चिन्ताले थिचिएको मनमा शान्तिको खोजी, फत्तेपुरमा राजयोगको सन्देशः सकारात्मक सोचबाट बदलिँदो जीवनशैली (फोटो फिचर)
फत्तेपुर (सप्तरी)– बिहान उठेदेखि राति नसुतेसम्म मानिसको मन अनेक चिन्ताले घेरिएको हुन्छ। कसैलाई परिवारको खर्च धान्ने चिन्ता छ, कसैलाई छोराछोरीको भविष्यको। कोही रोजगारी नपाएको पीडामा छन् त कोही वैदेशिक रोजगारीले परिवारबाट टाढिनुपर्दाको एक्लोपनमा। सामाजिक प्रतिस्पर्धा, पारिवारिक अपेक्षा र असुरक्षित भविष्यले मानिसको मन अशान्त बनाइरहेको छ।
बाहिरबाट सामान्य देखिने धेरै मानिस भित्र यस्तै अनेक तनाव लुकाएर बाँचिरहेका छन्। जीवनलाई सहज बनाउन भौतिक सुविधा र आर्थिक सम्पन्नता मात्रै पर्याप्त हुँदैन, मनलाई शान्त राख्ने कला पनि उत्तिकै आवश्यक हुन्छ। यही सन्देश लिएर सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा तीन दिनसम्म सकारात्मक सोच र रचनात्मक जीवनशैलीबारे विशेष प्रशिक्षण सञ्चालन गरिएको छ।
ब्रह्माकुमारी राजयोग सेवा उप केन्द्र फत्तेपुरले आफ्नो स्थापनाको रजत जयन्ती तथा नवनिर्मित शिवदर्शन भवन (ओम शान्ति भवन)को उदघाटन समारोहको अवसर पारेर ‘सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली’ विषयक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागीलाई सकारात्मक चिन्तन, आत्मिक शक्ति, जीवन व्यवस्थापन र राजयोग अभ्यासका माध्यमबाट जीवनलाई सहज, शान्त र रचनात्मक बनाउन प्रेरित गरिएको थियो।
अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत राजयोग प्रशिक्षक राजु घलेको प्रशिक्षणमा सञ्चालित कार्यक्रममा स्थानीय नागरिकदेखि विद्यार्थी र ज्येष्ठ नागरिकसम्मको सहभागिता रह्यो। आयोजकका अनुसार प्रशिक्षणमा करिब चार सय सर्वसाधारण सहभागी भएका थिए। यसबाहेक सप्तकोशी नगरपालिका–१ स्थित मदर मेमोरियल हायर सेकेन्डरी स्कुल, त्रियुगा सेकेन्डरी बोर्डिङ स्कुल तथा उदयपुरको बेलका नगरपालिका–आम्बासीस्थित नारायणदेव चौधरी माध्यमिक विद्यालयका करिब चार सय विद्यार्थीले पनि छुट्टै समयमा प्रशिक्षण लिएका थिए।
कार्यक्रम दैनिक चार घण्टा सञ्चालन गरिएको थियो। सर्वसाधारणका लागि बिहान साढे ६ देखि साढे ८ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म प्रशिक्षण दिइएको थियो। विद्यार्थीका लागि भने विद्यालयको समय र सहजतालाई ध्यानमा राखेर फरक समय निर्धारण गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य मानिसलाई तनावमुक्त जीवनको महत्व बुझाउनु र परिस्थितिलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु थियो। जीवनमा समस्या आउनु स्वाभाविक भए पनि त्यसलाई कसरी बुझ्ने, त्यसको सामना कसरी गर्ने र मनलाई कसरी स्थिर राख्ने भन्ने विषयमा प्रशिक्षण केन्द्रित थियो।
आर्थिक अभाव, पारिवारिक जिम्मेवारी, सामाजिक प्रतिस्पर्धा र भविष्यको चिन्ताले मानिसलाई मानसिक रूपमा थकित बनाइरहेको वर्तमान परिवेशमा यस्ता कार्यक्रमको सान्दर्भिकता बढेको आयोजकको विश्वास छ। मानिसले बाहिरी संसार बदल्न खोजिरहँदा आफ्नै सोच र व्यवहारलाई व्यवस्थित गर्न पनि उत्तिकै ध्यान दिनुपर्ने सन्देश प्रशिक्षणमार्फत दिइएको थियो।
राजयोगलाई आत्मचिन्तन, मनको एकाग्रता र सकारात्मक संकल्पसँग जोडेर अभ्यास गराइएको थियो। आफूभित्रको नकारात्मक सोच, अनावश्यक चिन्ता र आवेगलाई पहिचान गर्दै विचार तथा व्यवहारमा सन्तुलन कायम गर्न सहभागीलाई प्रेरित गरिएको आयोजकले जनाएको छ।
विद्यार्थीलाई पनि सकारात्मक सोचको पाठ
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष विद्यार्थीको सहभागिता रह्यो। विद्यालय तहका बालबालिका र किशोरकिशोरी पनि पढाइको प्रतिस्पर्धा, परीक्षाको दबाब, पारिवारिक अपेक्षा र सामाजिक सञ्जालको प्रभावबाट अछुतो छैनन्। उनीहरूको मानसिक तथा भावनात्मक विकासलाई ध्यानमा राख्दै तीन विद्यालयका करिब चार सय विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराइएको थियो।
विद्यार्थी जीवनमा प्राप्त हुने अंक र शैक्षिक उपलब्धि मात्रै सफलताको आधार होइनन, सकारात्मक सोच, अनुशासन, आत्मविश्वास र व्यवहार पनि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश प्रशिक्षणले दिएको थियो।
सानै उमेरदेखि मनलाई स्थिर राख्ने, असफलताबाट निराश नहुने, अरूसँग अनावश्यक तुलना नगर्ने र आफ्ना क्षमतामाथि विश्वास गर्ने बानी विकास गर्न सके भविष्यको जीवन सहज बनाउन मद्दत पुग्ने आयोजकको धारणा छ।
जीवनको उत्तरार्धमा पुगेका ६० ज्येष्ठ नागरिक सम्मानित
प्रशिक्षण कार्यक्रम सकिएको भोलिपल्ट सप्तकोशी नगरपालिकाभित्रका ८० वर्ष उमेर पार गरेका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। जीवनका अनेक उतारचढाव पार गर्दै परिवार र समाज निर्माणमा योगदान दिएका अग्रजलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेर सम्मान गरिएको हो।
ज्येष्ठ नागरिकहरू केवल उमेरले पाका व्यक्ति होइनन्, उनीहरू अनुभव, संघर्ष र इतिहासका जीवित स्रोत हुन्। उनीहरूको जीवनबाट नयाँ पुस्ताले धैर्य, त्याग, परिश्रम र सामाजिक जिम्मेवारी सिक्न सक्छ। तर बदलिँदो पारिवारिक संरचना र जीवनशैलीका कारण धेरै ज्येष्ठ नागरिक एक्लोपन र उपेक्षाको अनुभव गरिरहेका छन्।
यस्तो अवस्थामा उनीहरूलाई सम्मान गर्नु औपचारिक कार्यक्रम मात्र नभई परिवार र समाजले आफ्नो इतिहास तथा अग्रजप्रतिको जिम्मेवारी सम्झिने अवसर पनि हो।
२५ वर्षको यात्रा र नयाँ भवन
ब्रह्माकुमारी राजयोग सेवा उप केन्द्र फत्तेपुरले आफ्नो २५ वर्षे यात्रालाई रजत जयन्तीका रूपमा मनाएको हो। यही अवसरमा नवनिर्मित शिवदर्शन भवन (ओम शान्ति भवन)को समुदघाटन पनि गरिनेछ।
उपकेन्द्रकी सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी निरा दीदीका अनुसार रजत जयन्तीको औपचारिक कार्यक्रम तथा भवन उद्घाटन मंसिर १२ गते आयोजना गरिने छ। त्यसका लागि ब्रह्माकुमारीज नेपालकी निर्देशक डा. राज दादी माँ, सहनिर्देशक एवं सिमाञ्चल तथा जोगबनी सबजोन प्रभारी राजयोगिनी किरण दीदी, राजयोग प्रशिक्षक रामसिंह ऐर र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बानेश्वरकी सञ्चालिका दिपा दीदीलगायतलाई आमन्त्रण गरिएको छ।
उनीहरूको स्वागतका लागि मंसिर ११ गते सप्तकोशी नगरपालिकाको सीमा क्षेत्रबाट मोटरसाइकल र्यालीसहित फत्तेपुर बजार परिक्रमा गराउने कार्यक्रमसमेत तय गरिएको छ।
रजत जयन्ती, सकारात्मक जीवनशैलीसम्बन्धी प्रशिक्षण, विद्यार्थीको सहभागिता, ज्येष्ठ नागरिकको सम्मान र नयाँ भवन उदघाटनलाई एउटै उत्सवमा जोडेर उपकेन्द्रले आफ्नो सामाजिक तथा आध्यात्मिक गतिविधिलाई विस्तार गर्ने प्रयास गरेको छ।
मनको शान्ति पनि जीवनको आवश्यकता
मानिसको जीवनमा समस्या नआउने होइन। आर्थिक कठिनाइ, पारिवारिक जिम्मेवारी, असफलता र सामाजिक दबाबबाट पूर्ण रूपमा मुक्त जीवन सम्भव पनि छैन। तर समस्याबीच आफूलाई कसरी सम्हाल्ने, निराशालाई कसरी नियन्त्रण गर्ने र अरूसँगको सम्बन्धलाई कसरी सकारात्मक बनाउने भन्ने कुरा जीवनको महत्वपूर्ण सीप हो।
फत्तेपुरमा आयोजित कार्यक्रमले यही पक्षलाई प्राथमिकता दिएको छ। करिब आठ सय सर्वसाधारण र विद्यार्थीलाई समेटेको प्रशिक्षण तथा ६० ज्येष्ठ नागरिकको सम्मानले मानसिक शान्ति, सकारात्मक सोच र पुस्ताबीचको सम्मानलाई एउटै सामाजिक सन्देशमा जोडेको छ।
भौतिक विकाससँगै मानिसको सोच, व्यवहार र सम्बन्धमा पनि सकारात्मक परिवर्तन आवश्यक छ। घर, सडक र भवन निर्माणले समाजको बाहिरी स्वरूप बदल्न सक्छ, तर स्वस्थ र सद्भावपूर्ण समाज निर्माणका लागि मानिसको मनमा पनि शान्ति, सहिष्णुता र सम्मानको भावना विकास हुनुपर्छ।
रजत जयन्ती समारोहले यही सन्देश दिएको छ— जीवनलाई सुन्दर बनाउन परिस्थितिमात्र होइन, त्यसलाई हेर्ने सोच पनि सकारात्मक हुनुपर्छ। अनि समाजलाई सभ्य बनाउन नयाँ पुस्ताको भविष्यसँगै अग्रजको सम्मान गर्न पनि बिर्सनु हुँदैन।


