जापानिज इन्सेफ्लाइटिसका कारण सप्तरीसहित तीन जिल्लामा १० जनाको मृत्यु
राजविराज — वर्षायामसँगै लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणले देशका विभिन्न जिल्लामा जोखिम बढाएको छ। सप्तरी, झापा र कैलालीमा मात्रै जेई संक्रमणबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा बालकदेखि वृद्धसम्म छन् भने झापा र सप्तरीमा संक्रमणका थप बिरामीसमेत भेटिएका छन्।
सप्तरीमा जेई संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य अधिकृत सतीश यादवले जानकारी दिए। दुवैको गत साउन २१ गते मृत्यु भएको थियो। यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको थियो।
सप्तरीमा मृत्यु भएका दुई जनाबाहेक थप तीन जनामा पनि जेई संक्रमण पुष्टि भएको छ। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनीहरू घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण देखिएपछि जिल्लामा परीक्षण तथा निगरानी बढाइएको छ।
यता झापामा जेई संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको पछिल्लो मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या बढेको हो। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार झापामा हालसम्म ११ जनामा संक्रमण पुष्टि भएको छ।
झापामा संक्रमण बढेपछि स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा जेई परीक्षण विस्तार गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीलाई अनुगमनमा परिचालन गरेको श्रेष्ठले बताए।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकामा जेई संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। घोडाघोडी–४ र ९ का ३४ र ७० वर्षीया दुई महिलाको उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए।
यसरी सप्तरीका दुई, झापाका छ र कैलालीका दुई गरी तीन जिल्लामा जेई संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको हो।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। स्वास्थ्य विज्ञहरूले सुँगुर तथा हाँस फार्म आसपासका क्षेत्रमा संक्रमणको जोखिम बढी हुनसक्ने बताएका छन्। वर्षायाममा लामखुट्टेको संख्या बढ्ने भएकाले जोखिम क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन स्वास्थ्य निकायहरूले आग्रह गरेका छन्।
संक्रमण देखिएका जिल्लामा परीक्षण, निगरानी र स्वास्थ्यकर्मी परिचालन बढाइए पनि तीन जिल्लामा भएको मानवीय क्षतिले जेई नियन्त्रणका लागि स्थानीय तहदेखि स्वास्थ्य संस्थासम्म थप प्रभावकारी रोकथाम र निगरानी आवश्यक देखाएको छ।

