थियो। असार ७ गते राति मानपुर गाउँ निद्रामा थियो। घरभित्र ५२ वर्षीय होसनारायण राय यादव पनि सुतिरहेका थिए। नाम होसनारयण भएपनि उनि निद्राको वेहोसीमै थिए।

त्यसैक्रममा उनको घाँटीमा धारिलो हतियारले प्रहार भयो। उनी रगताम्य अवस्थामा भेटिए। उपचारका लागि तत्काल बरहथवा नगर अस्पताल लगिए पनि बिहान २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनाले गाउँ नै स्तब्ध बन्यो। प्रारम्भिक रूपमा परिवारका सदस्यहरूले मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गरेर भागेको बताएका थिए।

घट्ना भएकै राति करिब २–३ सय मिटर पर पार्किङ गरिएको ना ४५ प २६८५ नम्बरको ग्ल्याम्बर १२५ सीसी मोटरसाइकल चोरी भएको सूचना पनि प्रहरीसम्म पुग्यो। घटनाको स्वरूप हेर्दा यो योजनाबद्ध बाह्य आक्रमण जस्तो देखिन्थ्यो। तर अनुसन्धान अगाडि बढ्दै जाँदा कथाको दिशा फेरिन थाल्यो।

इलाका प्रहरी कार्यालय मानपुरमा राति करिव पौने २ बजे सूचना पुगेलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा, प्राविधिक अनुसन्धान टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ (डग) टोलीसमेत परिचालन गरियो। घटनास्थलका भौतिक प्रमाण, कल डिटेल रेकर्ड (सीडीआर), मोबाइल लोकेसन विश्लेषण (बीटीएस), सीसीटीभी फुटेज तथा अन्य प्राविधिक सूचनाको अध्ययन गर्दै अनुसन्धान अघि बढाइयो।

प्रहरीले घटनालाई केवल हत्या होइन, त्यसपछिको गतिविधिलाई समेत शंकाको दृष्टिले हे¥यो। चोरी भएको भनिएको मोटरसाइकल, परिवारले दिएको बयान र घटनास्थलको अवस्थाबीचका केही तथ्य मिलिरहेका थिएनन्।

अनुसन्धानको केन्द्र विस्तारै २५ वर्षीय स्थानीय युवक सन्तोषकुमार रायतर्फ केन्द्रित हुन थाल्यो। प्रहरीका अनुसार चोरी भएको मोटरसाइकल प्रयोग गरेर घटनास्थल पुगेको व्यक्ति सन्तोष नै रहेको तथ्य खुल्यो। हत्या भएपछि उनी गाउँबाट सम्पर्कविहीन बनेका थिए। त्यसले थप शंका जन्मायो। असार १४ गते लालबन्दी नगरपालिका–२ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा सोही मोटरसाइकल फेला परेपछि अनुसन्धान झन् बलियो मोडमा पुग्यो।

त्यसपछि प्रहरीले उनको खोजी तीव्र बनायो। अन्ततः घटना भएको नौ दिनपछि, असार १६ गते दिउँसो बरहथवा नगरपालिका–७ बरहथवा बजार नजिक लुकेर बसेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनलाई पक्राउ गरियो। सर्लाही प्रहरीका एसपी रबिन्द्रनाथ पौडेलका अनुसार पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा सन्तोषले हत्या स्वीकार गरेका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनले घट्नाअघि मोटरसाइकल चोरी गरेका थिए। त्यसैमा चढेर घटनास्थल पुगे, होसनारायणमाथि धारिलो हतियार प्रहार गरे र त्यसपछि मोटरसाइकलमा भागे। पछि उक्त मोटरसाइकल नवलपुर क्षेत्रमा छाडेर फरार भएका थिए। अनुसन्धानमा सबैभन्दा गम्भीर पक्ष भने हत्या पछाडिको कारण र त्यसपछिको योजना बनेको छ।

प्रहरीका अनुसार असार ६ गते मोबाइलको विषयमा विवाद भएको थियो। त्यसबाहेक उनले पटक–पटक पैसा माग्दा नपाएको र परिवारले आफूलाई सुधार केन्द्र पठाउने तयारी गरिरहेको विषयप्रति असन्तुष्टि व्यक्त गरेका थिए। यही आक्रोश हत्या सम्म पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

एसपी पौडेलका अनुसार सन्तोषले प्रारम्भिक बयानमा हत्या गरेपछि आफ्नै परिवारका सदस्यलाई फसाउने उद्देश्य समेत रहेको स्वीकार गरेका छन्। अर्थात् घटना केवल हत्या मात्रै नभई अनुसन्धानलाई भ्रमित बनाउने प्रयाससँग पनि जोडिएको देखिएको छ। घटनामा प्रयोग गरिएको हतियारबारे पनि उनले प्रहरीलाई देखाएका छन्।

बयानअनुसार हत्या गर्न प्रयोग गरिएको हँसिया बरहथवा नगरपालिका–१३ बिनमा टोल नजिक सडक छेउको खेतमा फालिएको थियो। यद्यपि हालसम्म उक्त हतियार बरामद हुन सकेको छैन। अनुसन्धानले अर्को पाटो पनि उजागर गरेको छ। प्रहरीका अनुसार सन्तोषलाई यसअघि खराब आचरणका कारण परिवारले सुधार केन्द्रमा समेत राखेको थियो। परिवारले सुधारको प्रयास गरिरहेको अवस्थामा उनीमाथि आफ्नै घरपरिवारको सदस्यको हत्या गरेको आरोप लागेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्दै घटनाको अनुसन्धान विवरण सार्वजनिक गरेको हो। हाल सन्तोषकुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट