जेनजी आन्दोलनको सुरक्षा चुकपछि प्रहरीमा ठूलो फेरबदल, भिड नियन्त्रण गर्न एक हजारको ‘छुट्टै फौज’ बनाइँदै!

काठमाडौँ– ०८२ भदौ २३ र २४मा भएको जेनजी आन्दोलनका क्रममा भिड नियन्त्रण, सुरक्षा परिचालन र सुरक्षा निकायबीचको समन्वयमा देखिएको कमजोरीपछि सरकारले नेपाल प्रहरीभित्रै एक हजार जनशक्ति रहने छुट्टै ‘द्रुत कारबाही गण’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा रहने यो गणलाई विशेष तालिम दिएर भिड नियन्त्रणमा मात्रै परिचालन गर्ने योजना बनाइएको छ।

नयाँ गण प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहत रहनेछ। स्थानीय प्रहरीलाई भिड नियन्त्रणका लागि थप जनशक्ति आवश्यक परेको अवस्थामा केन्द्रीय रिजर्भ फोर्सका रूपमा यसलाई खटाउने अवधारणा अघि सारिएको हो। यसको दरबन्दी थपसम्बन्धी प्रस्ताव गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ।

प्रहरीभित्र नियमित शान्तिसुरक्षा र भिड नियन्त्रणको जिम्मेवारी एउटै जनशक्तिले सम्हाल्दा परिचालनमा समस्या देखिएको निष्कर्षपछि छुट्टै संरचना बनाउन लागिएको प्रहरी अधिकारीहरूको भनाइ छ। नयाँ गणमा भिड नियन्त्रणका लागि विशेष तालिम प्राप्त जनशक्ति राखिनेछ। त्यसका लागि आवश्यक उपकरण, तालिम र परिचालनसम्बन्धी व्यवस्था पनि तयार पारिनेछ।

प्रहरीमा समग्रमा एक हजार ६७८ दरबन्दी थप गर्ने प्रस्ताव अघि बढेको छ। यसअघि प्रहरी प्रधान कार्यालयले दुई हजार १९४ दरबन्दी थपको प्रस्ताव गरेको थियो। पछि संशोधन गरेर एक हजार ६७८ मा झारिएको हो। यसमध्ये एक हजार जनशक्ति नयाँ द्रुत कारबाही गणका लागि प्रस्ताव गरिएको छ।

बाँकी दरबन्दी भने प्रहरीका विभिन्न निकायमा थप गर्ने तयारी छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रहरी स्टाफ कलेज, साइबर ब्युरो र विधि विज्ञान प्रयोगशालालगायतका निकायमा जनशक्ति थप गर्न लागिएको उच्च प्रहरी अधिकारीले बताएका छन्।

दरबन्दी थपसँगै नयाँ गण स्थापना र सञ्चालनका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले अर्थ मन्त्रालयको सहमति महत्वपूर्ण हुनेछ। अर्थ मन्त्रालयसँग प्रारम्भिक छलफल गरेरै प्रस्ताव अघि बढाइएको स्रोतको भनाइ छ। तर अर्थ मन्त्रालयको अन्तिम सहमति र दरबन्दी स्वीकृति प्राप्त भइसकेको छैन। त्यसैले अहिले गण स्थापनाको प्रक्रिया प्रस्तावकै चरणमा छ।

जेनजी आन्दोलनपछि सुरक्षा संयन्त्र पुनरावलोकन
जेनजी आन्दोलनका क्रममा भिड नियन्त्रण र सुरक्षा परिचालनमा देखिएका कमजोरीले प्रहरीको विद्यमान संरचनामाथि प्रश्न उठाएको थियो। पहिलो दिन प्रदर्शन नियन्त्रणका क्रममा बल प्रयोगको विषय विवादमा आयो भने दोस्रो दिन आन्दोलन थप हिंसात्मक बन्दा प्रहरीका सुरक्षाकर्मी र संरचनाले ठूलो मानवीय तथा भौतिक क्षति ब्यहोर्नुपरेको थियो।

विशेषगरी सुरक्षा निकायबीचको समन्वय, कमान्ड प्रणाली र आवश्यक पर्दा उपलब्ध हुनुपर्ने ब्याकअप फोर्सको परिचालन प्रभावकारी हुन नसकेको विषय उठेको थियो। २४ भदौमा प्रदर्शन चर्किएपछि प्रहरीलाई पर्याप्त सहयोग र सुरक्षा बलको व्यवस्थापन हुन नसकेको भन्दै सुरक्षा संयन्त्रको तयारीमाथि प्रश्न उठेको थियो।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पनि भिड नियन्त्रणसम्बन्धी संरचनामा सुधार गर्नुपर्ने सुझाव दिएको बताइएको छ। आयोगले भिड नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउन र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई सुरुदेखि नै एकैसाथ परिचालन गर्ने अभ्यासमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ।

गृह मन्त्रालयले अघि बढाएको नयाँ संरचनाको अवधारणा पनि यही पृष्ठभूमिसँग जोडिएको छ। नेपाल प्रहरीभित्रै विशेष तालिम प्राप्त जनशक्तिको छुट्टै गण बनाएर भिड नियन्त्रणको प्रारम्भिक जिम्मेवारी त्यसलाई दिने र अवस्था नियन्त्रणबाहिर गएमा मात्रै सशस्त्र प्रहरी बल परिचालन गर्ने रणनीतिबारे गृहकार्य भइरहेको छ।

पुरानो दंगा नियन्त्रण संरचना छिन्नभिन्न
नेपाल प्रहरीमा यसअघि पनि भिड नियन्त्रणका लागि छुट्टै दंगा नियन्त्रण गणको व्यवस्था थियो। तर समयक्रममा उक्त संरचना छिन्नभिन्न भएपछि भिड नियन्त्रणको जिम्मेवारी विभिन्न प्रहरी गण र नियमित जनशक्तिबीच बाँडिएको छ।

अहिले सामान्य जुलुस, धर्ना र प्रदर्शनमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय, प्रहरी वृत्त तथा प्रभागमा कार्यरत नियमित प्रहरी नै अग्रपंक्तिमा परिचालित हुन्छन्। उपत्यकाभित्र हुने ठूला प्रदर्शन, आपत्कालीन अवस्था र हुलदंगा नियन्त्रणका लागि विशेष सुरक्षा प्रहरी गणका जनशक्ति रिजर्भ फोर्सका रूपमा खटिने गरेका छन्।

त्यस्तै, सातै प्रदेशमा रहेका प्रदेश प्रहरी गणका जनशक्ति पनि आवश्यकताअनुसार परिचालित हुन्छन्। अवस्था जटिल बनेमा प्रहरी प्रधान कार्यालयअन्तर्गतको सुरक्षा सेवा व्यवस्थापन महाशाखा, पहरा गण तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका जनशक्तिलाई समेत रिजर्भ फोर्सका रूपमा प्रयोग गर्ने गरिएको छ।

तर एउटै जनशक्तिले नियमित शान्तिसुरक्षा र भिड नियन्त्रणको जिम्मेवारी सम्हाल्दा विशेष तालिम, तयारी र परिचालनमा समस्या आउने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ। नयाँ गण बनाएर यस्तो जिम्मेवारी छुट्याउने सरकारको तयारी छ।

सशस्त्र प्रहरी परिचालनको अभ्यास पनि बदल्ने तयारी
हाल सार्वजनिक प्रदर्शन र हुलदंगा नियन्त्रणमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल पनि परिचालित हुँदै आएको छ। सशस्त्र प्रहरी अर्धसैनिक संरचनाको सुरक्षा निकाय हो। कानुनी व्यवस्थाअनुसार नेपाल प्रहरीको जनशक्ति र उपकरणबाट मात्रै अवस्था नियन्त्रण गर्न नसकिने अवस्थामा प्रमुख जिल्ला अधिकारीको आदेशमा सशस्त्र प्रहरी परिचालन हुने व्यवस्था छ।

तर व्यवहारमा कतिपय प्रदर्शनको सुरुवातदेखि नै दुवै सुरक्षा निकाय खटिने गरेका छन्। गृह मन्त्रालयले अब प्रहरीको नयाँ द्रुत कारबाही गणलाई भिड नियन्त्रणमा प्राथमिक जिम्मेवारी दिने र त्यसले मात्रै अवस्था सम्हाल्न नसकेको अवस्थामा सशस्त्र प्रहरी परिचालन गर्ने रणनीति बनाइरहेको स्रोतको भनाइ छ।

यसका लागि भिड नियन्त्रणसँग सम्बन्धित उपकरण खरिद गर्ने विषयमा पनि गृह मन्त्रालय र प्रहरीबीच छलफल भइरहेको छ। विशेष तालिम प्राप्त जनशक्ति र आवश्यक सामग्रीसहितको गण निर्माण गरेर प्रहरीको परिचालन क्षमता बढाउने सरकारको योजना छ।

नयाँ संरचना बनेपछि भिड नियन्त्रणको जिम्मेवारी कसले लिने, कुन अवस्थामा थप सुरक्षा बल परिचालन गर्ने र बल प्रयोगको सीमा के हुने भन्ने विषय स्पष्ट पार्नुपर्नेछ। विशेषगरी प्रदर्शनकारीसँग संवाद, मानवअधिकारको संरक्षण, कमान्डको जवाफदेहिता र बल प्रयोगसम्बन्धी मापदण्ड कार्यान्वयनमा नआए नयाँ गण गठनले मात्रै पुराना कमजोरी समाधान गर्ने छैन।

सरकारले एक हजार जनशक्तिको छुट्टै गण बनाउने प्रक्रिया अघि बढाए पनि यसको कार्यान्वयन अर्थ मन्त्रालयको सहमति, दरबन्दी स्वीकृति र आवश्यक बजेटमा निर्भर हुनेछ। जेनजी आन्दोलनपछि प्रहरीको भिड नियन्त्रण प्रणालीमा संरचनागत परिवर्तन गर्ने तयारी सुरु भएको छ। अब यसको प्रभावकारिता नयाँ फौजको संख्या र शक्तिभन्दा पनि तालिम, परिचालनको स्पष्ट नियम र जवाफदेहितामा निर्भर रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट