भोटेकोशीको भेल, सप्तरीका ३ परिवारमा सन्नाटाः एकै परिवारका तीन दाजुभाइसहित ६ जना बेपत्ता

राजविराज— रसुवामा बुधबार बिहान आएको भोटेकोशी बाढीपछि सप्तरीका मात्रै ६ युवा सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा चार इन्जिनियरसहित एक ओभरसियर र एक सुपरभाइजर छन्। उनीहरूमध्ये एउटै परिवारका तीन दाजुभाइसमेत छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँका २८ वर्षीय दिलीपकुमार मण्डल र ३२ वर्षीय मनीष मण्डल रसुवामा हाइड्रोपावर आयोजनामा कार्यरत थिए। बाढीपछि दुवै परिवारको सम्पर्कमा नआएको स्थानीय वडाध्यक्ष कमल मण्डलले जानकारी दिए।

वडाध्यक्ष मण्डलका अनुसार परिवारजनले दुवै युवासँग सम्पर्कको प्रयास गरिरहेका छन्। तर फोन सम्पर्क हुन सकेको छैन। उनीहरूको अवस्थाबारे जानकारी प्राप्त नभएपछि खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

त्यस्तै, विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका करिब ३३ वर्षीय इन्जिनियर अजयकुमार यादव पनि बाढीपछि सम्पर्कविहीन छन्। उनी रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटारस्थित नीकण्ठ माध्यमिक विद्यालयमा कार्यरत थिए।

अजयका भाइ श्यामसुन्दर यादवले बुधबार बिहानदेखि दाजुसँग सम्पर्क हुन नसकेको बताएका छन्। उनका अनुसार अजयसँग परिवारको अन्तिम सम्पर्क कहिले भयो भन्नेबारे परिवारले विभिन्न माध्यमबाट खोजी गरिरहेको छ। उनले अजयको अवस्था पत्ता लगाई तत्काल खोजी तथा उद्धार गरिदिन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

एउटै परिवारका तीन दाजुभाइ बेपत्ता
भोटेकोशी बाढीपछि बोदेबरसाइन नगरपालिका–८ काचनटोलका एकै परिवारका तीन दाजुभाइ पनि सम्पर्कविहीन छन्। ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचित यादव रसुवास्थित एक हाइड्रोपावर आयोजनामा कार्यरत थिए। बाढीपछि उनीहरू तीनै जनासँग परिवारको सम्पर्क टुटेको हो।

परिवारका अनुसार तीनमध्ये देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए। उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएको खबर पाएपछि तीनै छोरालाई पटक–पटक फोन गरे पनि सम्पर्क हुन सकेन।

‘बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन,’ लालबहादुरले भने, ‘बाढीपछि धेरैपटक फोन गर्दा पनि सम्पर्क भएको छैन।’ उनले तीनै छोराको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धार गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यसरी भोटेकोशी बाढीपछि सप्तरीका विभिन्न स्थानीय तहका ६ युवा एकैपटक सम्पर्कविहीन भएका छन्। उनीहरू रोजगारी तथा पेशाका क्रममा रसुवामा पुगेका थिए। जलविद्युत् आयोजना तथा अन्य संरचनामा कार्यरत उनीहरू बाढीको चपेटामा परेपछि परिवारजनले उनीहरूको अवस्थाबारे जानकारी पाउन सकेका छैनन्।

सम्पर्कविहीन भनिएका सबै ६ जनाको अवस्था भने हालसम्म यकिन भएको छैन। उनीहरू जीवित वा मृत रहेकोबारे पनि सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भइसकेको छैन। बाढीपछि रसुवामा ठूलो जनधनको क्षति भएको छ। विभिन्न स्थानमा सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

सप्तरीबाट रसुवा पुगेका यी ६ युवाको अवस्था पत्ता लगाउन परिवार तथा आफन्तले तत्काल खोजी अभियान तीव्र पार्न आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट