भागेर विवाह गरेकी छोरी खोज्न राजमार्गमा चक्काजाम, दुहबीमा आफन्तको प्रदर्शन
इटहरी– विवाह गरेर गएकी छोरी एक महिनासम्म सम्पर्कमा नआएपछि खोजी गरिदिन माग गर्दै सुनसरीको दुहबी नगरपालिका–३ को एउटा परिवार र आफन्त सडकमा उत्रिएका छन्। छोरी बेपत्ता भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिँदासमेत खोजीमा प्रगति नभएको आरोप लगाउँदै उनीहरूले बुधबार दुहबीमा टायर बालेर प्रदर्शनसहित चक्काजाम गरे।
दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरी चम्पाकुमामारी (परिवर्तित नाम) दुहबी नगरपालिका–९ का २० वर्षीय फयाज हुसेनसँग कात्तिक ७ गते घरबाट गएको परिवारको भनाइ छ। उनीहरू विवाह गरेर गएको भनिए पनि त्यसपछि युवती परिवारको सम्पर्कमा नआएको भन्दै आफन्तले खोजीका लागि प्रहरी गुहारेका थिए।
परिवारले कात्तिक ८ गते युवतीको हुलियासहित फयाज हुसेनको नाम उल्लेख गरेर इलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिएको थियो। तर, जाहेरी दिएको एक महिना पुग्न लाग्दासमेत छोरीको अवस्था सार्वजनिक नभएको र खोजी प्रभावकारी नभएको भन्दै परिवार असन्तुष्ट बनेको हो।
यही विषयलाई लिएर मङ्सिर ९ गते बिहान करिब १०ः५५ बजे ३५ देखि ४० जनाको समूह इलाका प्रहरी कार्यालय दुहबी पुगेको थियो। उनीहरूले बेपत्ता युवतीको तत्काल खोजी गर्न माग गर्दै प्रहरी कार्यालयअगाडि प्रदर्शन गरे। त्यसक्रममा सडकमा टायर बालेर चक्काजामसमेत गरिएको थियो।
परिवारको मुख्य माग युवतीको अवस्था पत्ता लगाउनु र उनी सुरक्षित छन् कि छैनन् भन्ने यकिन गर्नु हो। विवाह गरेर गएको भनिए पनि युवती लामो समयसम्म परिवारको सम्पर्कबाहिर रहनु र उनको अवस्थाबारे जानकारी नहुनुले आफन्तमा चिन्ता बढाएको छ।
घटनामा युवती स्वेच्छाले गएको हो वा उनीमाथि कुनै दबाब परेको छ भन्ने विषय प्रहरी अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ। परिवारले दिएको निवेदन र युवतीको हुलियाका आधारमा खोजी प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ।
युवतीको अवस्था, प्रहरीको खोजीको प्रगति र घटनाको वास्तविकता हालसम्म स्पष्ट भएको छैन।

