सप्तरीमा मदिरा तस्करद्वारा भन्सार कर्मचारी कुटिए, सरकारी गाडी तोडफोड
राजविराज– सप्तरीमा शनिबार मध्येराति मदिरा तस्करको समुहले भन्सार कर्मचारीमाथि आक्रमण गरेको छ। तस्करद्वारा कर्मचारीहरु कुटिएका छन् भने कार्यालयको बा२झ १३४३ नम्बरको गाडी सामान्य तोड भएको छ।
घट्ना सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका–२, बनैनिया टोलमा राति करिव १२ बजे भएको हो। मदिरा तस्करी नियन्त्रण गर्न खटिएको भन्सार टोलीमाथि तस्कर समूहले आक्रमण गरेको स्थानीय बताएका छन्।
तस्करहरुले वयल गाडी (गोरुगाडी) मा दिलबाले ब्रान्डको मदिरा लोड गरी भारततर्फ लाँदै गरेको सूचनापछि पुगेको भन्सार कर्मचारीको टोलीले नियन्त्रणको प्रयास गरेको थियो। त्यसै क्रममा एकाएक आक्रमण भएको जनाईएको छ।
आक्रमणमा कर्मचारीमाथि हातपात भएको र उनीहरुलाई सामान्य चोटपटक लागेको जनाईएको छ। कार्यालयले प्रयोग गर्ने साईरन जडित सरकारी गाडीमा ढुंगा प्रहार हुँदा अगाडिको सिसामा क्षती भएको छ।
घट्नाको जानकारी पाएपछि पुगेको झुट्की प्रहरी चौकीले घट्नास्थलबाट १ हजार ५ सय कार्टुन मदिरा जफत गरेको छ। प्रहरीका अनुसार मदिरा लिएर जानेहरुले उक्त मदिरा भारत तस्करी गर्न नभई गाउँमै खपतका लागि ल्याईएको बताएका छन्।
तर, भन्सार कार्यालयका कर्मचारीहरुसँग सम्पर्क हुन सकेको छैन। उनीहरुले फोन उठाएका छैनन। सप्तरी जिल्ला भारतसँगको खुला सीमा भएको जिल्ला हो। सीमा क्षेत्रमा मदिरा, खाद्यान्न, लत्ताकपडा तथा अन्य वस्तुको तस्करी पुरानो समस्या हो।


