भोटेकोशी बाढीपछि सप्तरीका ५२ जना सम्पर्कविहीन, खोजीका लागि रसुवा प्रशासनलाई पठाइयो विवरण
राजविराज— भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटमा रहेका सप्तरीका ५२ जना सम्पर्कविहीन भएको विवरण जिल्ला प्रशासन कार्यालय सप्तरीले संकलन गरी रसुवा जिल्ला प्रशासन कार्यालयमा पठाएको छ। भदौ १० गतेको बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका उनीहरूको खोजी तथा अवस्थाबारे आवश्यक समन्वय गर्न भन्दै सप्तरी प्रशासनले बुधबार औपचारिक पत्रसहित नामावली पठाएको हो।
सीडीओ कार्यालयअन्तर्गत प्रशासन शाखाले रसुवा जिल्ला प्रशासन कार्यालय, धुन्चेलाई पठाएको पत्रमा बाढीको समयमा सप्तरीबाट रोजगारी, पर्यटन तथा अन्य कामका लागि रसुवा पुगेका व्यक्तिहरू सम्पर्कविहीन तथा बेपत्ता भएको उल्लेख छ। प्रशासकीय अधिकृत सन्तोष रायले हस्ताक्षर गरेको पत्रसँगै सम्पर्कविहिनहरुको विवरणसमेत संलग्न गरिएको छ।
सूचीमा अधिकांश व्यक्ति जलविद्युत् आयोजना, निर्माण कम्पनी, होटल, यातायात तथा अन्य रोजगारीसँग जोडिएका देखिन्छन्। विवरणमा देवराज ईसर, सुनिता राम, सुनिता रामका छोरा, सञ्जय साह, अजय कुमार यादव, रविन्द्र कुमार यादव, इन्द्र नारायण ईसर, सरोज कुमार गुप्ता, सरोज चौधरी, अनिल कुमार विश्वकर्मा, सन्तोष यादव, पिताम्बर प्रसाद दास, दिलिप कुमार मण्डल, रमेश चौधरी, हृदय नारायण चौधरी, सुरेन्द्र देव चौधरी, दिपेन्द्र चौधरी, प्रेम सागर चौधरी, साजन चौधरी, ओम प्रकाश चौधरी, विभुवन कुमार मण्डल, शिवकुमार यादव, देवकुमार यादव र सचिन यादव लगायतका नाम समावेश छन्।
यस्तै सूचीमा ओम नारायण यादव, विजय कुमार यादव, अशोक यादव, मुकेश सदा, विनोद सदा, बेचन सदा, शिवकुमार सदा, रोशन कुमार यादव, ललिता नारायण चौधरी, देवानन्द चौधरी, नितिश कुमार पासवान, अकलेश कुमार पासवान, मनिष कुमार मण्डल, राजिव कुमार सिंह, राज पासमान, शिवकुमार पासमान, सुरज मण्डल, हेम नारायण साह, शिवकुमार यादव, नविन श्रेष्ठ, अभिनाश पण्डित, प्रवेश कुमार चौधरी, सुरेन सदा रिख्यासन, राजमणी साह, रंजित कुमार गुप्ता, सुनिल सदा र अभिषेक सिंहको विवरण पनि छ।
नामावलीमा रहेका व्यक्तिहरूको कार्यस्थल हेर्दा सप्तरीबाट रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका कामदार तथा प्राविधिकको संख्या उल्लेख्य रहेको देखिन्छ। केही व्यक्ति जलविद्युत् आयोजनाका कामदार छन् भने केही इन्जिनियर, मेकानिकल इन्जिनियर, सर्भे इन्जिनियर, चालक तथा निर्माण क्षेत्रमा कार्यरत थिए।
सूचीमा उल्लेख भएअनुसार केही व्यक्ति रसुवास्थित अपर त्रिशूली, अपर त्रिशूली–३ ‘ए’, मेलुङ ५ मेगावाट, अपर त्रिशूली २१६ मेगावाट तथा अन्य जलविद्युत् आयोजनामा कार्यरत थिए। केही नुवाकोटको त्रिशूली बजार तथा बेनी नयाँ पुल क्षेत्रमा निर्माण कम्पनी र जलविद्युत् आयोजनासँग सम्बन्धित काममा थिए।
अभिलेखमा देवराज ईसर रसुवास्थित हाइड्रोपावरमा काम गर्दै आएको, सुनिता राम नुवाकोटको त्रिशूली बजारमा काम गर्दै आएको तथा सुनिता रामका छोरासमेत सम्पर्कविहीन रहेको उल्लेख छ। अजय कुमार यादव रसुवास्थित प्राविधिक शिक्षकको पेशामा आबद्ध रहेको विवरण छ।
त्यसैगरी रविन्द्र कुमार यादव नुवाकोटमा रहेको जेसी हाईड्रोपावरसँग सम्बन्धित रहेको, सरोज कुमार गुप्ता रसुवास्थित अपर हाइड्रोपावरमा कामदार रहेको, सरोज चौधरी रसुवाको मेलुङ ५ मेगावाट जलविद्युत् आयोजनामा कार्यरत रहेको तथा अन्य केही व्यक्ति पनि विभिन्न हाइड्रोपावर आयोजनामा काम गर्दै आएको विवरणमा उल्लेख छ।
रमेश चौधरी रसुवास्थित मेलुङ २१६ मेगावाट जलविद्युत् आयोजनामा सर्भे इन्जिनियरका रूपमा कार्यरत रहेको उल्लेख छ। हृदय नारायण चौधरी र सुरेन्द्र देव चौधरी भने नुवाकोटको बेनी नयाँ पुलस्थित फेवा कन्स्ट्रक्सनमा काम गर्ने गरेको विवरण छ।
साजन चौधरी रसुवामा निर्माणाधीन सिनो हाइड्रो पावरमा कार्यरत रहेको तथा ओम प्रकाश चौधरी नेपाल विद्युत् प्राधिकरणको अपर त्रिशूली–३ ‘ए’ आयोजनामा काम गर्ने गरेको उल्लेख छ। विभुवन कुमार मण्डल नुवाकोटमा रहेको र शिवकुमार यादव, देवकुमार यादव तथा सचिन यादव रसुवाको जेसी हाईड्रोपावरमा काम गर्ने गरेको विवरण प्रशासनले पठाएको छ।
नामावलीमा नेपाल सेनामा कार्यरत व्यक्तिसमेत छन्। केही व्यक्तिको कार्यस्थल रसुवास्थित श्रीनाथ गण, टिमुरे रहेको उल्लेख छ। त्यस्तै अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा लोडर चालकका रूपमा काम गर्ने, हाइड्रोपावरमा मेकानिकल ओभरसियर तथा इन्जिनियरका रूपमा कार्यरत व्यक्तिहरू पनि सूचीमा छन्।
अभिलेखमा केही व्यक्तिको सम्पर्क रसुवा वा नुवाकोटमा पुगेपछि टुटेको र परिवारका सदस्य, वडा अध्यक्ष, साथी वा आफन्तले उनीहरूको खोजीका लागि सूचकका रूपमा विवरण उपलब्ध गराएको उल्लेख छ। प्रशासनले त्यस्ता सूचकको नाम र मोबाइल नम्बरसमेत राखेर विवरण पठाएको छ।
नामावलीमा भारतको मधुवनी जिल्लाका स्थायी बासिन्दासमेत एक जनाको विवरण समावेश छ। राजमणी साह गोसाइँकुण्ड गाउँपालिका–५, स्याप्रुबेंसीमा होटलमा काम गर्ने गरेको तथा रसुवाको हाइड्रोपावरमा मेकानिकल ओभरसियरका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख छ।
सबैभन्दा फरक प्रकृतिको विवरण अभिषेक सिंहको छ। प्रशासनले तयार पारेको अभिलेखअनुसार उनी रसुवाको टिमुरेबाट पर्यटक लिएर कैलाशतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएका हुन्। उनी काठमाडौँस्थित ड्रिम टिवेट ट्राभल एण्ड टुर्स प्रालिमा टुरिस्ट गाइडका रूपमा काम गर्ने गरेको विवरणमा उल्लेख छ।
यसरी हेर्दा बाढीको प्रत्यक्ष प्रभावमा परेका जलविद्युत् आयोजना र आसपासका क्षेत्रमा काम गर्न पुगेका सप्तरीका श्रमिक तथा प्राविधिक मात्र होइन, पर्यटन व्यवसायसँग जोडिएका व्यक्ति पनि सम्पर्कविहीन भएको प्रशासनिक अभिलेखले देखाएको छ।
सप्तरी प्रशासनले पठाएको पत्रमा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका समयमा जिल्लाबाट रोजगारी, पर्यटन तथा अन्य कार्यका लागि रसुवामा रहेका व्यक्तिहरू सम्पर्कविहीन तथा बेपत्ता भएको उल्लेख गर्दै विवरण आवश्यक कारबाहीका लागि पठाइएको जनाएको छ। पत्रको प्रशासनिक प्रयोजन स्पष्ट भए पनि सूचीमा समेटिएका परिवारका लागि भने यो अभिलेख बेपत्ता आफन्तको खोजी राज्यका दुई जिल्ला प्रशासनबीच औपचारिक रूपमा अघि बढेको प्रमाण हो।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ। बाढीमा परेर कति नागरिक बेपत्ता भए भन्ने विषय समेत हालसम्म पूर्ण यकिन भएको छैन। यही क्रममा सप्तरी प्रशासनले तयार पारेको ५२ जनाको विवरणले बाढीको भौगोलिक सीमाभन्दा बाहिरसम्म फैलिएको मानवीय संकटको एउटा थप तस्वीर सार्वजनिक गरेको छ।
अब सूचीमा रहेका व्यक्तिहरूको वास्तविक अवस्था यकिन गर्न रसुवा तथा नुवाकोट प्रशासन, सम्बन्धित सुरक्षा निकाय, जलविद्युत् आयोजना र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ। परिवारले उपलब्ध गराएका अन्तिम सम्पर्कस्थल र कार्यस्थललाई आधार बनाएर खोजी तीव्र पार्नुपर्ने अवस्था छ।
सप्तरी प्रशासनको यो अभिलेखले एउटा महत्वपूर्ण प्रशासनिक प्रश्नसमेत उठाएको छ—बाढी प्रभावित जिल्लामा मात्र होइन, प्रभावित क्षेत्रमा रोजगारी वा अन्य प्रयोजनले पुगेका नागरिकको गृहजिल्लासम्म पुग्ने गरी बेपत्ता नागरिकको एकीकृत विवरण र खोजी संयन्त्र कति प्रभावकारी छ?
भोटेकोशी बाढीको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेका बेला सप्तरीबाट रसुवा प्रशासनमा पठाइएको ५२ जनाको सूचीले हराइरहेका नागरिकको खोजीलाई जिल्लास्तरको तथ्यांकबाट राष्ट्रिय तहको एकीकृत खोजी प्रणालीमा जोड्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको छ।



