ठगी मुद्दामा आफुविरुद्ध फैसला आएपछि वकिलद्वारा सर्वोच्च अदालत परिसरमै आत्महत्या प्रयास
काठमाडौँ— ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि अधिवक्ता लालबहादुर राईले मंगलबार सर्वोच्च अदालत परिसरबाट हामफालेर आत्महत्या प्रयास गरेका छन्। सुसाइड नोट लेखेर सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका राईलाई अदालतका सुरक्षाकर्मीले समयमै उद्धार गरी सकुशल बचाएका छन्।
सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाका अनुसार राई सकुशल छन्। उद्धारपछि उनलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार राईले आफू संलग्न ठगीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट फैसला आएपछि आत्महत्या प्रयास गरेका हुन्। उनले ‘सर्वोच्चले आफूलाई हराएको’ आशयको सुसाइड नोट लेखेको बताइएको छ।
राईको मुद्दामा सोमबार फैसला आएको थियो। फैसला आफ्नो प्रतिकूल आएपछि उनले मंगलबार अदालत परिसरमै आत्महत्या प्रयास गरेको प्रारम्भिक जानकारी छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले पनि घटनाबारे आफूले सोही विवरण सुनेको बताएका छन्।
यद्यपि, घटनाको विस्तृत विवरण र राईले लेखेको भनिएको सुसाइड नोटको आधिकारिक विषयवस्तु भने सार्वजनिक भइसकेको छैन।
सुरक्षाकर्मीले राईलाई अदालत भवनको पाँचौँ तल्लाबाट उद्धार गरेपछि थप सुरक्षा निगरानीमा राखिएको छ। घटनाको पृष्ठभूमि र आत्महत्या प्रयासको कारणबारे सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ।

