धार्मिक मेलाको विवादले ग्याङ बोलाएर हत्या, घटनामा संलग्न आरोपमा ११ जना पक्राउ
गाईघाट– खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका शिक्षक भानुभक्त राईको सालपा पोखरीमा कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। ऋषितर्पणी पूर्णिमाको अवसरमा लागेको धार्मिक मेलामा बिहीबार दिउँसो भएको विवादपछि राति कुटपिट भएको र त्यसै क्रममा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त घट्नामा सुङ्देलका ११ जना पक्राउ परेको प्रहरीले जनाएको छ। राई केपिलासगढी–७ स्थित सूर्य माध्यमिक विद्यालयमा राहत कोटाअन्तर्गत निम्न माध्यमिक तहमा अध्यापनरत थिए। मेलामा सहभागी हुन सालपा पोखरी पुगेका उनको कुटपिटबाट मृत्यु भएपछि घटनाको अनुसन्धान भोजपुर प्रहरीले अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी ज्ञानबहादुर खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा राईमाथि कुटपिटमा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको व्यक्तिगत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।
घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले अनुसन्धानको प्रारम्भिक विवरण संकलनमै कठिनाइ भएको प्रहरीले जनाएको छ। घटनास्थलसम्म पैदल पुग्नुपर्ने र त्यहाँ टेलिफोन नेटवर्कसमेत उपलब्ध नभएकाले प्रहरी टोली फर्किएपछि घटनाको विस्तृत विवरण खुल्ने खड्काले बताए।
‘घटनास्थलसम्म पैदल जानुपर्छ। त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन। घटनाका विषयमा थप विवरण आउन बाँकी छ,’ खड्काले भने, ‘प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ। घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप विवरण खुल्छ।’
उनका अनुसार आरोपितसहित घटनास्थल गएको प्रहरी टोली शनिबार बेलुकासम्म जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने अनुमान गरिएको छ। त्यसपछि घटनाको प्रकृति, कुटपिटमा संलग्न व्यक्तिको भूमिका र घटनाक्रमबारे थप अनुसन्धान अघि बढाइनेछ।
राई ऋषितर्पणी पूर्णिमाका अवसरमा लगातार तीन दिन विद्यालय बिदा भएपछि संखुवासभातर्फ जाने भन्दै बिहीबार गाउँबाट हिँडेका थिए। सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार संखुवासभाबाट फर्किएपछि उनी सालपा पोखरी पुगेका थिए। त्यहाँ बिहीबार राति गाउँलेहरूसँगै बास बसेको जानकारी विद्यालयले पाएको छ।
घटनाको सुरुवात भने बिहीबार दिउँसो सालपा पोखरी आसपास लागेको धार्मिक मेलाबाट भएको प्रत्यक्षदर्शीको भनाइ छ। मेलामा सुङ्देलकै ‘माइकल’ भनिने निशान राईसँग भानुभक्तको विवाद भएको बताइएको छ।
दिउँसो भएको विवादकै कारण राति गाउँलेहरूलाई उठाएर योजनाबद्ध रूपमा राईमाथि सामूहिक कुटपिट गरिएको र त्यसबाट उनको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। प्रहरीले भने यस आरोपको पुष्टि हुने गरी अनुसन्धानको अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन।
प्रहरीले राईको मृत्यु सामूहिक कुटपिटबाट भएको प्रारम्भिक विवरणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटना भएको सालपा पोखरी क्षेत्र भोजपुर जिल्लाभित्र पर्ने भएकाले अनुसन्धान, अभियोजन तथा कानुनी कारबाहीको प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले अघि बढाउनेछ। खोटाङतर्फबाट आवश्यक सहयोग र समन्वय गर्नुपर्ने अवस्था आए सहयोग उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।

