८ महिनामै पुरुषोत्तमको असाधारण राजनीतिक उडानः समानुपातिक सूचीको ‘उलटफेर’देखि सहमहामन्त्रीसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको आठ महिना नबित्दै पुरुषोत्तम यादवले पार्टीभित्र गरेको राजनीतिक उडानले मधेसको शक्ति–सन्तुलन बदलिन थालेको संकेत गरेको छ। समानुपातिक उम्मेदवारको सूचीमा तेस्रो स्थानमा रहेका यादवलाई सांसद बन्ने बाटो खुलाउन सूचीको क्रम परिवर्तन गरिएको थियो भन्ने पार्टीभित्रको चर्चादेखि शुक्रबार सहमहामन्त्रीमा नियुक्तिसम्म आइपुग्दा उनको उकालो यात्रा असाधारण देखिन्छ।

अहिले उनी मधेसमा सभापति रवि लामिछानेको सबैभन्दा भरपर्दो राजनीतिक सहयात्रीका रूपमा स्थापित गर्ने तयारीमा रहेको रास्वपाभित्रकै नेताहरूको विश्लेषण छ। रास्वपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको मधेसी पुरुष क्लष्टरको प्रारम्भिक सूचीमा डा. नन्दन यादव पहिलो, खगेन्द्र कर्ण दोस्रो र पुरुषोत्तम यादव तेस्रो क्रममा थिए। तर निर्वाचन आयोगबाट सार्वजनिक भएको अन्तिम सूचीमा यो क्रम फेरियो। डा. नन्दन यादव तेस्रो स्थानमा पुगे भने पुरुषोत्तम यादव पहिलो स्थानमा आइपुगे। खगेन्द्र कर्ण भने दोस्रोमै रहे।

पार्टीभित्रको बुझाइअनुसार यसको प्रत्यक्ष असर सांसद बन्ने सम्भावनामा परेको थियो। तेस्रो स्थानमा रहेका डा. नन्दन यादव समानुपातिक सांसद बन्न सकेनन् भने पहिलो र दोस्रो स्थानमा रहेका पुरुषोत्तम यादव र खगेन्द्र कर्ण सांसद बने।

त्यतिबेला सूचीको क्रम परिवर्तन पुरुषोत्तमलाई सांसद बनाउने उद्देश्यले गरिएको दाबी पार्टीभित्रै उठेको थियो। रास्वपाका एक नेताका अनुसार तेस्रो स्थानमा रहे सांसद बन्न नसक्ने अवस्थाबाट आफूलाई जोगाउन पुरुषोत्तमले पहिलो स्थानमा राख्न दबाब दिएका थिए र सभापति लामिछानेले त्यसलाई सहजै स्वीकार गरेका थिए।

‘पहिलो नम्बरमा नराखिए सांसद हुन नसक्ने पुरुषोत्तमलाई डर थियो । पहिलो नम्बरमा राख्न बल लगाए । सभापतिले पुरुषोत्तमलाई ल्याउन सहजै स्विकार्नुभयो,’ ती नेताले भने। त्यसपछि सुरु भयो पुरुषोत्तमको अर्को राजनीतिक यात्रा।

रास्वपाको पहिलो महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा थिए। तर मधेसबाट प्रतिनिधित्व गर्ने एक सांसदका अनुसार मनोनीत केन्द्रीय सदस्य बनाउने वा मधेसको नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन पाएपछि उनले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगरेको चर्चा पार्टीभित्र थियो।

तर उनलाई दिइएको जिम्मेवारी त्यो अनुमानभन्दा पनि माथि पुग्यो। शुक्रबार सभापति लामिछानेले पुरुषोत्तमलाई सहमहामन्त्री बनाएपछि उनी महाधिवेशनबाट आएको संरचनामा मधेसबाट पदाधिकारी तहमा पुग्ने पहिलो व्यक्ति बनेका छन्। ‘केन्द्रीय सदस्य मनोनीत गर्लान् कि भन्ने थियो। हामीलाई नै अचम्मित बनाउने गरी सहमहामन्त्री बनाए,’ मधेसका एक सांसदले भने।

यो नियुक्तिलाई केवल व्यक्तिगत पदोन्नतिको रूपमा मात्र नहेरी रास्वपाले मधेसमा नयाँ राजनीतिक केन्द्र निर्माण गर्न खोजेको संकेतका रूपमा समेत पार्टीभित्र व्याख्या हुन थालेको छ। पुरुषोत्तमको राजनीतिक पृष्ठभूमिमा जेनजी आन्दोलन पनि जोडिन्छ। उनी आन्दोलनका सुरुवातकर्तामध्येका एक मानिन्छन्। मधेसबाटै जेनजी आन्दोलनमा सक्रिय रहेका र पछि रास्वपाको सांसद बनेका बब्लु गुप्ता र शिव यादव पनि छन्। तर पार्टीभित्रको पछिल्लो शक्ति संरचनामा उनीहरूलाई समेत पछि पार्दै पुरुषोत्तम पदाधिकारी तहमा पुगेका छन्।

लामिछानेले उनलाई यति उच्च प्राथमिकता दिनुको कारणबारे मधेसका एक सांसदको विश्लेषण छ—सभापतिका लागि अहिले मधेसमा पुरुषोत्तम नै सबैभन्दा सहज राजनीतिक सम्पर्क व्यक्ति बनेका छन्। ‘अहिले सभापतिका लागि मधेसको खास व्यक्ति पुरुषोत्तम हो। सभापतिसँग मधेसका सांसदहरूसँग भेटघाटमा समन्वय गर्न पनि पुरुषोत्तम अघि सरेका हुन्छन्,’ ती सांसदले भने।

त्यसको संकेत उनको सक्रियतामा पनि देखिन थालेको छ। रास्वपाले बैठक राखिरहेको दिन पुरुषोत्तम जनकपुरमा छुट्टै कार्यक्रम आयोजना गरेर मधेसका विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन व्यस्त थिए। पार्टीका नेताहरूका अनुसार सहमहामन्त्री बन्ने संकेत पाएपछि उनले मधेसमा संगठन विस्तार र नेतृत्व चयनका विषयमा आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

मनिष झाको छायाँबाट नयाँ केन्द्रतर्फ
रास्वपामा मधेसको राजनीतिक प्रभाव लामो समय पूर्वप्रवक्ता मनिष झासँग जोडेर हेरिँदै आएको थियो। अघिल्लो प्रतिनिधिसभा अवधिमा झालाई पार्टीभित्र मधेसको प्रमुख राजनीतिक अनुहारका रूपमा चित्रित गरिन्थ्यो।

तर पहिलो महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि झाको संगठनभित्रको उपल्लो राजनीतिक यात्रामा धक्का लाग्यो। चुनावका बेला रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहसमेत महाधिवेशनमा सहभागी भएनन् र अहिलेसम्म केन्द्रीय सदस्यसमेत बनेका छैनन्।

त्यसको ठीक विपरीत पुरुषोत्तमको राजनीतिक हैसियत छोटो समयमै बढेको छ। अहिले पदीय संरचनाका हिसाबले उनी मनिष झाभन्दा माथिल्लो तहमा पुगेका छन्। रास्वपाकी केन्द्रीय सदस्य तथा मधेस संगठन विभागकी पूर्वप्रमुख कामिनी चौधरी भने पुरुषोत्तमलाई अघि बढाउनुमा उनको युवा उमेर, ऊर्जा र संगठनमा सक्रियतालाई मुख्य कारण मान्छिन्।

‘उर्जा भएको युवा हुनुभयो। काममा पनि खट्नु भएको छ। सभापतिले त्यही भएर रोज्नुभयो होला,’ चौधरीले भनिन्। तर पार्टीभित्र पुरुषोत्तमको बढ्दो भूमिकाको अर्को राजनीतिक व्याख्या पनि छ—मधेसका वर्तमान सभापति तपेश्वर यादवलाई क्रमशः कमजोर बनाउँदै संगठनमा नयाँ नेतृत्व स्थापित गर्ने रणनीति।

तपेश्वर यादव अहिले मधेस प्रदेश सभापति तथा सांसद हुन्। पार्टीभित्रकै एक नेताले मधेसको संगठन सञ्चालनमा तपेश्वर असफल भएको आरोप लगाउँदै अब सभापति लामिछानेले पुरुषोत्तममार्फत संगठन अघि बढाउने तयारी गरेको दाबी गरे। ‘तपेश्वरबाट अब मधेसको संगठन चल्दैन भन्नेमा सभापति ढुक्क हुनुहुन्छ । त्यहाँको संगठनलाई अब पुरुषोत्तममार्फत सभापतिले अघि बढाउनु हुन्छ,’ ती नेताले भने।

रोचक संयोग के छ भने पुरुषोत्तम र तपेश्वर दुवै सिरहा–४ क्षेत्रका बासिन्दा हुन्। एउटै राजनीतिक भूगोलबाट आएका यी दुई नेताबीच रास्वपाको मधेस संगठनमा प्रभावको प्रतिस्पर्धा बढ्ने सम्भावनालाई पनि पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।

यादव समुदायको जनसांख्यिक प्रभाव र रास्वपाको मधेस रणनीति
पुरुषोत्तमलाई सहमहामन्त्री बनाइनुको अर्को राजनीतिक पक्ष मधेसको सामाजिक समीकरणसँग जोडिएको छ। २०७८ सालको जनगणनाअनुसार नेपालमा यादव समुदायको कुल जनसंख्या १२ लाख २८ हजार ५८१ छ। मधेस प्रदेशका विभिन्न जिल्लामा यादव समुदायको ठूलो जनसंख्या रहेको छ। मधेसको राजनीतिमा प्रभावशाली मानिने यही समुदायबाट पुरुषोत्तमलाई पार्टीको उच्च पदमा पु¥याइनुलाई रास्वपाका नेताहरूले अर्थपूर्ण मानेका छन्।

मधेसमा पार्टीको संगठन विस्तार, स्थानीय नेतृत्व निर्माण र आगामी निर्वाचनको तयारीका दृष्टिले पनि पुरुषोत्तमको भूमिका अब महत्वपूर्ण हुने देखिन्छ। सहमहामन्त्रीको जिम्मेवारी पाएसँगै उनले मधेस प्रदेश तथा जिल्लामा पार्टी नेतृत्व कसलाई दिने भन्ने विषयमा समेत छलफल थालेका छन्। मधेस प्रदेश समितिको अधिवेशन अझै हुन सकेको छैन। पर्साबाहेक अन्य जिल्लामा नयाँ कार्यसमिति चयन हुन बाँकी छ। पालिका तथा वडा तहमा समेत कतिपय स्थानमा विवादका कारण अधिवेशन हुन सकेको छैन।

यस्तो अवस्थामा संगठन पुनर्गठन र अधिवेशनको वातावरण निर्माण गर्ने जिम्मेवारी पनि पुरुषोत्तमको काँधमा आउने देखिएको छ। सभापति लामिछाने स्वयं मधेसका विभिन्न जिल्लामा पुगेर अधिवेशनको वातावरण बनाउने तयारीमा छन्। सहमहामन्त्रीको हैसियतमा पुरुषोत्तम पनि ती भ्रमणमा सभापतिसँगै रहने सम्भावना बढेको छ। यसले मधेसमा पार्टीको संगठन निर्माण र राजनीतिक सम्पर्कको केन्द्रमा उनको भूमिका अझ बलियो बनाउन सक्छ।

मधेस सभापतिको दौडमा पनि नयाँ नाम
रास्वपाभित्रको छलफल यतिमै सीमित छैन। एक नेताका अनुसार पुरुषोत्तमले मधेस प्रदेश सभापतिका लागि रामविनोद यादवलाई अघि सार्ने तयारी गरिरहेका छन्। रामविनोद धनुषा–२ का बासिन्दा हुन्।

यदि यो रणनीति अघि बढ्यो भने मधेसको संगठनमा वर्तमान नेतृत्वको प्रभाव घटाउँदै पुरुषोत्तम निकट समूहलाई संस्थागत गर्ने प्रयासका रूपमा यसलाई बुझिनेछ। यसले रास्वपाभित्र मधेसको नेतृत्व कसले गर्ने भन्ने प्रश्नलाई समेत नयाँ चरणमा प्रवेश गराएको छ। अहिलेसम्म मनिष झा, अमरेशकुमार सिंह, तपेश्वर यादवजस्ता फरक राजनीतिक पृष्ठभूमिका अनुहारसँग जोडिँदै आएको मधेसको नेतृत्व समीकरण अब पुरुषोत्तम यादवको उदयपछि फेरि पुनःव्यवस्थित हुने संकेत देखिएको छ।

आठ महिनामा सांसददेखि सहमहामन्त्रीसम्म
पुरुषोत्तमको राजनीतिक यात्राको गति आफैंमा असाधारण छ। रास्वपामा प्रवेश गरेको करिब आठ महिनामै उनी समानुपातिक सांसद बने, पार्टीको आन्तरिक शक्ति संरचनामा प्रभावशाली बने र अहिले सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

इन्जिनियरिङ अध्ययन गरेका पुरुषोत्तमले आमसञ्चार तथा पत्रकारितामा स्नातक गरेका छन्। उनले भारतबाट एमबीए गरेका छन्। प्राविधिक शिक्षा, सञ्चार पृष्ठभूमि र पछिल्लो समयको राजनीतिक सक्रियतालाई जोडेर पार्टी नेतृत्वले उनलाई मधेसको संगठनात्मक जिम्मेवारीका लागि अघि सारेको देखिन्छ।

तर उनको तीव्र राजनीतिक उकालोले रास्वपाभित्र प्रश्न पनि जन्माएको छ—के पुरुषोत्तमको उदय केवल व्यक्तिगत राजनीतिक क्षमता र सक्रियताको परिणाम हो, वा सभापति लामिछानेले मधेसमा आफ्नो प्रत्यक्ष प्रभाव विस्तार गर्न खोजेको योजनाको हिस्सा?

अहिलेको घटनाक्रमले दोस्रो सम्भावनालाई बलियो बनाएको पार्टीभित्रकै नेताहरूको विश्लेषण छ। समानुपातिक सूचीको क्रम परिवर्तनदेखि सांसद हुँदै सहमहामन्त्रीसम्मको यात्रा र त्यससँगै मधेस संगठनमा सक्रियता बढ्नुले पुरुषोत्तमलाई रास्वपाको मधेस रणनीतिको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने प्रयास भइरहेको संकेत गर्छ।

अब यसको वास्तविक परीक्षा भने मधेसको संगठन निर्माणमा हुनेछ। अधिवेशन हुन बाँकी प्रदेश र जिल्लाहरूमा नेतृत्व चयन, स्थानीय तहसम्म संगठन विस्तार, असन्तुष्ट समूह व्यवस्थापन र आगामी निर्वाचनमा पार्टीको उपस्थिति बलियो बनाउने चुनौती पुरुषोत्तमसामु हुनेछ।

सांसद बन्ने सूचीमा तेस्रोबाट पहिलो हुँदै पदाधिकारीको दोस्रो तहमा पुगेका पुरुषोत्तमका लागि अबको यात्रा भने पद पाउने होइन, मधेसमा रास्वपाको राजनीतिक आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट