उद्वारस्थलमा गृहमन्त्रीको उपस्थितिप्रति सेनाको आपत्तिपछि फर्किएका थिए सुधन गुरुङ

काठमाडौँ — भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्वारका क्रममा गृहमन्त्री सुधन गुरुङ आफैँ फिल्डमा खटिएपछि नेपाली सेनाले उनको उपस्थितिप्रति आपत्ति जनाएको पाइएको छ।

उच्च सैनिक स्रोतका अनुसार उद्वारस्थलमा उच्च पदस्थ व्यक्ति लामो समय बस्दा काममा असहजता हुने र सञ्चारमाध्यमको ध्यान उद्वार कार्यमा केन्द्रित हुनुपर्ने अवस्थामा थप दबाब सिर्जना हुने भन्दै गृहमन्त्रीलाई फिल्डबाट फर्किन अनुरोध गरिएको थियो।

भदौ १० गते आएको बाढीपछि खोज तथा उद्वारको अवस्थाबारे बुझ्न गृहमन्त्री गुरुङ प्रभावित क्षेत्रमा पुगेका थिए। भदौ १२ गते भने माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेका व्यक्तिको उद्वारका लागि उनी आफैँ उद्वारस्थलमा खटिएको देखिने तस्वीर सार्वजनिक भएको थियो।

उद्वार कार्यमा आवश्यक समन्वय, निर्देशन र स्रोतसाधन परिचालन गर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री नै फिल्डमा प्रत्यक्ष काममा संलग्न भएको तस्वीर सार्वजनिक भएपछि उनको भूमिकालाई लिएर सार्वजनिक आलोचना भएको थियो। विशेषगरी उच्च राजनीतिक पदमा रहेका व्यक्ति उद्वारस्थलमा प्रत्यक्ष खटिनुभन्दा कमान्ड तथा समन्वय संयन्त्रमार्फत काम प्रभावकारी बनाउनुपर्ने धारणा सार्वजनिक रूपमा उठेको थियो।

त्यसैबीच नेपाली सेनाले समेत गृहमन्त्रीको उपस्थितिले उद्वार कार्यमा असहजता भएको जनाउँदै उनलाई फिल्डबाट हट्न आग्रह गरेको स्रोतको भनाइ छ।

एक उच्च सैनिक अधिकारीका अनुसार उच्च पदस्थ व्यक्ति उद्वारस्थलमै बसेर काम गर्दा सुरक्षासहित अन्य व्यवस्थापनमा अतिरिक्त चुनौती थपिने र सञ्चारमाध्यमको ध्यानसमेत त्यतातर्फ जाने भएकाले गृहमन्त्रीलाई उद्वारस्थलमा नबस्न अनुरोध गरिएको थियो।

सेनाको आग्रहपछि गुरुङ उद्वारस्थलबाट विदुरस्थित मैथली ब्यारेक पुगेका थिए। त्यसपछि उनी काठमाडौँ फर्किएका थिए। तर सुरुङमा फसेका व्यक्तिको उद्वारको अवस्था भने यथावत् छ। माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा ३५ जना फसेको बताइए पनि उनीहरूमध्ये हालसम्म कसैको उद्वार हुन सकेको छैन।

माथिल्लो त्रिशूली–३ ‘ए’ मात्रै होइन, बाढीबाट प्रभावित अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको समेत उद्वार हुन सकेको छैन। यसले विपद्पछि नेपालको सुरुङ उद्वार क्षमता, उपलब्ध उपकरण, प्राविधिक जनशक्ति र अन्तरनिकाय समन्वयमाथि प्रश्न उठाएको छ।

यही विषयमा बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र साहले सुरुङभित्र पहिरो नभई बाढीसँगै लेदो पसेर सुरुङ पूर्ण रूपमा थुनिएको अवस्था भएकाले उद्वार चुनौतीपूर्ण बनेको बताएका थिए।

प्रधानमन्त्री साहका अनुसार विश्वका विभिन्न मुलुकमा सुरुङमा पहिरो जाँदा त्यसलाई हटाउने विशेषज्ञता र प्रविधि भए पनि भोटेकोशी बाढीले सिर्जना गरेको अवस्थाका लागि तत्काल प्रयोग गर्न सकिने विशेष प्रविधि तथा विज्ञता कुनै पनि देशसँग नरहेको दाबी गरेका छन्।

गृहमन्त्रीको फिल्ड उपस्थितिमाथि सेनाले आपत्ति जनाएको विषयले भने विपद् उद्वारमा राजनीतिक नेतृत्वको प्रत्यक्ष उपस्थितिको औचित्य र सुरक्षा तथा प्राविधिक कमान्डबीचको सीमाबारे अर्को बहस सुरु भएको छ।

उद्वारमा खटिएका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई सहज वातावरण उपलब्ध गराउने, निर्णय तथा निर्देशनको स्पष्ट कमान्ड कायम गर्ने र आवश्यक स्रोतसाधन तत्काल परिचालन गर्ने जिम्मेवारी सरकारको हो। तर सुरुङमा फसेकाहरूको उद्वार अझै हुन नसकेको अवस्थामा उद्वारस्थलमा मन्त्रीको प्रत्यक्ष उपस्थितिभन्दा परिणाममुखी समन्वय र प्राविधिक क्षमतामाथि नै मुख्य ध्यान जानुपर्ने देखिएको छ।

गृहमन्त्रीको उपस्थितिलाई लिएर सेनाले औपचारिक रूपमा सार्वजनिक आपत्ति जनाएको विवरण भने बाहिर आएको छैन। सैनिक स्रोतका अनुसार उद्वार कार्यमा असहजता नहोस् भन्ने उद्देश्यले उनलाई फर्किन आग्रह गरिएको हो। गुरुङ भने सेनाको आग्रहपछि फिल्डबाट फर्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट