गोसाइँकुण्ड जाँदै गरेको बस रसुवामा सम्पर्कविहीन, ३८ मध्ये ३४ तीर्थयात्रीको अवस्था अज्ञात
गोरखा — गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ तीर्थयात्री बोकेर गएको ग २ ख ११५२ नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बसमा सवार ३८ जनामध्ये ३४ जनासँग सम्पर्क हुन सकेको छैन भने चार जना बसबाट हाम फालेर ज्यान जोगाउँदै सम्पर्कमा आएका छन्।
रसुवामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका बीच बस सम्पर्कविहीन भएपछि तीर्थयात्रीहरूको अवस्थाबारे गम्भीर चिन्ता बढेको छ। प्रहरीका अनुसार बस पालुङटार नगरपालिका–४ र ५ का स्थानीय तीर्थयात्री लिएर गोसाइँकुण्डतर्फ गएको थियो। बससँगै दुईवटा माइक्रोबस पनि तीर्थयात्री लिएर गएका थिए।
ती दुवै माइक्रो भने सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। ती माइक्रोमा गरी २६ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। तीमध्ये चार जना बाढीको जोखिमका बेला बसबाट हाम फालेर बाहिर निस्किएपछि सम्पर्कमा आएका हुन्।
‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ डीएसपी श्रेष्ठले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’ पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डेका अनुसार स्थानीयहरू दुईवटा माइक्रोबस र एउटा बसमा गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए। बस रसुवाको दोभान आसपासबाट सम्पर्कविहीन भएको जानकारी आएको उनले बताए।
‘रसुवाको दोभान भन्ने ठाउँ आसपासबाट सम्पर्कविहीन बनेको भन्ने छ,’ पाण्डेले भने, ‘बाढी आएपछि बसबाट ७ जना हाम फालेर बाँच्यौं भन्दै सम्पर्कमा आएका छन् । अरु के कति थिए, बुझ्दै छौँ।’
बसमा सवार यात्रुको संख्याबारे प्रारम्भिक सूचनामा केही फरक विवरण आए पनि प्रहरीले पछिल्लो विवरणमा ३८ जना यात्रु रहेको र ३४ जना सम्पर्कविहीन रहेको जनाएको छ। स्थानीय तह र प्रहरीबाट यात्रुहरूको यकिन विवरण तथा उनीहरूको अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।
रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले तटीय क्षेत्रका बस्ती, सडक, पुल तथा सुरक्षा निकायका संरचनासमेत प्रभावित पारेको छ। बाढी धादिङको गल्छी हुँदै गजुरी र मलेखुसम्म पुगेको तथा नदी किनारका क्षेत्रमा थप जोखिम रहेको प्रशासनले जनाएको छ।
यही बाढीका कारण रसुवाबाट बाहिरिने सडक तथा नदी आसपासको आवागमनसमेत प्रभावित भएको छ। यस्तो अवस्थामा गोसाइँकुण्डतर्फ गएका तीर्थयात्री बोकेको बस सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले समन्वय गरिरहेको छ।
बसमा रहेका यात्रुहरूका आफन्त तथा स्थानीयले सम्पर्कविहीन यात्रुको अवस्थाबारे जानकारी पर्खिरहेका छन्। फोन सम्पर्क स्थापित हुन नसक्दा बस कहाँ र कुन अवस्थामा छ भन्ने यकिन हुन सकेको छैन।

