धनुषामा मन्दिरभित्रै एक जनाको हत्या, प्रहरीले भन्यो– ‘धार्मिक होइन, विशुद्ध आपराधिक घटना हो’

जनकपुर– धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित मन्दिर परिसरमा बिहीबार राति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। घटनापछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी फैलिन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले मृतक मन्दिरका पुजारी नभएको र घटना कुनै धार्मिक विवादसँग सम्बन्धित नरही विशुद्ध आपराधिक प्रकृतिको रहेको स्पष्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–३ मलहनियाका ४५ वर्षीय बन्ठु राउत गडेरी अज्ञात व्यक्तिहरूको आक्रमणमा परेर मृत अवस्थामा फेला परेका हुन्। घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली तथा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको छ।

धनुषा प्रहरीका प्रवक्ता तथा डीएसपी मधुसुदन न्यौपानेले घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक मन्दिरका पुजारी नभई बाहिर मजदुरी गर्ने र राति मन्दिरमा बस्ने व्यक्ति रहेको खुलेको छ।

प्रहरीका अनुसार बन्ठु राउत केही दिनअघि मात्रै भारतको पञ्जाबबाट घर फर्किएका थिए। उनी नियमित रूपमा मन्दिरमा बस्ने गरे पनि धार्मिक जिम्मेवारी निर्वाह गर्ने पुजारी भने थिएनन्।

घटनाबारे शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय धनुषाले सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै घटनालाई धार्मिक विवादसँग जोडेर अफवाह नफैलाउन अनुरोध गरेको छ। प्रहरीका अनुसार घटनास्थलमा आवश्यक प्रमाण संकलन, प्राविधिक अनुसन्धान तथा अन्य अनुसन्धान प्रक्रिया जारी छ।

प्रहरीले घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ। साथै कुनै अपुष्ट सूचना वा भ्रमपूर्ण प्रचारप्रसारले सामाजिक सद्भावमा असर पुग्न सक्ने भएकाले आधिकारिक जानकारीलाई मात्र आधार बनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म कसैलाई पक्राउ गरिएको विवरण सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट