बाढीको पाँचौँ दिन बल्ल त्रिशूली–३ ए टनेलको प्रवेशद्वार खोज्दै उद्धार टोली

काठमाडौँ— रसुवामा बाढी आएको पाँचौँ दिनसम्म पनि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलमा पुग्ने प्रवेशद्वार यकिन हुन नसकेपछि नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले आईतबारदेखि त्यसको खोजी र उत्खनन तीव्र बनाएको छ।

नेपाली सेनाका अनुसार विशेषज्ञसहित ९३ जनाको टोली अहिले ड्रिलिङ मेसिन, एक्स्काभेटर र हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरेर टनेलको प्रवेशद्वार पत्ता लगाउने काममा जुटेको छ।

नेपाली सेनाले भदौ १२ गतेदेखि उद्धारका लागि अस्थायी रूपमा खटाएको संयुक्त टोलीले टनेल क्षेत्रमा काम गरिरहेको जनाएको छ। बाढीको बहाव बढेपछि केही समय रोकिएको उत्खनन तथा खोजी कार्य अहिले पुनः सुरु गरिएको हो।

टनेलको प्रवेशद्वार पत्ता लगाउन नेपाली सेनाको टोलीसँगै विशेषज्ञहरू परिचालन गरिएको छ। उद्धारका लागि आवश्यक उपकरणसहित टोलीले सम्भावित स्थानमा ड्रिलिङ तथा उत्खनन गरिरहेको सेनाले जनाएको छ।

उद्धार कार्यमा भारतीय र चिनियाँ टोलीसमेत परिचालन भएका छन्। उनीहरूले पनि टनेलको उत्खनन तथा प्रवेशद्वार पत्ता लगाउने काममा प्राविधिक सहयोग गरिरहेका छन्।

बाढी र त्यसपछिको पहिरोका कारण टनेल आसपासको भू–भागमा ठूलो क्षति पुगेको तथा बाढीको बहावका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको बताइएको छ। बहावको अवस्था हेरेर काम रोक्ने र पुनः सुरु गर्ने क्रम चलिरहेको सेनाले जनाएको छ।

यसअघि उद्धारका लागि खटिएको संयुक्त टोलीले सम्भावित जोखिमको मूल्यांकन गर्दै टनेलसम्म पुग्ने मार्ग र प्रवेशद्वार पहिचान गर्ने प्रयास गर्दै आएको थियो। अहिले भने थप जनशक्ति, विशेषज्ञ र भारी उपकरण प्रयोग गरेर उत्खननलाई अघि बढाइएको छ।

टनेलभित्र कोही फसेको हुनसक्ने आशंकामा उद्धार प्रयास भइरहेको भए पनि हालसम्म त्यहाँ रहेका व्यक्तिको अवस्था वा टनेलभित्र पहुँच स्थापित भएकोबारे नेपाली सेनाले पुष्टि गरेको छैन। प्रवेशद्वार पत्ता लागेपछि मात्रै टनेलभित्रको वास्तविक अवस्था यकिन हुने र त्यसअनुसार उद्धार प्रक्रिया अघि बढ्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट