आठ वर्ष झुलाएर भारतले अस्वीकार गर्यो ईपीजी प्रतिवेदन, नेपाल भने ‘भिजन डकुमेन्ट’मै रमायो !
काठमाडौँ- नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र समान आधारमा अघि बढाउने उद्देश्यले तयार पारिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतले असान्दर्भिक भएको भन्दै पन्साएको छ। दुवै देशका विज्ञले संयुक्त रूपमा तयार पारेको प्रतिवेदन आठ वर्षसम्म औपचारिक रूपमा ग्रहण नगरेको भारतले अब त्यसलाई विगतको विषय भन्दै नयाँ दृष्टिकोणबाट अघि बढ्ने संकेत गरेको हो।
प्रधानमन्त्री बालेन्द्र साहको दुईदिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले ईपीजी प्रतिवेदनबारे सोधिएको प्रश्नमा त्यसको अहिलेको सन्दर्भमा कुनै औचित्य नरहेको बताएका थिए।
‘म भन्न चाहन्छु, त्यो विगतको विषय हो। हामी भविष्यकेन्द्रित दृष्टिकोण अपनाइरहेका छौँ। हामी पछाडि फर्केर हेरिरहेका छैनौँ। त्यसैले त्यो प्रतिवेदन अहिलेको सन्दर्भमा सान्दर्भिक छैन, किनकि त्यो पुरानो विषय हो,’ मिस्रीले भने।
उनको यो अभिव्यक्ति ईपीजी प्रतिवेदन औपचारिक रूपमा खारेज गरिएको घोषणा भने होइन। तर, प्रतिवेदनलाई भविष्यको द्विपक्षीय सम्बन्धको आधार नमान्ने भारतको संकेतका रूपमा यसलाई हेरिएको छ। भारतले अब प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार जारी संयुक्त दृष्टिकोणपत्रलाई सम्बन्ध अघि बढाउने आधार बनाउने जनाएको छ।
ईपीजी प्रतिवेदन तयार भएको आठ वर्ष बितिसक्दा पनि भारतले त्यसलाई औपचारिक रूपमा ग्रहण गरेको छैन। दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको संयन्त्रले संयुक्त रूपमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीसमक्ष बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने समझदारी थियो। तर, भारतले प्रतिवेदन बुझ्न समय नदिएपछि यसको औपचारिक प्रक्रिया नै रोकिएको थियो।
नेपालले भने प्रतिवेदन ग्रहण गरी त्यसमा रहेका सुझाव कार्यान्वयनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै आएको थियो। अहिले भारतले प्रतिवेदनलाई नै असान्दर्भिक भनेपछि नेपालले आफ्नो पुरानो अडान कसरी अघि बढाउँछ भन्ने प्रश्न उठेको छ।
भारतको पछिल्लो अभिव्यक्तिमा अर्को महत्वपूर्ण पक्ष पनि छ। मिस्रीले ईपीजी प्रतिवेदनलाई असान्दर्भिक भने पनि नेपाल–भारतबीचको १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका विद्यमान सम्झौता पुनरावलोकन गर्न सकिने विषय भने अस्वीकार गरेका छैनन्। बरु दुवै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त दृष्टिकोणपत्रमा पुराना सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख रहेको उनले बताएका छन्।
संयुक्त दृष्टिकोणपत्रमा दुवै देशबीचको साझेदारीलाई वर्तमान राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थअनुसार अघि बढाउन अद्यावधिक कानुनी आधार आवश्यक रहेको उल्लेख छ। त्यसका लागि सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने भनिएको छ। जलस्रोत, ऊर्जा, व्यापार तथा सीमा व्यवस्थापनसँग सम्बन्धित बाँकी विषय पनि आपसी छलफल र संवादबाट टुंग्याउने सहमति भएको छ।
यसरी हेर्दा भारतले पुरानो ईपीजी प्रतिवेदनलाई आधार बनाउन नचाहे पनि त्यसमा उठाइएका केही विषयलाई नयाँ प्रक्रियाबाट सम्बोधन गर्न सकिने बाटो खुला राखेको देखिन्छ। तर, त्यसको कार्यविधि, प्राथमिकता र समयसीमा भने अझै स्पष्ट छैन।
मिस्रीका अनुसार १९५० को सन्धि पुनरावलोकन गर्ने विषय नयाँ होइन। यसअघि पनि द्विपक्षीय दस्तावेजमा यसको चर्चा भएको थियो। तर, विभिन्न कारणले त्यसबारेको छलफल अघि बढ्न सकेको थिएन। अहिले नेपालमा नयाँ सरकार बनेसँगै सम्बन्धलाई समसामयिक र भविष्यकेन्द्रित कानुनी आधारमा अघि बढाउने चाहना देखिएकाले सन्धि पुनरावलोकन गर्न सकिने उनको भनाइ छ।
उनले यसका लागि दुवै देशले आ–आफ्ना प्राथमिकता पहिचान गरी आवश्यक गृहकार्य गर्नुपर्ने बताए। त्यसपछि कुन संयन्त्रबाट प्रक्रिया अघि बढाउने भन्ने विषयमा आपसी सहमति गर्न सकिने उनको भनाइ थियो।
के हो ईपीजी प्रतिवेदन ?
नेपाल र भारतबीचको सम्बन्ध लामो ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक आधारमा विकसित भएको छ। खुला सीमा, व्यापार, पारवहन, सुरक्षा, जलस्रोत, नागरिकको आवतजावत र जनस्तरको सम्बन्धले दुई देशलाई जोडेको छ। तर, यही सम्बन्धका कतिपय पक्षमा असमानता, असमझदारी र विवाद रहेको भन्दै नेपालमा लामो समयदेखि पुनरावलोकनको माग उठ्दै आएको छ।
विशेषगरी सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिलाई नेपालको सार्वभौमिकता र राष्ट्रिय हितका दृष्टिले असमान रहेको भन्दै संशोधन वा समयानुकूल पुनरावलोकन गर्नुपर्ने आवाज उठ्दै आएको थियो। खुला सीमाको व्यवस्थापन, सुरक्षा चासो, व्यापार तथा पारवहन, जलस्रोत र अन्य द्विपक्षीय सम्झौतासमेत पुनरावलोकन गर्नुपर्ने विषयका रूपमा उठेका थिए।
यही पृष्ठभूमिमा सन् २०१४ मा काठमाडौंमा भएको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुवै देशका तर्फबाट चार–चार जना विज्ञ रहने गरी प्रबुद्ध व्यक्ति समूह गठन गर्ने निर्णय भएको थियो। त्यसपछि सन् २०१६ मा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा आठ सदस्यीय ईपीजी गठन गरियो।
समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेषबहादुर थापा संयोजक थिए। अन्य सदस्यमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई थिए। भारतका तर्फबाट भगतसिंह कोश्यारी संयोजक थिए भने जयन्त प्रसाद, प्राध्यापक महेन्द्र पी. लामा र बीसी उप्रेती सदस्य थिए।
ईपीजीलाई दुई देशबीच भएका सन्धि, सम्झौता र समझदारीको समग्र समीक्षा गर्ने जिम्मेवारी दिइएको थियो। बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिअनुसार सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने उपाय सुझाउनु पनि यसको कार्यादेश थियो।
समूहले सन् २०१६ देखि २०१८ सम्म नौवटा बैठक गरेको थियो। करिब दुई वर्षको छलफल र अध्ययनपछि सन् २०१८ जुलाईमा प्रतिवेदनलाई अन्तिम रूप दिइएको थियो। तर, प्रतिवेदन तयार भएपछि त्यसलाई दुवै देशका सरकारसमक्ष औपचारिक रूपमा बुझाउने प्रक्रिया अघि बढ्न सकेन।
प्रतिवेदनमा १९५० को सन्धि, खुला सीमा, व्यापार तथा पारवहन, सुरक्षा, जलस्रोत, विकास सहकार्य र जनस्तरको सम्बन्धजस्ता विषय समेटिएका थिए। प्रतिवेदन सार्वजनिक नभएकाले त्यसका सबै सिफारिसबारे आधिकारिक रूपमा विस्तृत जानकारी उपलब्ध छैन। तर, दुवै देशबीचका पुराना सन्धि तथा सम्झौतालाई वर्तमान आवश्यकताअनुसार पुनरावलोकन गर्नुपर्ने विषय यसको महत्वपूर्ण कार्यसूची रहेको थियो।
१९५० को सन्धि किन विवादमा छ ?
ईपीजी गठन हुनुको प्रमुख पृष्ठभूमिमध्ये एक नेपाल–भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि हो। सन् १९५० जुलाई ३१ मा काठमाडौंमा हस्ताक्षर भएको यो सन्धिले दुई देशबीच विशेष सम्बन्धको आधार तयार गरेको थियो।
सन्धिमा दुवै देशका नागरिकलाई एकअर्काको भूभागमा आवतजावत, बसोबास, व्यापार तथा आर्थिक गतिविधिमा विभिन्न सुविधा दिने व्यवस्था छ। तर, सन्धिका कतिपय प्रावधान नेपालको राष्ट्रिय हित र सार्वभौमिकतासँग मेल नखाने भन्दै यसको पुनरावलोकनको माग हुँदै आएको छ।
विशेषगरी सन्धिको धारा ५ मा हतियार तथा सैन्य सामग्रीको आपूर्तिसम्बन्धी व्यवस्था छ। धारा ६ र ७ मा एकअर्काका नागरिकलाई औद्योगिक तथा आर्थिक गतिविधिमा समान सुविधा दिने विषय समेटिएका छन्। नेपालमा यी व्यवस्थाको व्याख्या र कार्यान्वयनलाई लिएर लामो समयदेखि बहस हुँदै आएको छ।
सन् १९५० मा सन्धि हुँदा नेपालको राजनीतिक, आर्थिक र सुरक्षा अवस्था अहिलेभन्दा फरक थियो। त्यसयता नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएको छ, देश गणतन्त्रमा प्रवेश गरेको छ र अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूपसमेत बदलिएको छ। भारत पनि आर्थिक तथा सामरिक रूपमा निकै परिवर्तन भएको छ। त्यसैले सन्धिलाई वर्तमान यथार्थअनुसार पुनरावलोकन गर्नुपर्ने माग उठ्दै आएको हो।
ईपीजीले यही विषयसहित दुई देशबीचका समग्र सम्बन्धको अध्ययन गरेर सुझाव दिएको थियो। तर, प्रतिवेदन ग्रहण नै नभएपछि त्यसमा समेटिएका सुझाव औपचारिक द्विपक्षीय प्रक्रियामा प्रवेश गर्न सकेनन्।
सीमा विवादमा पनि पुरानै प्रतिवेदनभन्दा नयाँ संयन्त्रमा भारतको जोड
ईपीजी प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा मिस्रीले नेपाल–भारत सीमा व्यवस्थापनको विषयमा पनि आफ्नो धारणा राखेका छन्। उनका अनुसार दुई देशका प्रधानमन्त्रीले सीमा व्यवस्थापनसँग सम्बन्धित विषय अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएका छन्।
उनले सीमा व्यवस्थापनका लागि दुई देशबीच विभिन्न तहका संयन्त्र क्रियाशील रहेको बताए। सबैभन्दा तल्लो तहमा प्राविधिक टोलीले काम गर्ने र ती टोलीले वरिष्ठ अधिकारीहरूको समितिमा प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको उनको भनाइ छ। यसबाहेक सीमा कार्यदल पनि सक्रिय रहेको उनले उल्लेख गरे।
मिस्रीले पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमाका प्राविधिक काममा उल्लेखनीय प्रगति भएको दाबी गरे। सहमति भइसकेको सीमाको ठूलो हिस्सामा सीमा स्तम्भको मर्मतसम्भार र अतिक्रमणसम्बन्धी प्रतिवेदनको अनुसन्धानलगायतका काम भइरहेको उनले बताए।
‘दुई देशबीच सहमति भइसकेको सीमाको ठूलो हिस्सामा सीमा स्तम्भको मर्मतसम्भार गर्ने र अतिक्रमणसम्बन्धी प्रतिवेदनको अनुसन्धान गर्नेलगायतका काम भइरहेका छन्,’ उनले भने।
उनले निकट भविष्यमा सीमा सम्बन्धी विषय हेर्ने विद्यमान संयन्त्रको बैठक बस्ने अपेक्षा पनि व्यक्त गरे। संयुक्त दृष्टिकोणपत्रको भावनाअनुसार दुवै देश भविष्यकेन्द्रित भएर अघि बढ्ने उनको भनाइ थियो।
तर, सीमा व्यवस्थापनका प्राविधिक काम र दुई देशबीचको वास्तविक भूभागसम्बन्धी विवाद फरक विषय हुन्। सीमा स्तम्भ मर्मत, नक्सांकन र अतिक्रमणका उजुरीमाथि प्राविधिक अध्ययन हुनु एउटा प्रक्रिया हो भने कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता विवादित भूभागको स्वामित्वसम्बन्धी प्रश्न राजनीतिक तथा कूटनीतिक तहमा समाधान हुनुपर्ने विषय हो।
नेपालले यी भूभाग आफ्नो नक्सामा समेट्दै आएको छ भने भारतले ती क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। त्यसैले सीमा व्यवस्थापनका प्राविधिक काममा प्रगति भएको भारतीय दाबीले भूभागसम्बन्धी मूल विवाद समाधान भएको अर्थ दिँदैन।
नेपालको पुरानो अडान र वर्तमान सरकारको जवाफ
ईपीजी प्रतिवेदन ग्रहण गर्नुपर्ने विषयमा नेपालले विगतमा पटक–पटक आफ्नो धारणा सार्वजनिक गरेको थियो। सन् २०२० मे ९ मा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरकारले प्रतिवेदन ग्रहण गर्न तयार रहेको र त्यसका सुझाव कार्यान्वयन गर्नु दुवै देशको हितमा हुने विश्वास व्यक्त गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्मा ईपीजी प्रतिवेदनको विषय उठ्दा नेपाल प्रतिवेदन ग्रहण गर्न तयार रहेको बताएका थिए। तर, ईपीजी गठन हुँदाको सहमतिअनुसार पहिले भारतीय प्रधानमन्त्रीलाई बुझाउनुपर्ने भएकाले नेपालले एकतर्फी रूपमा प्रक्रिया अघि बढाउन नसक्ने उनको भनाइ थियो।
नेपालका लागि प्रतिवेदन केवल विज्ञहरूको अध्ययन दस्तावेज मात्र थिएन। दुई देशबीच लामो समयदेखि उठ्दै आएका असमानता र असमझदारीलाई साझा रूपमा समीक्षा गर्ने राजनीतिक सहमतिको परिणाम पनि थियो। त्यसैले भारतले प्रतिवेदन ग्रहण नगर्नु र अहिले त्यसलाई असान्दर्भिक भन्नुले नेपालको पुरानो कूटनीतिक प्रयासलाई कमजोर बनाएको छ।
वर्तमान परराष्ट्रमन्त्री शिशिर खनालले भने ईपीजीमा उठाइएका विषय संयुक्त दृष्टिकोणपत्रमा समेटिएको बताएका छन्। भारत भ्रमणबाट फर्किएपछि उनले १९५० को सन्धिलगायत विभिन्न सन्धि–सम्झौता पुनरावलोकन गर्न दुवै पक्ष तयार रहेको विषय संयुक्त दस्तावेजमा स्पष्ट रूपमा आएको बताएका थिए।
उनको भनाइ थियो, ‘नेपाल–भारतबीच भएका १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि–सम्झौताहरूलाई पुनरावलोकन गर्न तयार छ भनेर स्पष्टसँगले बोलिसकेपछि ईपीजीभित्र भएका कन्टेन्टहरूलाई पनि सम्बोधन गर्ने गरेर अहिलेको भिजन डकुमेन्ट आएको छ।’
सरकारको यो भनाइले ईपीजी प्रतिवेदनलाई जस्ताको तस्तै अघि बढाउनेभन्दा त्यसमा उठाइएका विषयलाई नयाँ द्विपक्षीय प्रक्रियामार्फत सम्बोधन गर्न सकिने धारणा देखाउँछ। तर, भारतले प्रतिवेदनलाई असान्दर्भिक भनेको अवस्थामा नेपालले त्यसको विकल्पमा कुन विषयलाई कसरी र कहिले उठाउँछ भन्ने स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन।
नेपालका लागि अबको कूटनीतिक चुनौती
भारतले ईपीजी प्रतिवेदनलाई औपचारिक रूपमा खारेज गरेको छैन। तर, त्यसलाई भविष्यको सम्बन्धको आधार नमान्ने संकेत दिएको छ। प्रतिवेदनका सुझाव स्वीकार नगरे पनि १९५० को सन्धि पुनरावलोकन र सीमा व्यवस्थापनका विषयमा नयाँ संयन्त्रबाट छलफल गर्न सकिने भारतको धारणा देखिन्छ।
मिस्रीले यसका लागि विद्यमान संयन्त्र प्रयोग गर्न सकिने बताएका छन्। परराष्ट्र सचिवस्तरीय विदेश कार्यालय परामर्श र दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा रहने संयुक्त आयोगमार्फत छलफल अघि बढाउन सकिने उनको भनाइ छ। तर, कुन विषयलाई प्राथमिकता दिने र पुनरावलोकनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा दुवै पक्षले गृहकार्य गर्न बाँकी रहेको उनले स्पष्ट पारेका छन्।
नेपालका लागि अबको चुनौती यही हो—ईपीजी प्रतिवेदनलाई भारतले असान्दर्भिक भनेपछि त्यसमा समेटिएका विषय पनि ओझेलमा पर्न नदिनु। प्रतिवेदन ग्रहण गर्ने पुरानो मागलाई निरन्तरता दिने कि त्यसमा उठाइएका विषयलाई छुट्टाछुट्टै द्विपक्षीय वार्ताको एजेन्डा बनाएर अघि बढ्ने भन्ने निर्णय नेपालले गर्नुपर्नेछ।
नेपालले १९५० को सन्धि पुनरावलोकन, सीमा विवाद, व्यापार तथा पारवहन, सुरक्षा र अन्य द्विपक्षीय असमझदारीलाई स्पष्ट प्राथमिकताका साथ वार्तामा लैजान सक्छ। भारतले ईपीजी प्रतिवेदन स्वीकार नगरे पनि त्यसमा समेटिएका विषयमा छलफल गर्न अस्वीकार गरेको छैन। तर, छलफलको नाममा पुराना मुद्दा अनिश्चितकालसम्म थन्किने अवस्था आउन नदिन नेपालले समयसीमा र कार्ययोजनासहितको अडान राख्नुपर्ने देखिन्छ।
त्यस्तै, सीमा व्यवस्थापनका प्राविधिक कामलाई कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्वसम्बन्धी मूल विवादको विकल्पका रूपमा प्रस्तुत गर्न दिनु हुँदैन। प्राविधिक संयन्त्रले गर्न सक्ने काम र उच्च राजनीतिक तहमा समाधान गर्नुपर्ने विषय छुट्याएर नेपालले आफ्नो राष्ट्रिय हित स्पष्ट पार्नुपर्नेछ।
प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोणपत्रले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अघि बढाउने मार्गचित्र प्रस्तुत गरेको छ। तर, नयाँ मार्गचित्र सार्वजनिक हुँदैमा पुराना विवाद स्वतः समाधान हुँदैनन्। त्यसका लागि दुवै देशको राजनीतिक इच्छाशक्ति, स्पष्ट वार्ताको एजेन्डा र कार्यान्वयनयोग्य सहमति आवश्यक हुन्छ।
आठ वर्षअघि दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको संयन्त्रले तयार पारेको प्रतिवेदन भारतले अहिले ‘विगतको विषय’ भनेको छ। तर, प्रतिवेदन तयार पार्नुपर्ने अवस्था सिर्जना गर्ने असमानता, असमझदारी र विवाद अझै बाँकी छन्।
भारतले प्रतिवेदनलाई पुरानो भन्यो, तर त्यसले उठाएका प्रश्न पुराना भएका छैनन्। अब नेपालले ईपीजी प्रतिवेदनको नाममा मात्र अडिने कि त्यसमा समेटिएका राष्ट्रिय हितका मुद्दा नयाँ वार्तामा उठाएर परिणाम खोज्ने—यसको जवाफ सरकारले दिनुपर्नेछ।
लोकप्रिय
लिपुलेकबारे मोदीसँग बालेनले कुरा नै उठाएनन्ः भारतीय विदेश सचिवको खुलासापछि दिल्ली भ्रमणमाथि प्रश्न !

