बंगलादेशी प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट, टेबल कुर्सी पनि बोकेर लगियो
काठमाण्डौं— प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर भागेपछि बंगलादेशको सरकारी निवासमा लुटपाट भएको छ। सरकार विरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट गरेका हुन।
प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको भीडीओ फुटेजहरु सार्वजनिक भएका छन्। राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ। केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ।
उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेका छन्। बंगलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुनः चर्किएको थियो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।
‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ।
यसैबीच सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन्। ढाका ट्रिब्युनका अनुसार उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका छन्।
ढाका विश्वविद्यालयको कानुन विभागका प्रोफेसर आसिफ नजरुललाई विज्ञप्ति जारी गरी विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न भनिएको छ।

