श्रीमान् ‘हराए’ भन्दै प्रहरीमा पुगिन्, अनुसन्धानले खोल्यो डरलाग्दो रहस्यः प्रेमीसँग मिलेर श्रीमतीले नै गराईछिन हत्या

काठमाडौँ– साउन २२ गते साँझ यमुना सुनार इलाका प्रहरी कार्यालय लम्कीमा पुग्दा उनको अनुहारमा श्रीमान् हराएको चिन्ता थियो। ३४ वर्षीय दीपक सुनारको खोजी गरिदिन भन्दै उनले प्रहरीमा निवेदन दिइन्। तर, त्यसको केही घण्टाअघि नै अमरावतीको जंगलमा रगतले भिजेका सामान भेटिइसकेका थिए। प्रहरीको अनुसन्धान अगाडि बढ्दै जाँदा हराएको भनिएका दीपकको खोजी मात्र भएन, आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर उनको हत्या गराएको आशंकाले घटनाको रहस्य खोल्दै लग्यो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दीपककी श्रीमती २९ वर्षीया यमुना सुनारले प्रेमी भनिएका दुर्योधन सुवर्णकारसहित अन्य व्यक्तिको सहयोगमा श्रीमानको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यमुनासहित पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० चुहाका ३६ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी नगरपालिका–८ का ३८ वर्षीय बीरेन्द्र राना र ३२ वर्षीय भीम राना छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई सामान्य बेपत्ता प्रकरणभन्दा निकै फरक मोडमा पु¥याएको छ। श्रीमान् हराएको भन्दै प्रहरीमा निवेदन दिने यमुनाकै भूमिकामाथि अनुसन्धान केन्द्रित भएपछि घटनाको पृष्ठभूमि, होटलमा भएको भेटघाट, जंगलसम्मको यात्रा र त्यसपछि शव लुकाइएको घटनाक्रम एकपछि अर्को खुल्दै गएको प्रहरीले जनाएको छ।

साउन २२ गते यमुनाले इलाका प्रहरी कार्यालय लम्कीमा दीपक हराएको भन्दै निवेदन दिएकी थिइन्। उनको घर लम्कीचुहा क्षेत्रमा भए पनि घटना अमरावती इलाका प्रहरी कार्यालय टीकापुरको कार्यक्षेत्रमा पर्ने भएकाले उनलाई टीकापुर पठाइएको थियो।

त्यसपछि साँझ करिब ५ बजे यमुना इलाका प्रहरी कार्यालय टीकापुर पुगेकी थिइन्। तर, उनी प्रहरीकहाँ पुग्नुअघि नै घटनाले अर्को संकेत दिइसकेको थियो। सोही दिन दिउँसो करिब २ बजे अमरावती प्रहरी चौकीलाई स्थानीय जंगलमा रगतसहित केही शंकास्पद सामग्री भेटिएको सूचना आएको थियो। प्रहरी घटनास्थल पुग्दा त्यहाँ मासुको चोक्टा, दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र जेब्रा झोलाको तुना फेला परेका थिए।

त्यतिबेला ती सामग्री कसका हुन् र जंगलमा कसरी पुगे भन्ने खुलेको थिएन। रगतसमेत मानिसकै हो कि होइन भन्ने यकिन भइसकेको थिएन। पछि गरिएको फरेन्सिक परीक्षणले घटनास्थलमा भेटिएको रगत मानिसको भएको पुष्टि गरेपछि अनुसन्धानले गम्भीर मोड लिएको प्रहरीले जनाएको छ। त्यसपछि हराएका दीपक र जंगलमा भेटिएका सामग्रीबीच सम्बन्ध खोज्न थालिएको थियो।

यही अनुसन्धानले अन्ततः श्रीमान् हराएको भन्दै प्रहरी कार्यालयमा पुगेकी यमुनालाई नै घटनाको मुख्य योजनाकारमध्ये एकका रूपमा अनुसन्धानको दायरामा ल्याएको हो। प्रहरीका अनुसार घटनाको अघिल्लो दिन अर्थात् साउन २१ गते आरोपितहरूबीच भेटघाट र आवतजावत भएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार सो दिन दिउँसो यमुना र उनका प्रेमी दुर्योधन सुवर्णकार टीकापुरस्थित एउटा होटलमा पुगेका थिए। केही समय होटलमा बसेपछि यमुना जानकी गाउँपालिकास्थित आफ्नो घर फर्किइन्। यता घटनामा संलग्न भनिएका अन्य चार जना टीकापुरकै अर्को होटलमा खाजा–नास्ता गरेर बसेका थिए।

राति करिब १० बजे उनीहरू अमरावती पुगे। त्यहाँ पुगेको जानकारी यमुनालाई गराएपछि उनले श्रीमान् दीपकलाई स्कुटीमा राखेर जंगलतर्फ लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। त्यसपछि घटनाले हिंसात्मक रूप लिएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूले दिएको प्रारम्भिक बयानअनुसार जंगल पुगेपछि दीपकमाथि हतियार प्रहार गरी हत्या गरिएको थियो। हत्या गरेपछि शव कर्णाली नदीमा फालिएको उनीहरूको बयानबाट खुलेको प्रहरीले जनाएको छ।

दीपकको शव भने अहिलेसम्म फेला परेको विवरण सार्वजनिक भएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले दीपकको हत्या योजनाबद्ध रूपमा गरिएको संकेत गरेको छ। यमुना र उनका प्रेमी सुवर्णकारले अन्य व्यक्तिलाई पैसा दिने सहमतिमा दीपकको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर, हत्या गर्न कति रकम दिने सहमति भएको थियो भन्ने यकिन भइसकेको छैन।

यही आर्थिक लेनदेन र हत्याको वास्तविक उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले हत्या गर्नुअघि र पछि विभिन्न स्थानमा आवतजावत गरेका थिए। श्रीमान् हराएको निवेदनका आधारमा अनुसन्धान अघि बढाउँदा आरोपितहरू काठमाडौंसहित विभिन्न ठाउँमा पुगेको समेत खुलेको प्रहरीको भनाइ छ।

यमुना १० वर्षीया छोरी र ८ वर्षीय छोराकी आमा हुन्। प्रहरीले उनलाई अमरावतीस्थित घरबाट पक्राउ गरेको जनाएको छ। उनका प्रेमी भनिएका सुवर्णकारलाई धनगढीबाट पक्राउ गरिएको थियो। कञ्चनपुरको बेलौरी नगरपालिका–८ घर भएका बीरेन्द्र राना र भीम रानालाई प्रहरीले बेलौरीबाट पक्राउ गरेको जनाएको छ। रामराजेश महतोलाई पनि घटनामा संलग्नताको आरोपमा नियन्त्रणमा लिइएको छ।

प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी घटनाको कडी जोडेको जनाएको छ। घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको टोली परिचालन गरिएको थियो। अनुसन्धानको सबैभन्दा महत्वपूर्ण कडी भनेकै यमुनाले दिएको ‘श्रीमान् हराएको’ निवेदन र त्यसअघि नै जंगलमा भेटिएको रगत तथा सामग्रीबीचको सम्बन्ध बनेको देखिन्छ।

एकातिर परिवारबाट श्रीमान् हराएको सूचना प्रहरीसम्म पुगेको थियो। अर्कोतर्फ केही घण्टाअघि जंगलमा रगत, चप्पल, हेल्मेट, कपडासँग सम्बन्धित सामग्री र अन्य शंकास्पद वस्तु भेटिएका थिए। फरेन्सिक परीक्षणबाट रगत मानिसको भएको पुष्टि भएपछि प्रहरीले सम्भावित पीडितको पहिचान र घटनास्थलको सम्बन्ध खोज्न थाल्यो। अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा दीपक बेपत्ता भएको घटना र जंगलमा भेटिएका सामग्रीबीच सम्बन्ध स्थापित भएको प्रहरीले जनाएको छ।

त्यसपछि आरोपितहरूको गतिविधि, उनीहरूबीचको सम्पर्क र घटनाअघिको भेटघाटबारे अनुसन्धान गरिएको थियो। प्रहरीका अनुसार त्यस क्रममा होटलमा भएको भेटदेखि अमरावतीको जंगलसम्म पुगेको घटनाक्रम र शव कर्णाली नदीमा फालिएको भनिएको विवरण खुलेको हो।

प्रहरीले अहिले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान गरिरहेको छ। हत्या गर्नुको वास्तविक कारण, सुपारीको रकम, घटनामा प्रत्येक व्यक्तिको भूमिका तथा शवको अवस्थाबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट