दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या

दमक— झापाको दमकमा बुधबार भएको एक दर्दनाक घटनामा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि आफूले समेत आत्महत्या गरेका छन्। दमक नगरपालिका–१ सिरपाली चोकस्थित घरमा भएको उक्त घटनामा ४२ वर्षीय धनबहादुर दर्जी मृत फेला परेका छन् भने उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो करिब २ बजे धनबहादुर र विजयकुमारीबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किएपछि धनबहादुरले घरमै रहेको खुकुरी प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेका थिए। खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बाँया हातमा गम्भीर चोट लागेको थियो।

घटनालगत्तै धनबहादुर घरको अर्को कोठामा गई सलको पासो बनाएर सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार उनलाई उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर तल झारेकी थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएको थियो। उपचारकै क्रममा विजयकुमारीको मृत्यु भएको र धनबहादुरलाई समेत चिकित्सकले मृत घोषणा गरेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको खुकुरी बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा घटना घरायसी विवादबाट उत्पन्न भएको देखिए पनि विवादको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

स्थानीयवासीका अनुसार दर्जी दम्पती लामो समयदेखि दमक–१ सिरपाली चोकमा बसोबास गर्दै आएका थिए। घटनापछि क्षेत्रका बासिन्दा स्तब्ध बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट