संसद्मा बालेनले कालो चस्मा नखोल्ने, छाउनी अस्पतालबाट बनाए मेडिकल रिपोर्ट

काठमाडौँ— प्रधानमन्त्री बालेन्द्र साहले बुधबार प्रतिनिधिसभामा कालो चस्मा लगाएरै सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँने भएका छन्। संसद् बैठकमा स्वास्थ्यसम्बन्धी कारणबिना कालो चस्मा लगाएर उपस्थित नहुन सभामुखले दिएको निर्देशनपछि प्रधानमन्त्री साहले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट रिपोर्ट तयार पारेका हुन।

उनको आँखा परीक्षणको स्वास्थ्य रिपोर्टसहित संसद् सचिवालयमा औपचारिक जानकारी गराएका छन्। संसद् सचिवालयमा बुझाइएको स्वास्थ्य परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री साहलाई ‘ड्राई आई डिजिज’ अर्थात् आँखामा पर्याप्त आँसु नबन्ने वा आँखाको सतह सुख्खा हुने समस्या देखिएको छ। साथै चर्को तथा उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्या रहेकाले चिकित्सकले उज्यालो वातावरणमा कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्।

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गत साउन २२ गते आँखा रोग विशेषज्ञ लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री साहको आँखा परीक्षण गरेका थिए। परीक्षणपछि चिकित्सकले आँखाको सुरक्षाका लागि उज्यालो वातावरणमा अनिवार्य रूपमा कालो चस्मा प्रयोग गर्न तथा नियमित रूपमा ‘कार्बोक्सीमिथाइलसेलुलोज ०.५ प्रतिशत’ आई ड्रप प्रयोग गर्न चिकित्सकीय सल्लाह दिएका छन्।

प्रधानमन्त्री साहले सोही स्वास्थ्य परीक्षणको रिपोर्टसहित साउन २६ गते संसद् सचिवालयमा पत्र पठाएका हुन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय मर्यादा कायम राख्न प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने विषयमा सांसदहरूलाई सचेत गराएका थिए। स्वास्थ्यसम्बन्धी कारण भए त्यसको आधिकारिक प्रमाण पेस गर्नुपर्ने सभामुखको भनाइ थियो।

सभामुखको निर्देशनपछि प्रधानमन्त्री साहले चिकित्सकीय कारण देखाउँदै स्वास्थ्य परीक्षण रिपोर्ट पेस गरेका हुन्। त्यसैले बुधबारको प्रश्नोत्तर कार्यक्रममा उनी कालो चस्मामै संसद्को रोस्ट्रममा उपस्थित हुनेछन्।

प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले प्रत्यक्ष रूपमा प्रश्न गर्नेछन्।

प्रश्नोत्तरका लागि अहिलेसम्म ११ जना सांसदले प्रश्न दर्ता गराएका छन्। दर्ता भएका प्रश्नमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन, नेपाली कांग्रेसका दुई, नेकपा एमालेका दुई, नेकपाका दुई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका एक–एक सांसद छन्। प्रतिनिधिसभामा सिट संख्याका आधारमा रास्वपाका सात सांसदले प्रश्न गर्न पाउने भए पनि तीन जनाले मात्र प्रश्न दर्ता गराएको बताइएको छ।

यसरी स्वास्थ्य परीक्षणको रिपोर्ट संसद् सचिवालयमा बुझाएपछि प्रधानमन्त्री साहलाई बुधबारको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा चिकित्सकीय कारण देखाउँदै कालो चस्मा लगाएर सहभागी हुने बाटो खुलेको हो। अब सांसदका प्रश्नको सामना गर्ने क्रममा प्रधानमन्त्री साहको उपस्थिति कालो चस्मासहित हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट