शेख हसिनाले देश छोडेपछि अल्पसंख्यक हिन्दुहरु निशानामा, भारत छिर्न खोजेका बंगलादेशी सीमामै रोकिए
काठमाण्डौं– बंगलादेशमा लगातारको आन्दोलन र हिंसात्मक झडपपछि प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छोडेपछि त्यहाँको अवस्था झन विग्रदै गएको छ। त्यहाँका अल्पसंख्यकमाथि निर्मम आक्रमण हुन थालेका समाचार बाहिरिएका छन्।
करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा ९१ प्रतिशत मुस्लिम धर्मावलम्बी छन्। हसिनाले बंगालदेश छाडेकै दिन २७ जिल्लामा हिन्दु धर्मावलम्बीका घर तथा व्यापारिकस्थलमा हमला तथा लुटपाट भएको थियो।
बंगलादेशमा अल्पसंख्यकका घर, धार्मिकस्थल र व्यापारिक स्थानमा भइरहेको लुटपाट, आक्रमण र तोडफोड भइरहेको कुरा भारतका विदेशमन्त्री एस जयशंकरले २२ साउनमा भारतका दुवै सदनलाई जानकारी गराएका थिए।
बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका मोहम्मद युनुसले पनि अल्पसंख्यकमाथिको आक्रमण रोक्न आग्रह गरेका छन्। खलिदा जिया नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तथा जियाका छोरा तारिख रेहमानले पनि सामाजिक सञ्जालमा अल्पसंख्यकमाथिको आक्रमण रोक्न अपिल गरेका छन्।
त्यसका बाबजुद हिन्दु धर्मावलम्बीका घर, मन्दिर र व्यावसायिक स्थानमा हमला रोकिएको छैन। आक्रमण, लुटपाट नरोकिएपछि बंगलादेशका सयौँ हिन्दुहरू भारत जानका लागि बंगलादेश भारत सीमा क्षेत्रमा जम्मा भएका छन्। भारतले सीमा क्षेत्रमा कडाइ गरेका कारण उनीहरु सीमामै रोकिएको ‘द डेली स्टार’ पत्रिकाले उल्लेख गरेको छ।
बंगलादेशमा अल्पसंख्यक र विशेष गरी हिन्दुहरूमाथि आक्रमण भइरहँदा नेपालमा पनि विभिन्न हिन्दु संघ संस्थाले विरोध जनाएका छन्। मधेसका जिल्लाहरूमा विभिन्न हिन्दु संघसंस्थाले विरोध -याली निकालेका छन्। वीरगञ्ज, जनकपुर लगायतका सहरमा विरोध -याली निकालिएको छ।
बंगलादेशमा चर्किएको साम्प्रदायिक विवादको तनाव नेपालमा देखिन सक्ने आशंकामा नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ।

