घरमै सुतिरहेकी ५६ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ
विराटनगर— तेह्रथुमको छथर गाउँपालिका–२ मा घरमै सुतिरहेकी ५६ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय लिलमबहादुर लिम्बुलाई पक्राउ गरेको छ।
गएराति (भदौ ९ गते राति) भएको भनिएको घटनाबारे सूचना पाएलगत्तै खटिएको प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले बलात्कार गरेको सूचना प्राप्त भएको थियो।
सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनापछि पीडित महिलाले भदौ ९ गते नै इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गराएको जनाएको छ।
स्वास्थ्य परीक्षणपछि लिम्बुलाई प्रहरी हिरासतमा राखिएको छ। उनीविरुद्ध परेको जाहेरीका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण तथा विवरण संकलन गरिरहेको जनाएको छ।

