सप्तरीमा पतिले इँटाले टाउकोमा प्रहार गर्दा पत्नीको मृत्यु, कोसिया पक्राउ
राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारी मुसहरी टोलमा इँटाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। श्रीमती ५२ वर्षीया फुलकुमारी सदामाथि कुटपिट गरेको आरोपमा प्रहरीले ५६ वर्षीय कोसिया सदालाई पक्राउ गरेको थियो।
उपचारका क्रममा श्रीमतीको मृत्यु भएपछि उनिविरुद्धको मुद्दा कर्तव्य ज्यानमा परिणत भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कोसियाले साउन २० गते साँझ करिब ६ बजे मादक पदार्थ सेवन गरी फुलकुमारीलाई कुटपिट गर्नुका साथै इँटाले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी फुलकुमारीको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले यसअघि चलिरहेको अभद्र व्यवहारसम्बन्धी मुद्दालाई कर्तव्य ज्यानमा परिणत गरेको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी नायब निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते फुलकुमारीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान, सिराहा पठाएको थियो।
घटनापछि कोसियालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै सप्तरी जिल्ला अदालतबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद लिएको थियो।
तर उपचाररत फुलकुमारीको साउन २४ गते बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल लहानमा मृत्यु भयो। त्यसपछि मृतककी छोरी लिला सदाले दिएको जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मुद्दा कर्तव्य ज्यानमा परिणत भएपछि प्रहरीले पुनः सप्तरी जिल्ला अदालतबाट साउन २४ गतेदेखि लागू हुने गरी १० दिनको म्याद लिएर कोसिया सदामाथि अनुसन्धान अघि बढाएको छ। डीएसपी हेमराज घिमिरेका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ। प्रहरीका अनुसार प्रारम्भिक घटनामा श्रीमतीलाई कुटपिट गरी इँटाले टाउकोमा प्रहार गरेको आरोपमा पक्राउ परेका कोसियाविरुद्ध उपचारका क्रममा पीडितको मृत्यु भएपछि कानुनी कसुरको प्रकृति परिवर्तन गरिएको हो।
प्रहरीले घटनाको कारण, कुटपिटको अवस्था, घाइतेको उपचार तथा मृत्युको परिस्थितिसहितका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। हाल कोसिया प्रहरी नियन्त्रणमै छन् र अदालतबाट प्राप्त म्यादभित्र घटनासम्बन्धी थप प्रमाण तथा विवरण संकलन भइरहेको छ।

