कप्तानगञ्जको रक्तपातः एउटा झण्डाको विवाद कसरी बन्यो देश हल्लाउने संकट ?

राजविराज– सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति सुरु भएको एउटा स्थानीय विवाद केही घण्टामै गोलीकाण्डमा परिणत भयो। त्यसपछि त्यो घटना सुनसरीको सीमाभित्र सीमित रहेन। दुई युवाको मृत्यु, दर्जनौँ घाइते, सुरक्षा निकायमाथि प्रश्न, विभिन्न जिल्लामा कर्फ्यु, आगजनी, तोडफोड र सिरहामा थप एक युवकको ज्यान जाने अवस्थासम्म पुग्दा एउटा स्थानीय झडप राष्ट्रिय सुरक्षा चुनौतीमा रूपान्तरण भएको छ।

घटनाले धार्मिक सहअस्तित्व, सुरक्षा संयन्त्रको निर्णय क्षमता र राज्यको संकट व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद नियन्त्रणबाहिर जाँदा सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भयो भने गम्भीर घाइते देवानगञ्ज–३ का जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भयो। यससँगै सुनसरी घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो।

तर, घटनाको प्रभाव त्यतिमै रोकिएन। सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बनेपछि बिहीबार गोली लागेर औरही–२ का करिब २० वर्षीय गणेश यादवको मृत्यु भयो। यससँगै सुनसरी घटनासँग जोडिएको हिंसात्मक श्रृंखलामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

घटनाको सतहमा डिजे बजाउने विषय देखिए पनि स्थानीय सुरक्षा अधिकारी, प्रशासन र प्रत्यक्षदर्शीहरूले विवादको जरो भने झण्डा रहेको बताएका छन्। कप्तानगञ्जमा एउटा चोक छ। जसलाई हिन्दु समुदायले ‘श्रीराम चोक’ र मुस्लिम समुदायले ‘बीपी चोक’ भनेर नाम राखेका छन्। केही साताअघि मोहरम पर्वका क्रममा मुस्लिम समुदायले उक्त चोकमा धार्मिक झण्डा राखेको थियो। साउन लागेसँगै हिन्दुहरुको बोलबम यात्रा सुरु भयो। हिन्दु समुदायले मोहरम पर्वमा मुस्लिम समुदायले राखेको त्यो झण्डा हटाउन स्थानीय तह र प्रशासनलाई पटक–पटक आग्रह गरे पनि कुनै निर्णय नभएको स्थानीयहरूको दाबी छ।

आइतबार राति बोलबम यात्राका लागि भेला भएका हिन्दु युवाहरूले सोही स्थानमा ‘जय भोले’ लेखिएको झण्डा टाँगेपछि दुई समुदायबीच भनाभन सुरु भयो। केही मिनेटमै विवाद हातहालाहाल र भाटाभाटा हानाहानमा परिणत भयो।

प्रारम्भिक रूपमा नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो। तर, स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी निरीक्षकमाथि भाटाले प्रहार भएको र उनी घाइते भएको सुरक्षा स्रोतले जनाएको छ। सात जना प्रहरीसमेत घाइते भएपछि थप बल मागिएको थियो। त्यसपछि सीडीओको समन्वयमा सशस्त्र प्रहरी परिचालन गरियो। तर, त्यतिबेलासम्म स्थिति निकै बिग्रिसकेको थियो। स्थानीयका अनुसार दुवै समुदायबीच घर तथा टहरा जलाउने प्रयाससमेत सुरु भइसकेको थियो।

राति करिब साढे १० बजेतिर विद्युत् आपूर्ति अवरुद्ध भएपछि कप्तानगञ्ज अन्धकारमय बन्यो। सुरक्षाकर्मीले सुरुमा हवाई फायर गरेर भीड नियन्त्रण गर्ने प्रयास गरेको बताइएको छ। तर, सुरक्षा अधिकारीहरूका अनुसार त्यसपछि सुरक्षाकर्मीमाथि भाला, तरबार, त्रिशूल, खुकुरी र अन्य घरेलु हतियार प्रयोग गरी आक्रमण हुन थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्था आएको थियो।

गोली लागेर १० जना घाइते भए। उनीहरूमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने बाँकी आठ जनाको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार रवीन्द्रकुमार मेहता र अमित यादवको अवस्था अझै गम्भीर छ।

घटनास्थलमा पुगेका सुरक्षा अधिकारीहरूले घटनाको थप जटिलताका लागि केही राजनीतिक गतिविधिलाई पनि जिम्मेवार ठहर गरेका छन्। घटनास्थलमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले प्रशासनविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको सुरक्षा स्रोतको दाबी छ। सुरक्षा अधिकारीहरूका अनुसार त्यसपछि भीड झनै आक्रोशित बनेको थियो। यद्यपि सांसद थापाको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

घटनापछि सुनसरीमा कफ्र्यु आदेश जारी गरियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ठूलो संख्या परिचालन गरियो। बिहीबारसम्म कप्तानगञ्जमा मात्रै सयभन्दा बढी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र करिब दुई सय नेपाली सेना परिचालित थिए। तर, तनाव सुनसरीमै सीमित रहेन।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजार र लहानमा प्रदर्शन चर्कियो। प्रदर्शन हिंसात्मक बनेपछि गोलबजारमा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी भयो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो। प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गर्यो।

त्यसैगरी धनुषा प्रशासनले जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा पनि कर्फ्यु आदेश जारी गर्‍यो। जनकपुर क्षेत्रमा बिहानैदेखि प्रदर्शन, टायर बाल्ने र आवागमन अवरुद्ध हुने घटना भएका थिए। स्थानीय बासिन्दा र विश्लेषकहरूको साझा निष्कर्ष भने एउटै छ— झण्डा विवाद समयमै समाधान गरिएको भए अवस्था यति हदसम्म पुग्ने थिएन।

स्थानीयका अनुसार यसअघि पनि यस्ता विवाद हुने गरेका थिए। तर, प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा र स्थानीय नेतृत्व बसेर तत्काल समाधान निकाल्ने अभ्यास थियो। यसपटक भने प्रारम्भिक चेतावनीलाई बेवास्ता गरिँदा सामान्य विवाद हिंसात्मक टकरावमा परिणत भएको उनीहरूको भनाइ छ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार अहिले स्थानीय तहमा राजनीतिक दलहरूको सक्रिय मध्यस्थता कमजोर बनेको छ। उनका अनुसार विगतमा स्थानीय तहमा सर्वदलीय संयन्त्र सक्रिय हुने भएकाले यस्ता विवाद प्रारम्भिक चरणमै समाधान हुन्थे। अहिले त्यस्तो संयन्त्र प्रभावहीन हुँदा प्रशासन र सुरक्षा निकाय एक्लै संकट व्यवस्थापन गर्न बाध्य भएका छन्।

अर्का विश्लेषक कृष्ण पोखरेलले मधेश प्रदेशजस्ता संवेदनशील क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक तनाव विस्तार हुन नदिन सरकारले तत्काल संवाद, निष्पक्ष छानबिन र विश्वास पुनःस्थापना कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

पत्रकार तथा विश्लेषक रामरिझन यादवले पनि स्थानीय प्रशासन र जनप्रतिनिधिले प्रारम्भिक चरणमै विवाद समाधानमा सक्रियता नदेखाउँदा परिस्थितिले हिंसात्मक रूप लिएको बताएका छन्। गृह मन्त्रालयले घटनाको छानबिनका लागि टोली गठन गरेर सुनसरी पठाइसकेको छ।

तर, अहिले पनि केही मूल प्रश्नको उत्तर आउन बाँकी छ— झण्डा विवाद समयमै किन समाधान भएन ? हवाई फायरपछि गोली चलाउनुपर्ने अवस्था किन आयो ? गोली चलाउने निर्णय आवश्यक थियो कि थिएन ? सुरक्षाकर्मीको तयारी पर्याप्त थियो वा थिएन ? स्थानीय राजनीतिक तथा प्रशासनिक नेतृत्व कहाँ चुके ? एउटा स्थानीय विवाद कसरी केही दिनमै सुनसरीदेखि सिरहा, धनुषा, सप्तरी, मोरङ हुँदै तराईका विभिन्न जिल्लामा फैलियो ?

यी प्रश्नको उत्तर अब सरकारी छानबिन, सुरक्षा निकायको प्रतिवेदन र कानुनी प्रक्रियाबाट मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको प्रमुख चुनौती भने तनाव थप फैलिन नदिनु, निष्पक्ष अनुसन्धान गर्नु र दुवै समुदायबीच विश्वास पुनःस्थापित गर्नु रहेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट