प्रधानमन्त्रीलाई ‘सिध्याइदिने’ धम्की दिने कुलमान घिसिङका कार्यकर्ता पक्राउ

काठमाडौँ– प्रधानमन्त्री बालेन साहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले २३ वर्षीय पुस्कर दहाललाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको छ।

झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका दहालले इन्स्टाग्राममा प्रधानमन्त्री साहलाई ‘२३ भदौमा सिध्याइदिने’ भन्दै स्टाटस लेख्नुका साथै प्रहरीलाई समेत ट्याग र गाली गरेको प्रहरीको भनाइ छ।

दहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री साहलाई लक्षित गर्दै ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका थिए। उक्त पोस्टमा उनले प्रहरीलाई समेत गाली गर्दै प्रहरीलाई ट्याग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध छन्। उनको पार्टीगत आबद्धता र सामाजिक सञ्जालमा गरिएको धम्कीपूर्ण अभिव्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

दहालले सार्वजनिक गरेको भनिएको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। अब साइबर ब्यूरोले सामाजिक सञ्जाल पोस्टको प्रकृति, उद्देश्य, त्यसको प्रसार तथा धम्की कार्यान्वयनको कुनै योजना वा तयारी भए–नभएको लगायतका विषयमा अनुसन्धान गर्नेछ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट