सप्तरीमा हात्तीको आतंकः १० दिनमै दुईको मृत्यु, त्रसित छन् सर्वसाधारण !
राजविराज– सप्तरीमा जंगली हात्तीको बथानले गाउँबस्तीमा पसेर आतंक मच्चाउँदा १० दिनको अन्तरालमा दुई जनाको ज्यान गएको छ। हात्तीको आक्रमणबाट मानवीय क्षति हुनुका साथै घर, गोठ र खेतबारीमा ठूलो क्षति पुगेको छ।
हात्ती धपाउन खोज्ने स्थानीय आफैँ आक्रमणमा परिरहेका छन् भने बस्तीमा हात्तीको प्रवेश रोक्न नसक्दा स्थानीय बासिन्दा त्रासमा रात बिताउन बाध्य छन्। पछिल्लो घटना रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा भएको हो। बुधबार बिहान करिब १ बजे जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
बस्तीमा हात्ती पसेको थाहा पाएपछि घरनजिकै आगो बालेर बसेका श्रेष्ठमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए। हात्तीले आक्रमण गर्दा श्रेष्ठका छोरा अर्जुन पनि सँगै थिए। उनी भने भागेर ज्यान जोगाउन सफल भए। एक सातादेखि ठूलो संख्यामा हात्तीको बथान रुपनी र आसपासका क्षेत्रमा घुमिरहेको छ। बस्तीमै हात्ती पस्न थालेपछि स्थानीयको दैनिक जीवन असुरक्षित बनेको छ।
यसअघि गत कात्तिक २९ गते सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीले पनि हात्तीको आक्रमणमा ज्यान गुमाएका थिए। हराएको बाख्रा खोज्न जंगलछेउको गोठतर्फ गएका चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।
दुई घटनाबीचको अन्तरालमा हात्तीको बथानले सप्तरीका विभिन्न बस्तीमा क्षति पुर्याउने क्रम रोकिएको छैन। मंगलबार बिहानै अग्निसाइर कृष्णासवरन र रुपनी गाउँपालिकामा हात्तीको बथानले घर, गोठ र खेतबारीमा ठूलो क्षति पुर्याएको थियो। धानबाली खान खेतमा पसेका हात्ती धपाउन खोज्दा दुई युवक घाइते भएका थिए।
अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ गुम्बा टोलका ३५ वर्षीय गजेन्द्र साहको हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको थियो। हात्तीको आक्रमणपछि अचेत भएका उनलाई स्थानीयले उद्वार गरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अर्को अस्पताल पठाइएको थियो।
त्यस्तै, रुपनी गाउँपालिका–६ का ४७ वर्षीय शिवशंकर यादव पनि हात्ती धपाउने क्रममा आक्रमणमा परेका थिए। उनको हात र घुँडामा चोट लागेको थियो। हात्तीले खेतमा धान खाइरहेको अवस्थामा धपाउन गएका स्थानीयमाथि नै आक्रमण गर्न थालेपछि बस्तीका बासिन्दा थप त्रसित बनेका छन्।
हात्तीले घरमा समेत ठूलो क्षति पुर्याएको छ। अग्निसाइर कृष्णासवरन–२ गुम्बा टोलकी ७३ वर्षीया दशनी देवीको घर तोडफोड गर्दा खाद्यान्न, लत्ताकपडा र फर्निचर नष्ट भएको छ। घर भत्काउने क्रममा भित्र सुतिरहेकी उनकी सात वर्षीया नातिनी आकृतिलाई परिवारले मुस्किलले जोगाएको थियो।
दशनी देवीका अनुसार हात्तीले घर तोडेर भित्र राखिएको खाद्यान्न खाएको र फर्निचरसमेत तोडफोड गरेको छ। उनले घरमा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएकी छिन्। घर भत्किँदा बालिकासमेत जोखिममा परेपछि परिवारले ठूलो त्रास झेल्नुपरेको थियो।
रुपनी गाउँपालिका–६ मा पनि हात्तीले घर, गोठ र खेतबारीमा क्षति पुर्याएको छ। शुभलाल यादवको धानबाली खाएर नष्ट गरेको हात्तीले शैलेन्द्रकुमार यादवको खेतमा समेत क्षति पुर्याएको छ। ज्ञानबहादुर थापा मगरको तीनकोठे घर र चन्द्रबहादुर पोखरेलको घर तोडफोड गर्नुका साथै घरभित्र रहेका दराज र भाँडाकुँडा फुटाएको छ।
त्यसैगरी ज्ञानबहादुर आले, प्रेम लायो, लालबहादुर राई, मिरा तामाङ मगर र तनुकलाल चौधरीका घर तथा दिलकुमारी चौधरी र सूर्यनारायण महतोका गोठमा पनि क्षति पुगेको छ। घरमा राखिएका खाद्यान्न, लत्ताकपडा र विद्युतीय उपकरणसमेत नष्ट भएका छन्।
वडासदस्य सूर्यनारायण मेहताका अनुसार रुपनी–६ मा मात्रै घर, गोठ र घरभित्रका सामानमा गरी २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। हात्तीले सयौँ किसानले लगाएको धान, कोदो, केरा र तरकारी बालीसमेत नष्ट गरेको उनले बताए। गाउँमा रहेको भिक्षु कुटीमा समेत हात्तीले तोडफोड गरेको छ।
अग्निसाइर कृष्णासवरन–२ मा दशनी देवीको घरमा भएको क्षतिसमेत जोड्दा दुई गाउँपालिकामा घरायसी तथा संरचनागत क्षति ठूलो देखिएको छ। तर सबै प्रभावित क्षेत्रको एकीकृत विवरण र आधिकारिक क्षति मूल्यांकन सार्वजनिक भइसकेको छैन।
डिभिजन वन कार्यालय सप्तरीले हात्तीको बथानलाई ड्रोनबाट निगरानी गर्दै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ फर्काउने प्रयास गरिरहेको जनाएको छ। कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत मनोज ठाकुरका अनुसार बथानमा करिब २५ देखि ३० वटा हात्ती छन्। कोशी नदीमा पानीको बहाव बढी हुनु र बथानमा छावा पनि रहनुले हात्तीलाई नदी पार गराएर आरक्षतर्फ फर्काउन कठिन भएको छ।
ठाकुरले हात्तीको बथानलाई नियन्त्रणमा लिएर सुरक्षित रूपमा जंगलतर्फ फर्काउने प्रयास केही सातादेखि जारी रहेको बताए। तर ठूलो संख्यामा हात्ती एकै ठाउँमा रहनु र नदीको बहावका कारण प्रयास सफल हुन नसकेको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हात्तीलाई प्राकृतिक उपाय अपनाएर बस्तीबाट धपाउने प्रयास भइरहेको बताएका छन्। उनका अनुसार हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा घेराबेराको आवश्यकता देखिएको छ। त्यसका लागि प्रदेश सरकारलाई पत्राचार गरिए पनि अहिलेसम्म जवाफ प्राप्त नभएको उनले बताए। स्थानीय तहसँग पनि समन्वय भइरहेको प्रशासनको भनाइ छ।
तर लगातारको आक्रमण र क्षतिले स्थानीयको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। हात्तीको बथान बस्तीमा प्रवेश गरेपछि घरभित्रै बसिरहेका नागरिकसमेत सुरक्षित छैनन्। हात्ती धपाउन खेतबारी पुग्ने किसान र स्थानीय आफैँ आक्रमणमा पर्ने जोखिममा छन्। अर्कोतर्फ, घर र अन्नबाली नष्ट हुँदा किसानको जीविकोपार्जनसमेत प्रभावित भएको छ।
वन कार्यालयले ड्रोनबाट निगरानी र हात्तीलाई कोशीटप्पुतर्फ फर्काउने प्रयास गरिरहेको बताए पनि बस्तीमा हात्ती पस्ने क्रम रोकिएको छैन। अब तत्काल प्रभावित बस्तीको सुरक्षा व्यवस्था, घाइतेको उपचार, क्षतिको यकिन विवरण संकलन र पीडित परिवारलाई राहत उपलब्ध गराउने कामसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको दीर्घकालीन योजना आवश्यक देखिएको छ।
एकपछि अर्को मानवीय क्षति भइरहँदा हात्तीको बथानलाई जंगल फर्काउने प्रयास मात्रै पर्याप्त हुने देखिँदैन। बस्तीमा हात्ती प्रवेश गर्न नदिने सुरक्षा उपाय, जोखिममा रहेका परिवारलाई पूर्वसूचना र सुरक्षित स्थानमा सार्ने व्यवस्था तथा क्षतिपूर्तिको प्रभावकारी प्रणालीबारे सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नुपर्ने अवस्था बनेको छ।

