रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ८ पुग्यो, ३५ प्रहरी सम्पर्कविहीन, १२ जनाको उद्धार

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भोटेकोशीको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ भने रसुवाका तीन प्रहरी इकाइमा कार्यरत ३५ प्रहरी अझै सम्पर्कविहीन छन् । बाढीको बहाव धादिङ र नुवाकोटसम्म पुगेपछि विभिन्न स्थानबाट आठ शव फेला परेका छन् भने नेपाली सेनाले रसुवाका स्याफ्रुबेँसी, मैलुङ र धुन्चेबाट १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार धादिङको बैरेनीमा एक, गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका छन् । नुवाकोटमा पनि चार शव भेटिएको उनले जानकारी दिएका छन् । यससँगै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

यसअघि बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले नुवाकोट र धादिङमा सात शव फेला परेको जानकारी दिएका थिए । उनका अनुसार नुवाकोटको नदी किनारमा तीन र धादिङमा चार शव भेटिएका थिए । पछिल्लो विवरणमा नुवाकोटमा थप एक शव फेला परेपछि मृतकको संख्या आठ पुगेको प्रहरीले जनाएको छ ।

बाढीमा अझै केही व्यक्ति बेपत्ता भएको सूचना प्राप्त भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार, फेला परेका शवको संकलन तथा बेपत्ताको खोजी एकसाथ अघि बढाइएको छ ।

तीन प्रहरी इकाइ बाढीले बगायो, ३५ प्रहरी सम्पर्कविहीन
बाढीका कारण रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेँसी प्रभावित भएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरणअनुसार तीनवटै प्रहरी इकाइ सम्पर्कविहीन बनेका थिए भने इलाका प्रहरी कार्यालय टिमुरे बाढीले बगाएको छ ।

टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन् । त्यहाँका १३ प्रहरी अझै सम्पर्कबाहिर छन् । त्यस्तै, रसुवागढी प्रहरी चौकीमा कार्यरत नौ जनामध्ये एक जना मात्र सम्पर्कमा आएका छन् । बाँकी आठ जना सम्पर्कविहीन छन् । स्याफ्रुबेँसीमा कार्यरत नौमध्ये चार जना सम्पर्कमा आएका छन् भने पाँच जना सम्पर्कबाहिर छन् ।

यसरी तीनवटै प्रहरी इकाइका गरी ३५ जना प्रहरी अझै सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीको अवस्थाबारे जानकारी तथा उद्धारका लागि बागमती प्रदेश प्रहरी गुल्म हेटौंडाबाट एसएसपी पुरुषोत्तम सुवेदीको कमान्डमा १५ जनाको टोली बिहान १०ः५५ बजे रसुवातर्फ परिचालन गरिएको छ ।

सेनाका १२ हेलिकोप्टर उद्धारमा
बाढी प्रभावित रसुवामा नेपाली सेनाले उद्धार अभियानलाई तीव्र बनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सेनाले स्याफ्रुबेँसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार गरी १२ जनाको हेलिकोप्टरबाट उद्धार गरेको छ । उद्धारका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा पनि सञ्चालन गरिरहेको नेपाली सेनाले जनाएको छ ।

भन्सारका कर्मचारी पनि सम्पर्कविहीन
भोटेकोशी बाढीले रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई समेत प्रभावित बनाएको छ । कार्यालयका अनुसार ३६ स्थायी दरबन्दीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् ।

करार तथा ज्यालादारीतर्फ कार्यरत चार जनामध्ये एक जना सम्पर्कमा आएका छन् । बाँकी ११ स्थायी र तीन करार तथा ज्यालादारी कर्मचारी गरी १४ जना सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ ।

तर, भन्सार प्रमुख ढुंगानाले भने आफू बाँकी कर्मचारीसहित टिमुरे बजारभन्दा माथिको डाँडामा उद्धारको प्रतीक्षामा रहेको र पाँच कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको बताएका छन् । कर्मचारीको संख्याबारे प्राप्त विवरणमा केही फरक देखिए पनि सम्पर्कविहीनहरूको खोजी जारी रहेको छ ।

बाढीले रसुवागढी भन्सार कार्यालयको भौतिक संरचनासँगै भन्सार यार्डमा रहेका ठूलो संख्याका सवारीसाधनसमेत बगाएको छ । भन्सार प्रमुख ढुंगानाका अनुसार चेकजाँचका लागि यार्डमा राखिएका विद्युतीय गाडी, ढुवानी ट्रक तथा अन्य गरी ३०० भन्दा बढी सवारीसाधन बाढीले बगाएको प्रारम्भिक जानकारी छ ।

‘भन्सार चेकजाँचका क्रममा रहेका गाडी पनि बगेका छन् । तर तिनको यकिन तथ्यांक आइसकेको छैन,’ ढुंगानाले भने । अर्थ मन्त्रालयले भने भन्सार कार्यालयमा भएको क्षतिको पूर्ण विवरण अझै प्राप्त नभएको जनाएको छ । बाढीका कारण कार्यालयमा रहेका अन्य सामग्री तथा संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

तल्लो तटीय क्षेत्रमा जोखिम कायमै
रसुवाबाट सुरु भएको बाढीको प्रभाव धादिङ र नुवाकोटसम्म फैलिएको छ । धादिङको गल्छी गाउँपालिका–२ मलेखु क्षेत्रमा बाढीको बहाव पुगेको छ भने नुवाकोटको त्रिशूली बजारमा पानीको सतह बढेको प्रहरीले जनाएको छ । नुवाकोट कारागारमा समेत पानी पसेको छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत महेशखोलामा डुबान भएको छ । नदीको बहाव बढ्दै गएपछि त्रिशूली आसपासका तल्लो तटीय बस्तीमा जोखिम कायम रहेको सुरक्षा निकायले जनाएको छ ।

बाढीको प्रारम्भिक क्षति, बेपत्ता तथा उद्धारको विवरण अझै संकलनकै क्रममा रहेकाले मृतक तथा प्रभावितको संख्या थप बढ्न सक्ने सम्भावना रहेको छ । सुरक्षा निकायले खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट