पहिचान भइसकेका शव पनि आफन्तलाई दिइएन, डीएनए पुष्टि नहुँदासम्म कुर्नुपर्ने

चितवन — चितवनमा पहिचान भइसकेका शवसमेत आफन्तले तत्काल लैजान नपाउने भएका छन्। प्रहरीले गाडिसकिएका शव डीएनए परीक्षणबाट पुनः पहिचान पुष्टि भएपछि मात्रै परिवारलाई बुझाउने निर्णय गरेपछि पहिचान खुलेको शव लिन पुगेको एउटा परिवार शव नलिई फर्किएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार बाढीमा बगेर आएका शव व्यवस्थापनका क्रममा गाडिएका शव पहिचान भए पनि डीएनए परीक्षणबाट पुष्टि नभएसम्म आफन्तलाई बुझाउन नमिल्ने अवस्था छ। उनका अनुसार मंगलबार मात्रै एउटा परिवार पहिचान भएको शव लिन चितवन पुगे पनि शव नलिई फर्किएको हो।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा हालसम्म २६० वटा शव फेला परिसकेका छन्। तीमध्ये करिब १०० शव गाडिसकिएको जिल्ला प्रहरीको विवरण छ।

चितवनमा फेला परेका शवमध्ये हालसम्म नौ जनाको पहिचान भएको प्रहरीले जनाएको छ। तर पहिचान भएका शवमध्ये गाडिसकेकालाई तत्काल परिवारलाई बुझाउन नसकिएको हो। ‘नगाडेका शवलाई पहिचान भएपछि हामीले दिएका छौँ। तर गाडेका शव त्यसरी दिन मिल्दैन। डीएनए परीक्षण गरेर पुष्टि भएपछि मात्रै दिन्छौँ,’ प्रहरी प्रमुख पौडेलले भने, ‘आज मात्रै एउटा परिवार शव नलिई फर्किनुभएको छ। उहाँहरूलाई बुझाएर पठाएका छौँ।’

प्रहरीका अनुसार नेपालमा डीएनए परीक्षणका लागि मुख्य संरचना नेपाल प्रहरीको फरेन्सिक ल्याबमा छ। अहिले ठूलो संख्यामा शवका नमुना परीक्षण गर्नुपर्ने भएकाले विद्यमान क्षमताले मात्रै काम गर्दा परीक्षणको रिपोर्ट आउन लामो समय लाग्ने अनुमान गरिएको छ।

प्रहरी अधिकारीहरूले हालको क्षमताबाट मात्र ठूलो संख्यामा नमुना परीक्षण गर्दा रिपोर्ट आउन करिब दुई वर्षसम्म लाग्न सक्ने बताएका छन्। यसले पहिचानका लागि डीएनएमा निर्भर परिवारले लामो समय कुर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ।

सरकारले भने डीएनए परीक्षणलाई छिटो सम्पन्न गर्न विदेशबाट दक्ष जनशक्ति तथा प्राविधिक टोली ल्याउने तयारी गरिरहेको बताइएको छ। त्यसका लागि कोरियाली विशेषज्ञ टोली ल्याउने वा नमुना भारत पठाएर परीक्षण गर्ने विकल्पबारे छलफल भइरहेको प्रहरीको भनाइ छ।

सरकारले निर्णय गरेमा प्रक्रिया अघि बढाउन सकिने पौडेलले बताए। ‘भारत लगेर वा कोरियन टोली आएर परीक्षण गरेमा दुई महिनाभित्र काम सकिने अनुमान छ,’ उनले भने। पौडेलका अनुसार ठूलो संख्यामा डीएनए नमुना परीक्षण गर्न नेपालमै छुट्टै क्षमता र दक्ष जनशक्ति आवश्यक छ। अहिलेको संरचनाबाट एकैपटक ठूलो संख्यामा नमुना परीक्षण गर्न कठिन रहेको उनले बताए।

डीएनए परीक्षणबाट पहिचान पुष्टि भएका शवलाई प्राथमिकताका आधारमा सम्बन्धित परिवारलाई बुझाउने प्रहरीको तयारी छ। यसैबीच भरतपुर अस्पतालमा बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको डीएनए नमुना संकलन जारी छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार एउटा शवबाट डीएनए नमुना संकलन गर्न १० देखि ३० मिनेटसम्म लाग्ने गरेको छ।

डा. बगालेले डीएनए परीक्षण सामान्य प्रयोगशाला परीक्षणजस्तो नभएको र खर्चिलो तथा प्राविधिक रूपमा जटिल प्रक्रिया भएकाले सामान्य अस्पतालबाट परीक्षण सम्भव नहुने बताए। नेपालमा यसका लागि आवश्यक दक्ष जनशक्तिसमेत पर्याप्त नरहेको उनको भनाइ छ। ‘डीएनए परीक्षण खर्चिलो प्रक्रिया हो। यो सामान्य ल्याब टेस्टजस्तो होइन। भरतपुरजस्ता अस्पतालले डीएनए परीक्षण गर्न सक्दैनन्,’ डा. बगालेले भने।

चितवनमा शव व्यवस्थापन गर्न कठिन भएपछि मंगलबारदेखि शव गाड्न थालिएको प्रहरीले जनाएको छ। त्रिशूली र नारायणी नदीमा आएको बाढीपछि बगाएर ल्याएका शव लगातार फेला पर्ने क्रम जारी रहेकाले शव राख्ने तथा व्यवस्थापन गर्ने चुनौती बढेको प्रहरीको भनाइ छ।

उता बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन चितवन आउने क्रम बढेको छ। उनीहरू आफ्ना आफन्तको अवस्था यकिन गर्न शव पहिचान केन्द्र तथा प्रहरीसमक्ष पुगिरहेका छन्। यस अवस्थामा पहिचान भइसकेका तर गाडिएका शवसमेत डीएनए पुष्टि नभएसम्म परिवारलाई बुझाउन नसकिने प्रहरीको प्रक्रियाले आफन्तलाई थप प्रतीक्षा गर्नुपर्ने अवस्था बनाएको छ।

ठूलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने र हालको राष्ट्रिय परीक्षण क्षमता सीमित भएकाले अब डीएनए परीक्षणको गति नै शव पहिचान र परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्ने प्रक्रियाको मुख्य निर्धारक बन्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट