इरानको हत्याको धम्कीपछि ट्रम्पलाई क्याटरिङ ट्रकबाट भगाई प्लेन परिवर्तन गरेर वेलायत पुर्याएको खुलासा
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरानबाट आएको भनिएको विश्वसनीय हत्याको धम्कीपछि उनको बेलायत यात्रा सामान्य राष्ट्रपतीय भ्रमणभन्दा निकै फरक ढंगले सञ्चालन गरिएको खुलासा भएको छ। ह्वाइट हाउसले ट्रम्प पुरानो ‘एयर फोर्स वन’ बाट टर्कीबाट बेलायत गएको बताइरहेका बेला उनलाई त्यही विमानमा यात्रा गरिरहेको देखाएर गोप्य रूपमा एयर फोर्स सी–३२ए मार्फत बेलायत पु¥याइएको विवरण सार्वजनिक भएको हो।
वासिङ्टन पोस्ट र द न्युयोर्क टाइम्सका अनुसार, टर्कीको अंकाराबाट बेलायत प्रस्थान गर्ने क्रममा ट्रम्पलाई विमानस्थलमा खाद्यान्न तथा अन्य सामग्री ओसार्न प्रयोग हुने क्याटरिङ ट्रकको आडमा पुरानो एयर फोर्स वनबाट निकालेर अर्को विमानमा सारिएको थियो। उक्त गोप्य स्थानान्तरणको उद्देश्य ट्रम्पको वास्तविक अवस्थिति लुकाउनु र सम्भावित आक्रमणकारीलाई भ्रममा पार्नु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
घटना गत महिना ट्रम्प नाटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अंकारामा रहेका बेला भएको हो। त्यसबेला टर्कीसँग सीमा जोडिएको इरानसँगको तनावसमेत बढिरहेको थियो। ट्रम्पमाथि इरानसँग सम्बन्धित विश्वसनीय सुरक्षा धम्की रहेको सूचनापछि अमेरिकी सुरक्षा निकायले उनको यात्राको वास्तविक विवरण सीमित व्यक्तिलाई मात्र जानकारी गराएको थियो।
टर्कीबाट बेलायततर्फ प्रस्थान गर्नुअघि भने सार्वजनिक रूपमा अर्कै दृश्य तयार पारिएको थियो। टेलिभिजन क्यामेरासामु ट्रम्प पुरानो, हल्का नीलो रंगको एयर फोर्स वनमा चढेको देखिए। यसअघि ट्रम्पले आफ्नै ट्रुथ सोसल पोस्टमार्फत ‘पुराना दिनको सम्झना’ का लागि सोही विमानबाट बेलायत जाने बताएका थिए।
त्यसपछि विमानस्थलमा खाद्यान्न तथा अन्य सामग्री ओसार्ने क्याटरिङ ट्रक प्रयोग गरी ट्रम्पलाई गोप्य रूपमा सानो विमानतर्फ लगिएको विवरण वासिङ्टन पोस्टले अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै सार्वजनिक गरेको छ। न्युयोर्क टाइम्ससँग पनि एक अमेरिकी अधिकारीले उक्त गोप्य अभियान भएको पुष्टि गरेका छन्।
यसरी ट्रम्पको वास्तविक स्थान पत्रकारहरूसँग मात्र होइन, ह्वाइट हाउसका केही कर्मचारीबाट समेत लुकाइएको थियो। ट्रम्पसँग यात्रा गरिरहेका पत्रकारहरूलाई आफूहरू पुरानो एयर फोर्स वनमै राष्ट्रपतिसँगै यात्रा गरिरहेको विश्वास दिलाइएको थियो।
अझ भ्रम कायम राख्न पत्रकार बसेको विमानको प्रेस कक्षका झ्यालका पर्दासमेत बन्द राख्न निर्देशन दिइएको थियो। उडानका क्रममा पत्रकारहरूले त्यसको कारण सोध्दा ट्रम्पले आफूहरू ‘सम्भावित रूपमा खतरनाक उडान’ मा रहेको बताएका थिए। उनले त्यतिबेला, ‘यदि म गएँ भने, तिमीहरू पनि जान्छौ’ भन्ने प्रतिक्रिया दिएका थिए।
तर वास्तविकता भने अर्कै थियो। ट्रम्पलाई एयर फोर्स सी–३२ए मा राखेर पुरानो एयर फोर्स वन र सञ्चारमाध्यम बोकेको विमानभन्दा केही अगाडि बेलायत पठाइएको थियो। वासिङ्टन पोस्टका अनुसार ट्रम्प सवार सी–३२ए स्थानीय समयअनुसार राति करिब १० बजेर २० मिनेटमा बेलायत पुगेको थियो। पुरानो एयर फोर्स वन र सञ्चारमाध्यम बोकेको विमान त्यसको केही मिनेटपछि मात्र बेलायत पुगे।
यद्यपि, बेलायत पुगेपछि ट्रम्पलाई सी–३२एबाट पुनः पुरानो एयर फोर्स वनमा कसरी सारियो भन्ने स्पष्ट विवरण सार्वजनिक भएको छैन। सञ्चारमाध्यमसँग रहेको यात्रा विवरणअनुसार ट्रम्प स्थानीय समयअनुसार राति १० बजेर ५६ मिनेटमा पुरानो एयर फोर्स वनको भ¥याङबाट ओर्लिएका थिए।
विमानबाट ओर्लँदा उनले सञ्चारकर्मीहरूतर्फ शान्तिको संकेत गरेका थिए। तर उनीहरूसँग कुराकानी नगरी केही समय अमेरिकी सैनिकसँग भेट गरेपछि कतारले उपहार दिएको नयाँ विमानतर्फ लागेका थिए।
ट्रम्पको टर्की भ्रमणका लागि प्रयोग गरिएको उक्त नयाँ विमान बोइङ ७४७–८ हो, जुन कतारले अमेरिकालाई उपहार दिएको थियो। नाटो सम्मेलनका क्रममा टर्की पुगेको यात्रा उक्त विमानको पहिलो अन्तर्राष्ट्रिय यात्रा थियो। राष्ट्रपतीय प्रयोजनका लागि विमानमा गरिएको तीव्र स्तरोन्नतिको लागत र सुरक्षासम्बन्धी विषयमा त्यसअघि नै प्रश्न उठेका थिए।
रोचक पक्ष के छ भने, ट्रम्पले सार्वजनिक रूपमा आफू नयाँ विमानमा नभई पुरानो एयर फोर्स वनबाट बेलायत जाने बताएका थिए। नयाँ विमान पनि बेलायतस्थित आरएएफ मिल्डेनहल मै पुग्ने र त्यहाँ तैनाथ अमेरिकी सैनिकलाई विमान हेर्ने अवसर दिइने जानकारी दिइएको थियो। यही सार्वजनिक विवरणलाई सुरक्षा रणनीतिको एउटा तहका रूपमा प्रयोग गरिएको देखिन्छ।
राष्ट्रपतिको वास्तविक यात्रा लुकाउन डिकाय विमान प्रयोग गरिएको यो पहिलो घटना भने होइन। सन् २००० मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पाकिस्तान भ्रमणमा पनि यस्तै रणनीति अपनाइएको थियो। त्यसबेला औपचारिक एयर फोर्स वनलाई डिकायका रूपमा पठाएर क्लिन्टन भने पहिचान नखुलेको कार्यकारी जेटमार्फत पाकिस्तान पुगेका थिए।
यसपटक पनि पुरानो एयर फोर्स वनलाई सम्भावित आक्रमणकारीका लागि भ्रम सिर्जना गर्ने माध्यम बनाइएको अमेरिकी अधिकारीहरूको भनाइ छ। सार्वजनिक रूपमा राष्ट्रपति त्यही विमानमा रहेको देखाइए पनि वास्तविक उडान भने अर्को विमानबाट भएको थियो।
गोप्य उडानबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले सञ्चार निर्देशक स्टिभ चेउङको भनाइ सार्वजनिक गरेको छ। उनले कतारले उपहार दिएको विमानमा राष्ट्रपतिको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल जडान गरिएको बताएका छन्।
चेउङका अनुसार ट्रम्प अमेरिकाका ‘धेरै शत्रुहरू’को निशानामा छन् र ती सम्भावित धम्की सामना गर्न उपलब्ध सबै सुरक्षा उपाय प्रयोग गरिनेछ। ह्वाइट हाउसले वासिङ्टन पोस्टलाई पनि यही धारणा दोहोर्याएको थियो।
यस घटनाले ट्रम्पको बेलायत यात्रामा देखाइएको सार्वजनिक दृश्य र वास्तविक सुरक्षा अभियानबीच कति ठूलो अन्तर थियो भन्ने देखाएको छ। क्यामेरासामु पुरानो एयर फोर्स वनमा चढेका राष्ट्रपति वास्तवमा त्यही विमानमा थिएनन, उनको वास्तविक गन्तव्यतर्फको उडान अर्को विमानबाट भएको थियो। सुरक्षा धम्कीको स्तर र त्यसलाई सामना गर्न अपनाइएको रणनीति भने अमेरिकी प्रशासनले सार्वजनिक रूपमा विस्तृत रूपमा खुलाएको छैन।

