५ दिनदेखि सुरुङभित्र ८९८ को सास अड्किएको छ, सरकार भने उद्धारको प्रचारमै व्यस्त, विदेशी टोली पनि अलमलमा
काठमाडौँ– रसुवा बाढी आएको चार दिन बितिसक्दा पनि जलविद्युत आयोजनाका सुरुङमा फसेका सयौँ कामदार तथा कर्मचारीको गम्भीर उद्धार अभियान सुरु हुन सकेको छैन। उद्धारको केन्द्रीय समन्वय गर्नुपर्ने गृह मन्त्रालय र सरकारी संयन्त्रले आवश्यक जनशक्ति, विशेषज्ञता तथा उपकरण जुटाउन नसक्दा माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, लाङटाङ र चिलिमेलगायत आयोजनाका सुरुङमा फसेकाहरू अझै उद्धारको प्रतीक्षामा छन्।
विपद्को अवस्था बुझ्न र उद्धारको नेतृत्व गर्नुपर्ने गृहमन्त्री सुदन गुरुङ शुक्रबार माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङसम्म पुगे पनि त्यहाँ सुरुङ पत्ता लगाउन करिब २० फिट खन्नेबाहेक फसेका मानिससम्म पुग्ने गरी उद्धार अघि बढ्न सकेको छैन। गृहमन्त्रीको स्थलगत उपस्थितिलाई सरकारले उद्धारमा सक्रियताको सन्देशका रूपमा प्रवाह गरे पनि आयोजनाहरूले भने वास्तविक उद्धार अझै सुरु नभएको बताएका छन्।
निजी विद्युत उत्पादकहरूको संस्था इप्पानका अनुसार रसुवा बाढीपछि ११ जलविद्युत आयोजनामा ८९८ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ का मात्रै ५७६ जना छन्। इप्पानले माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ का सुरुङमा करिब ३०० जना फसेको जनाएको छ।
हालसम्म विभिन्न आयोजनाबाट ३६१ जनाको जीवित उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ बाट २५४, लाङटाङबाट १८ र माथिल्लो त्रिशूली–३ ‘बी’ बाट ९१ जनाको उद्धार भएको इप्पानको विवरण छ। तर, सम्पर्कविहीनमध्ये सुरुङभित्र रहेका मानिसको उद्धार भने सबैभन्दा जटिल बनेको छ।
त्रिशूली–१ मा करिब ४ सय जना फसेको अनुमान
त्रिशूली करिडोरको निर्माणाधीन ठूलो आयोजना अपर त्रिशूली–१ मा करिब ६ सय जना अझै सम्पर्कमा नआएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताए। तीमध्ये करिब ४ सय जना सुरुङभित्र फसेको हुनसक्ने उनको अनुमान छ।
अधिकारीका अनुसार सतहमा ज्यान जोगाउन सफल भएकामध्ये २६० जनाको उद्धार भइसकेको छ। उद्धार गरिएकामध्ये १० जना कोरियाली नागरिकसमेत छन्। तर सुरुङभित्र रहेका कामदारसम्म पुग्ने अभियान भने सुरु हुन सकेको छैन। ‘आजबाट काम सुरु होला भन्ने अपेक्षामा छौं,’ अधिकारीले भने।
उद्धारमा सहयोग गर्न चीनबाट ६ सदस्यीय सुरुङ विज्ञ टोली नेपाल आइपुगेको छ। आयोजनाको सिभिल निर्माणको जिम्मा चाइना रेलवेले लिएको र सोही कम्पनीसँगको समन्वयमा चिनियाँ विशेषज्ञ आएको अधिकारीले बताए। उनका अनुसार करिब ४ सय जना सुरुङ तथा हेडवक्र्स क्षेत्रमा फसेको अनुमान छ। त्यसमध्ये करिब ३०० जना सुरुङभित्र र १०० जना हेडवक्र्समा काम गरिरहेका थिए।
त्रिशूली–३ ‘ए’ मा ४२ जना फसेको अनुमान
नेपाल विद्युत प्राधिकरणको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको भूमिगत विद्युतगृहमा पनि ४२ जना कर्मचारी फसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार आयोजनाको हेडरेस वा टेलरेस टनेलबाट तत्काल प्रवेश सम्भव देखिएको छैन। दुईवटा एक्सेस टनेलसमेत बाढी तथा पहिरोका कारण पुरिएका छन्।
ती एक्सेस टनेल पत्ता लगाएर सुरुङभित्र प्रवेश गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए। त्यसका लागि दुईवटा एक्स्काभेटर तथा अन्य उपकरण प्रयोग भइरहेका छन्। ‘आयोजनाको हेडरेस वा टेलरेस टनेल भेटेर भित्र छिर्नु तत्काललाई सम्भव देखिएन। त्यसबाहेक दुईवटा एक्सेस टनेल रहेकोमा ती दुवै पुरिएका छन्,’ तिम्सिनाले भने, ‘त्यो टनेल पत्ता लगाएर त्यहाँबाट भित्र छिर्ने लक्ष्यका साथ काम सुरु भएको छ, तर अझै पनि खोलिसकेको अवस्था छैन।’
आयोजना सञ्चालनमै रहे पनि अहिले बन्द गरेर समग्र मर्मतसम्भार अर्थात् ओभरहलिङको काम भइरहेको थियो। त्यसक्रममा उच्च प्राविधिक जनशक्ति सुरुङभित्र रहेकाले ४२ जना कर्मचारी फसेको अनुमान गरिएको तिम्सिनाले बताए।
प्राधिकरणले आवश्यक सामग्री र जनशक्ति उपलब्ध गराएको तथा नेपाली सेनाले समेत उद्धारमा काम गरिरहेको जनाएको छ। तर अधिकांश सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा लैजानुपर्ने भएकाले थप उपकरण पु¥याउन समस्या भइरहेको तिम्सिनाको भनाइ छ।
लाङटाङमा चार दिनदेखि एउटै आग्रह
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा करिब २५ जना फसेको अनुमान गरिएको छ। आयोजना प्रवर्धक विजयमान भट्टराईका अनुसार आयोजनामा कार्यरत ६० जनामध्ये १९ जनाको उद्धार भइसके पनि सुरुङभित्र रहेका मानिससम्म पुग्ने प्रयास सुरु हुन सकेको छैन।
बाहिर निस्कन सफल कर्मचारीहरूले सुरुङभित्र मानिसहरू फसेको जानकारी दिएपछि आफूले सम्बन्धित सरकारी अधिकारीसँग पटकपटक उद्धारको आग्रह गर्दै आएको भट्टराईले बताए। ‘चार दिन भइसक्यो प्रयास गरेको छु, आज गर्छौं, भोलि गर्छौं भन्छन्, हुन सकेको छैन, म त थाकिसकेँ,’ उनले भने।
इप्पानको विवरणमा लाङटाङ खोलामा ४२ जना सम्पर्कविहीन रहेको उल्लेख छ। आयोजनाबाट यसअघि १८ जनाको जीवित उद्धार भएको छ।
चिलिमेमा सुरुङ १०० मिटरमै थुनियो
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा रहेका ६ जना कर्मचारीको अवस्था पनि अझै उस्तै छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार शनिबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत माउन्टेनियरिङ रेस्क्यु एक्सपर्टलाई घटनास्थल पठाइए पनि सुरुङभित्र फसेकासम्म पुग्न सकिएन।
रेस्क्यु टोली करिब १०० मिटर सुरुङभित्र पुगेपछि बाटो पूर्ण रूपमा बन्द भएको पाइएको थियो। त्यसलाई सामान्य उपकरणबाट खोल्न नसकिने र विशेष उपकरणसहितको विशेषज्ञ टोली आवश्यक पर्ने जानकारी उद्धार टोलीले दिएको महर्जनले बताए।
भारतबाट उद्धारका लागि आएको विशेषज्ञ टोलीले पनि उक्त क्षेत्रको रेकी गरेको छ। अब उक्त टोलीलाई चिलिमेमा परिचालन गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेको महर्जनले जानकारी दिए। इप्पानका अनुसार चिलिमेमा आठ जना सम्पर्कविहीन छन्।
उद्धार गर्न सक्ने क्षमता हुँदाहुँदै ढिलाइ भएको आरोप
नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष सुवास बरालले सुरुङमा फसेकाहरूको उद्धारमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन्। उनका अनुसार नेपालमा सुरुङ उद्धारका लागि आवश्यक सीप र केही उपकरण उपलब्ध छन्। आवश्यक उपकरण वा विशेषज्ञता अपुग भए छिमेकी मुलुकबाट तत्काल सहयोग लिन सकिने अवस्था हुँदाहुँदै उद्धार प्राथमिकतामा नपरेको उनको भनाइ छ।
‘सुरुङमा फसेकाको उद्धार चाहिँ पहिले नै गर्नुपर्ने थियो। तर बाहिर जति पहल भयो त्यति भित्र रहेकाहरूलाई उद्धारमा गरिएको छैन,’ बरालले भने। जलविद्युत विज्ञ सूर्यप्रसाद अधिकारीले पनि सुरुङमा फसेका मानिसको जीवनरक्षाका लागि समय अत्यन्त महत्वपूर्ण हुने बताए। उनका अनुसार सामान्य अवस्थामा दुई दिनभित्र उद्धारको प्रयास प्रभावकारी रूपमा अघि बढाइसक्नुपर्ने हुन्छ।
उनले नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक विशेषज्ञता, उपकरण र प्रविधिको पर्याप्त तयारी नरहेको देखिएको बताए। विदेशी विशेषज्ञ टोलीको सहयोग लिनुपर्ने अवस्थामा सरकारले त्यसका लागि तत्काल समन्वय गर्नुपर्ने उनको भनाइ छ।
विदेशी टोली आयो, तर फिल्डमा काम सुरु भएन
सरकारले शनिबार मात्रै उद्धारका लागि विदेशी विशेषज्ञ टोलीलाई नेपाल आउन अनुमति दिएको थियो। त्यसपछि एउटा चिनियाँ र एउटा भारतीय टोली नेपाल आइपुगेका छन्। तर सम्बन्धित आयोजनाका अधिकारीहरूका अनुसार सरकारी समन्वय अभावका कारण दुवै टोलीले शनिबार नै फिल्डमा उद्धारको काम सुरु गर्न सकेनन्।
यसबीच प्रधानमन्त्री कार्यालयबाट जारी सूचनामा ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोलीले माथिल्लो त्रिशूली–३ ‘बी’ मा उद्धार सुरु गरेको उल्लेख गरिए पनि आयोजनाले त्यसलाई सच्याउँदै आफ्नो आयोजनामा त्यस्तो टोली नपुगेको जनाएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा मानिस फसेका छैनन्। आयोजनाका अनुसार सम्पर्कविहीन भएका २०१ जना सतहमा निर्माण, कार्यालय तथा क्याम्प क्षेत्रमा कार्यरत थिए। आयोजनाले उनीहरूको पनि हालसम्म उद्धार हुन नसकेको र आइतबारबाट टोली पठाउने तयारी भइरहेको जनाएको छ।
११ आयोजनामा ८९८ जना सम्पर्कविहीन
इप्पानले सार्वजनिक गरेको विवरणअनुसार रसुवा बाढीपछि ११ जलविद्युत आयोजनामा ८९८ जना सम्पर्कविहीन छन्। सबैभन्दा ठूलो संख्या माथिल्लो त्रिशूली–१ को ५७६ जना हो। माथिल्लो त्रिशूली–३ ‘बी’ मा २०१ जना सम्पर्कविहीन छन्। रसुवा–भोटेकोशी जलविद्युत आयोजनामा चार, लाङटाङ खोला जलविद्युत आयोजनामा ४२, चिलिमेमा आठ र मेलुङ खोला जलविद्युत आयोजनामा सात जना बेपत्ता रहेको इप्पानले जनाएको छ।
त्यस्तै माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना, मिडल त्रिशूली गंगामा दुई जना तथा त्रिशूली जलविद्युत आयोजना र देविघाट जलविद्युत आयोजनामा एक–एक जना सम्पर्कविहीन छन्। इप्पानले माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ का सुरुङमा करिब ३०० जना फसेको जनाएको छ।
बाढीपछि बाहिर रहेका तथा सतहमा काम गरिरहेका केही कामदारको उद्धार भए पनि सुरुङभित्र प्रवेश गरी जीवनरक्षा गर्ने अभियान अझै प्रारम्भिक चरणमै छ। चार दिन बितिसक्दा सुरुङभित्र रहेका नागरिकको अवस्थाबारे यकिन सूचना प्राप्त हुन नसक्नु र उद्धारका लागि आएका विदेशी विशेषज्ञसमेत तत्काल परिचालन हुन नसक्नुले सरकारी उद्धार संयन्त्रबीचको समन्वयमाथि प्रश्न उठेको छ।
तर सरकारले भने सुरुङसम्म पुग्ने बाटो खोल्ने, आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्ने र विदेशी विशेषज्ञको सहयोग लिने प्रक्रिया अघि बढिरहेको जनाएको छ। अबको मुख्य चुनौती सुरुङको अवरोध हटाएर भित्र फसेकासम्म शीघ्र पहुँच स्थापित गर्नु रहेको छ।


