सिरहाको मिर्चैयामा दुईतले घरमा आगलागी हुँदा जलेर ३० वर्षीया महिलाको मृत्यु

लहान— सिरहाको मिर्चैया नगरपालिका–५ पुरानो बजारस्थित दुईतले पक्की घरमा मंगलबार आगलागी हुँदा करिब ३० वर्षीया विभा पूर्वेको मृत्यु भएको छ। रञ्जितकुमार महतोकी श्रीमती पूर्वेको शव आगलागीपछि घरभित्रै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब साढे ११ बजे महतोको घरमा आगलागी सुरु भएको थियो। स्थानीयले आगलागी भएको जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घरभित्र खोजतलास गर्ने क्रममा पूर्वेको शव फेला पारेको हो। आगलागीका कारण उनको शरीरको अधिकांश भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक बासुदेव पाठकको कमान्डमा थप टोली पनि घटनास्थल पुगेको थियो। आगलागीको कारण यकिन गर्न मिर्चैया सरकारी अस्पतालका चिकित्सक तथा विद्युत् प्राविधिकसमेतको टोलीले घटनास्थलको निरीक्षण गरेको प्रहरीले जनाएको छ।

प्रहरीले आगलागी विद्युत् सर्ट, अन्य प्राविधिक कारण वा अन्य कुनै कारणबाट भएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ। घटनाको कारण र आगलागीको क्रममा घरभित्रको अवस्था के थियो भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक पूर्वेको शव पोस्टमार्टमका लागि धरान पठाईएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण पोस्टमार्टम तथा प्राविधिक परीक्षण र अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट