सरकारको उद्धारमा प्रश्न उठाएपछि प्रशंसा सुवेदीमाथि सामाजिक सञ्जालमा गालीगलौज बर्षा

काठमाडौँ— बाढीपहिरो प्रभावितको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी कन्टेन्ट क्रिएटर तथा कलाकार प्रशंसा सुवेदीमाथि सामाजिक सञ्जालमा आलोचना र गालीगलौजको वर्षा भएको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकका रूपमा चिनिएकी सुवेदीले सरकारका कमजोरीबारे सार्वजनिक रूपमा प्रश्न उठाएपछि उनका पछिल्ला भिडियोमा लक्षित गर्दै गालीगलौज बढेको हो।

सुवेदीले शनिबार फेसबुकमा पोस्ट गरेको भिडियोमा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन्। उनले विशेषगरी टनेलमा फसेका नागरिकको उद्धारका लागि प्रवेशद्वार पत्ता लगाउनसमेत लामो समय लागेको विषयलाई लिएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।

‘८० घण्टाभन्दा बढी भइसक्यो, अझै पनि टनेलको मुख पत्ता लागेन भनेर बस्ने भनेको कतिसम्म लाजमर्दो कुरा हो क्या सरकारलाई,’ उनले भिडियोमा भनेकी छिन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै गालीगलौज बढेको सुवेदीले बताएकी छिन्।

त्यसपछि उनले अर्को भिडियोमार्फत आफू सरकारविरोधी नभएको स्पष्टीकरण दिँदै सरकारको समर्थक भएर पनि सरकारका कमजोरीबारे प्रश्न गर्न सकिने धारणा राखेकी छिन्। ‘तिम्रो–हाम्रो सरकारको समर्थक म पनि हो। मैले पनि यही सरकारलाई समर्थन गरिरहेको हुँ। म यो सरकारले गरेको कुनै काम ढिलो ग¥यो भनेर भन्दैमा यो सरकारको विरोधी भएको होइन,’ उनले भनेकी छन्।

सुवेदीले आफूले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा कोठामा बसेर अनुमानका आधारमा मात्र नआएको दाबी गरेकी छिन्। प्रभावित क्षेत्रमा देखिएको वास्तविक अवस्थाबारे जानकारी लिएर आफूले धारणा सार्वजनिक गरेको उनको भनाइ छ।

‘यत्तिकै कोठामा बसेर मात्र बोलेको कुरा होइन क्या यो सब। केही ग्राउण्ड रियालिटी थाहा पाएर बोलेको हो,’ उनले भनेकी छिन्। उनले सामाजिक सञ्जालमा प्रसारित सामग्रीलाई मात्र आधार बनाएर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाबारे धारणा बनाउनुभन्दा घटनास्थलको वास्तविक अवस्थाबारे बुझ्नसमेत आग्रह गरेकी छिन्।

बाढीपहिरोपछि उद्धार तथा राहतमा ढिलाइ भएको विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला सुवेदीको अभिव्यक्ति पनि त्यही बहसको हिस्सा बनेको हो। सरकार समर्थक व्यक्तिले नै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएपछि त्यसको प्रतिक्रियामा सामाजिक सञ्जालमा विवाद चर्किएको देखिएको छ।

तर सुवेदीले आफ्नो आलोचनालाई सरकारविरोधी अभियानका रूपमा नबुझ्न आग्रह गर्दै सरकारलाई समर्थन गर्नु र सरकारका कमजोरी औँल्याउनु परस्पर विरोधी विषय नभएको स्पष्ट पारेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट