रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन, २९१ विदेशी र ९३ नेपाली
काठमाडौँ— रसुवामा बुधबार आएको भीषण बाढीपछि ३ सय ८४ आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त र पुष्टि गरिएको विवरणका आधारमा २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटकको सम्पर्क टुटेको जनाएको छ।
पर्यटन बोर्डका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा रहेका पर्यटकबारे सम्बन्धित ट्राभल एजेन्सीहरूबाट विवरण संकलन गरिएको हो। प्राप्त तथ्यांकअनुसार सम्पर्कविहीन पर्यटकको संख्या झण्डै चार सय पुगेको छ।
बोर्डले ट्राभल एजेन्सी तथा अन्य सम्बन्धित पक्षसँग समन्वय गरी पर्यटकहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ। पर्यटकहरू कुन स्थानमा छन्, उनीहरूको अवस्था कस्तो छ र उद्धार आवश्यक छ कि छैन भन्नेबारे थप विवरण प्राप्त गर्ने प्रयास भइरहेको छ।
रसुवामा आएको बाढीले सडक तथा सञ्चार पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा रहेका नागरिक तथा पर्यटकसँग सम्पर्क स्थापित गर्नसमेत कठिनाइ भएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजीमा परिचालित छन्।
बाढीका कारण रसुवाका प्रमुख पर्यटकीय क्षेत्रतर्फको आवागमनसमेत प्रभावित भएको छ। सम्पर्कविहीन पर्यटकहरूको यकिन अवस्था पत्ता लगाएर आवश्यकताअनुसार उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।

